Saturday, August 1, 2015

कस्तो लेखाइ राम्रो ?

–यमबहादुर दुरा

‘लेखन कठिन काम हो । पाठकको ध्यान खिच्ने गरी  लेख्नु र त्यसलाई पछिसम्म कायम राखिराख्नु गाह्रो काम हो ।’ सन् १९३४ मा जन्मिएका चर्चित अमेरिकी अभिनेता तथा निर्देशक डेभिड स्टाइर्जको यो भनाइले मसीजीवीहरूले भोगिरहेका जटिलतालाई धेरै हदसम्म उजागर गरेको छ । राम्रो लेख्ने काम साँच्चै असजिलो र चुनौतीपूर्ण छ । यो सबैले स्वीकारेको कुरा हो ।

राम्रो कसरी लेख्ने ? यो लेख्न चाहनेहरूका मनमा उब्जिरहने प्रश्न हो । यसको कुनै सहज उत्तर छैन । राम्रो कसरी लेख्ने भन्नेबारे धेरैले धेरैथरि राय–सुझाव दिन सक्छन् । यसबारे धेरै राम्रा र अनुभवी लेखकहरूले आफ्नै अनुभवहरू पोख्न सक्छन् ।

कसैले भन्लान्, ‘अध्ययनशील बन्नुपर्छ ।’ कसैको मत हुनसक्छ, ‘नियमित लेख्ने अभ्यास गर्नुपर्छ ।’ कसैले सुझाउलान्, ‘कहलिएका लेखकहरूका शैली अनुशरण गर्नुपर्छ ।’ कसैको राय हुनसक्छ, ‘लेखाइ सरल र बोधगम्य हुनुपर्छ ।’

कुरा सही हुँदाहुँदै पनि यी राय–सुझाव हरेक व्यक्तिका लागि अचुक अस्त्र बन्छ भनेर भन्न सकिँदैन । राम्रो लेख्ने त्यति सहज छैन । लेखनका धेरै आयाम र पाटा भएकाले तिनको विवेचना नगरी कसरी राम्रो लेख्ने भन्नेबारे गणितीय सूत्रजस्तो गरी सुझाउन कठिन छ ।

राम्रो लेखनबारे व्यक्त भएका राय–सुझावबारे एकपटक विचार–विमर्श गरौं ।

राम्रो लेखनका लागि अध्ययन आवश्यक छ । त्यसमा विवाद छैन । त्यसैले लेख्न चाहने व्यक्ति अध्ययनशील बन्न आवश्यक छ । तर हरेक अध्ययनशील व्यक्ति राम्रो लेखक बन्छ नै भन्न सकिन्न । अध्ययनशील व्यक्ति कुशल वक्ता वा व्याख्याता बन्न सक्ला । तर एउटा कुशल व्याख्याता कलमबाज बन्छ भनेर घोषणा गर्न सकिन्न । भाषणबाज् हुनु र कलमबाज हुनु एक अर्थमा फरक कुरा हुन् । न सबै भाषणबाज कलमबाज हुन सक्छन्, न त सबै कलमबाज भाषणबाज भएर निस्कन्छन् ।

लेखनलाई धारिलो बनाउन नियमित अभ्यास आवश्यक छ । तर पनि दिनहुँजसो लेख्ने हरेक व्यक्ति राम्रो लेखक बन्छ भनेर किटान गर्न सकिन्न । दिनहुँ लेख्ने व्यक्ति राम्रो टिपोटकर्ता वा अभिलेखकर्ता बन्नसक्ला । दुनियाँमा हरेक दिन केही केही  न लेख्ने व्यक्ति छन् । कतिले दिनहुँ कलात्मक किसिमले डायरी लेख्छन् । पत्रकारहरूले दिनहुँ समाचार लेख्छन् । तर पनि उनीहरू लेखक बनिहाल्छ भन्न गाह्रो छ । नियमित अभ्यासबाट कुनै व्यक्ति लेखाइको प्राविधक पक्षबारे जानकार हुनसक्छ तर यत्तिमै उसमा तिलस्मी लेखकीय गुणले बास गर्छ गरिहाल्छ भन्न सकिन्न । लेखन नितान्त प्राविधिक कुरा मात्र होइन, यो त लेख्ने व्यक्तिको शिल्प र शैलीबाट जन्मने करामत पनि हो ।

कहलिएका लेखकहरूका शैली अनुशरण गरेर त्यसलाई आफ्नो मौलिकताले सिंगार्नु नराम्रो होइन । भनाइ नै छ, ‘साहित्य नक्कलको पनि नक्कल हो’ । हाम्रो लेखाइ कुनै न कुनै रूपमा अरूबाट प्रभावित भएकै हुन्छ ।
यस प्रसंगमा समीक्षक हरि अधिकारी लेख्छन्, ‘...साहित्य र कलामा सर्वथा मौलिक भन्ने कुरा केही हुँदैन । कला र साहित्य लगातार दोहोरिइरहन्छ । तर, प्रतिभाशाली लेखक कलाकारहरूले आफ्ना कृतिलाई यस्तो ढङ्गमा चिरिच्याँट पारेर प्रस्तुत गरेका हुन्छन्, पारखी पाठकका मनमा  ती कृति, नूतन, नवीन, मौलिक अदभूत हुन् भन्ने भ्रम पर्छ । त्यस्ता छली जादुगरहरू ठूला कलाकार वा लेखक मानिन्छन्’ (अन्नपूर्ण पोष्ट, असोज १२, २०७०, पृ.६) ।

यसको अर्थ निर्लज्ज किसिमले अरूका कृतिको अन्तरवस्तुलाई आफ्नो बनाउने वा अरूको कृतिको शीर्षकलाई यताउति पारेर आफ्नो कृतिको शीर्षक बनाउने भन्नेचाहिँ कदापि होइन । ‘नक्कल गर्न पनि अक्कल चाहिन्छ’ भन्ने भनाइ यस मामलामा सतप्रतिशत लागू हुन्छ । अरूबाट प्रभावित हुँदै आफ्नो लेखाइमा मौलिकताको पाइन चढाउने काम सहज छैन ।

धेरैको सुझाव हुन्छ, ‘लेखाइ सरल र बोधगम्य हुनुपर्छ ।’ कुरा हो पनि । लेखाइ सरल र बोधगम्य भएमा पाठकले लेखकले भन्न खोजेका कुरा सहजै र छर्लङ्ग बुझ्न सक्छन् । यही भएर पत्रकारिताका विद्यार्थीहरूलाई सरल लेख्न सिकाइन्छ । तर सरल किसिमले लेख्नु नितान्त कठिन काम हो । अमेरिकी उपन्यासकार नथाइलन हथोन  (सन् १८०४–१८६४) ले भनेका छन्, ‘इजी रिडिङ एज ड्याम हार्ड राइटिङ’  (सजिलै पढ्न सकिने गरी लेख्नु नितान्त कठिन काम हो ) । अर्को कुरा, सरल लेखाइको आफ्नै ‘साइड इफेक्ट’ पनि छ । सरल लेखाइ बोधगम्य हुन्छ तर यसले पाठकलाई लालित्य र मादकता दिन्छ भन्न सकिन्न । लालित्य खोज्नेहरूले सरल लेखाइ मन नपराउन सक्छन् ।

माथि चर्चा गरिएका सबै गुणको गठजोड लेखकमा भरिएमा ऊ लेखक बन्नसक्छ । तर यति हुँदाहुँदै पनि ऊ राम्रो र लोकप्रिय लेखक बन्न सक्छ भनेर अझै पनि भन्न सकिन्न । त्यसमा पनि ऊ सर्वग्राह्य लेखक बन्छ भन्न त अझ कठिन हुन्छ ।

कसै कसैले आडम्बरपूर्ण शब्दको प्रयोग र शब्दचातुर्यलाई राम्रो लेखाइ ठान्छन् । यो पनि मसीजीवीमा रहेको एउटा ठूलो भ्रम हो । उसलाई लाग्ला, ‘मैले के के न लेखेँ ।’ तर त्यो लेखकभित्र चुलिएको आत्मारतिको पहाडभन्दा बढी केही होइन । यसबारे महाकवि लक्ष्मीप्रसाद देवकोटा (वि. सं.१९६६–२०१६) ले ‘लक्ष्मी निबन्धसंग्रह’ मार्फत् मुख खोलिसकेका छन् : ‘शब्दचातुर्य नै साहित्य हो भन्नेलाई म जवाफ दिन सक्तिनँ’ (पृ.४) । उनको आशय छ, आफूलाई ‘म पनि कम्तिको लेखक होइन’ भन्ने भावका साथ कृत्रिम प्रयासबाट चमत्कार निकाल्न खोज्दा सचेत प्रयास पग्लिएर जान्छ ।

लेखाइमा सहज भाव अभिव्यक्तिमाथि जोड दिँदै देवकोटा लेख्छन्, ‘राम्रो बनाउने सचेत भावले मनुष्यको कला बिग्रन्छ । म नै तीन मासाको छैन; तीन तोलाको अलङ्गकारले के भनूँ ! अलङ्गकार चन्द्रोदयका नियमानुसार कविता लेखी, सिंगारी–पटारी राम्रो बन्ने सचेत अनुकरणबाट सौन्दर्य निकाल्ने मेरो निमित्त रद्दी लेखनदास हुन् ।...मैले आफ्नो व्यक्तित्व प्रदर्शन गर्न खुर्सानीको माला लाउनु पर्दैन; प्राकृतिक भावले चले मेरो सच्चा रूप निक्लिहाल्छ ।...अप्राकृतिक भएर कुरा गर्नेभन्दा सोझो सफा दिल मजाको हो’ (पृ.४–५) । यहाँनेर पनि प्रश्न उठ्छ, के त्यसो भए लालित्य र अलङ्कार बिना नै साहित्य जम्छ त ?

कसैले ‘शैली’ लाई राम्रो लेखाइको कारक तत्व मानेका छन् । यो कुरा धेरै हदसम्म सही हो पनि । तर यसमा पनि महाकवि देवकोटा सहमत देखिन्नन् । उनले शैलीलाई भन्दा पनि लेखकीय स्वच्छन्दतालाई प्राथमिकता दिएका छन् । देवकोटा लेख्छन्, ‘शैलीमा विश्वास गर्नेसँग मेरो बिन्ती यत्ति कि म कुनै शैलीका निमित्त लेख्तिनँ, लेख्तछु त केवल लेख्नका निम्ति र विचार भावहरूलाई सकभर सच्चा प्रकाशन गर्नका निमित्त प्राकृतिक तबरले जस्तो विषयमा जसरी मन डुल्यो, जस्तो झल्काझल्की फेला पर्‍यो, उस्तै लेखिदिन्छु (पृ.४) ।

लेखाइमा प्रभाव पार्ने अर्को कुरा पनि छ । त्यो हो, समय । यसबारे त्यतिविधि चर्चा सुनिँदैन । तर पनि समयको उर्वरतामा पनि लेखाइ निर्भर रहन्छ । उर्वर समयमा लेखिएका कृति लेखक र पाठक दुवैलाई चित्तबुझ्दो हुन्छ भने रुखो समयमा लेखिएका कृति लेखक र पाठकका लागि मनमोहिनी नहुन सक्छ । रुखो समयमा लेखिएका कृतिमा लेखक स्वयंले चित्त नबुझाएर फोहोरको टोकरीमा फालिएका दृष्टान्त पनि छन् । राष्ट्रकवि माधव घिमिरे, लेखक नारायण ढकाललगायतका नाम चलेका साहित्यकारले आफ्ना केही कृतिहरू आफैंलाई चित्त नबुझेकाले च्यातेर फ्याँकेका प्रसंग पनि साहित्यिक यदाकदा वृत्तमा सुन्न पाइन्छ ।

लेखनको अर्को महत्वपूर्ण पाटो पाठक हो । सन्तान थरि थरिका भनेझैं पाठक थरि थरिका छन्, जुन स्वभाविक हो । एउटै शैलीको लेखाइ सबै पाठकका लागि उत्तिकै रुचिकर नहुन सक्छ । फरक फरक पाठकले फरक फरक उद्देश्य परिपूर्तिका पढ्छन् । कसैले जानकारी प्राप्तिका लागि पढ्छन् भने कसैले अलङकार र लालित्यको रसास्वादनका लागि पढ्छन् ।

जानकारीका लागि मात्र पढ्नेले अलङकार र लालित्य मन नपराउन सक्छन् भने अलङकार र लालित्यमा डुब्ने पाठकले जानकारीमूलक सरल लेखाइ मन नपराउन सक्छन् । तर सबै सरल लेखाइ रुचिकर हुन्न भन्न पनि सकिन्न । अमेरिकी लेखक तथा पत्रकार अर्निष्ट हेमिङवे (सन् १८९९–१९६१) को उपन्यास ‘द ओल्ड म्यान एण्ड द सी’ सरल भाषामा लेखिएको विश्वको उत्कृष्ट कृतिमध्ये एक मानिन्छ ।
अर्निष्ट हेमिङवे

 एक अर्थमा राम्रो लेखाइ असजिलो ओछ्यानजस्तै हो, जता कोल्टो फेरे पनि ज्यानले सुख नपाउने ।
के लेख्ने भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण हुन आउँछ । समाचार, लेख, कथा, कविता, उपन्यास, हाइकु, संस्मरण, गैरआख्यानमूलक पुस्तक, ‘रिसर्च आर्टिकल’ के लेख्ने ? यी विविध विषय र विधाले लेखाइको शैली र विधि निर्धारण गर्छन् । यी सबैमा एउटै व्यक्तिको पकड र दक्षता नहुन पनि सक्छ ।

माथि नै भनियो, राम्रो लेख्नका लागि कुनै गणितीय सूत्र  छैन । तर पनि अध्ययनशील हुनु, भाषामा राम्रो पकड राख्नु, आफूले लेख्न लागेको विषयमा गहिरो अनुशीलन गर्नु, नियमित लेख्ने अभ्यास गर्नु एवम् राम्रा लेखकको शैलीलाई रचनात्मक ढङ्गले अनुकरण गर्नु राम्रो लेख्नका लागि आवश्यक पक्षहरू हुन् । लेखकको नशामा दौडिरहेको जन्मजात लेखकीय गुण अर्को महत्वपूर्ण पक्ष हो, जुन सबैमा हँदैन । लेखाइलाई अझ जादुमय र सुस्वादु बनाउन अरू अलौकिक तागत पनि चाहिन्छ, जुन लेखकहरू निरन्तर खोजीमा छन् तर सजिलै भेटिरहेका छैनन् ।
टोनी मोरिसन

सन् १९३१ मा जन्मेकी अमेरिकी उपन्यासकार, सम्पादक तथा प्राध्यापक टोनी मोरिसनले भनेकी छिन्, ‘यदि तिमीलाई कुनै किताब पढ्न मन छ तर त्यस्तो किताब अहिलेसम्म लेखिएको छैन भन्ने लाग्छ भने लेख्न शुरु गर।’ उनको यो भनाइ राम्रो लेख्न चाहनेहरूका लागि प्रेरणास्रोत बन्नसक्छ । पहरा रसाएजस्तै गरी शिर्जनशीलता रसाएका लेखकहरूका लागि टोनी मोरिसनको भनाइले गुरुमन्त्रको काम गर्नसक्छ ।

[साभार : राजधानी (साउन १६, २०७२)। ग्राफिक्स : गुगल ।]

Saturday, July 18, 2015

त्यो साउने संक्रान्ति

–यमबहादुर दुरा

जिम्मेवारीको चाङ र शहरको कोलाहलबाट आफूलाई एकैछिन अलग राखेर अतीतलाई चियाउँदा आँखासामु कहिलेकाँही अतीतका दृश्य हाँजिर हुन आइपुग्छन् । जिन्दगीको आँखीझ्यालबाट अतीतलाई चियाउँदा आँखामा झलझली आउने अनेकौं दृश्यमध्ये एक हो, साउने संक्रान्ति ।

नेपाली समाजमा एउटा भनाइ प्रचलित छ, ‘माघे संक्रान्ति मनाइन्छ मरिन्छ कि भनेर, साउन संक्रान्ति मनाइन्छ बाँचियो भनेर ।’

साउने संक्रान्तिपछि समयले हिउँदे पय लिन थाल्छ । खेतमा रोपिएको धान विस्तारै सप्रिँदै जान्छ । खेतबारीमा बर्खे अन्नबाली लहलहलाउन थाल्छ । केही अपवादबाहेकका अवस्थामा खोलानाला विस्तारै सङ्लिँदै जान्छ । बर्खायाम र त्यसले निम्त्याउने त्रासपूर्ण वातावरण विस्तारै ओझेल पर्दै जान्छ । विस्तारै हिउँद -उन्मुख रुमानी पलहरू मौलाउँदै जान्छ ।
तस्बिर: गुगल

हामी सानो छँदा असारको बेफुर्सदिला पलहरूले साउने संक्रान्तिको महत्वलाई उँचो तुल्याउँथ्यो । असारको पहिलो सातादेखि नै हिलोमा पसिन्थ्यो । असार महिना हदैसम्मको व्यस्ततामा व्यतित हुन्थ्यो । महिनाजस्तो लामो दिन, क्षणभरमै तुरिने छोटो रात । थकित परेला नउघ्रिंदै पूर्वी क्षिजितमा घाम उदाउने तरखर भइसक्थ्यो । रातमा देखेको सपना पनि पूरा हुन नपाउँदै ओछ्यानबाट उठ्नुपर्‍थ्यो ।

ज्यानले नमान्दा नमान्दै पनि झिसमिसेमै आँखा मिच्दै उठ्नु, गाइवस्तुको धन्दा गर्नु, घाँस काट्नु र हल गोरु लिएर खेततिर जानु दिनचर्या हुन्थ्यो । रातको चार पहर मात्र ज्यानले विश्राम पाउँथ्यो । बाँकी समय कामै काम । काम धेरै, विश्राम कम । ज्यान हुनसम्म शिथिल हुन पुग्थ्यो । अत्यास लागेर आउँथ्यो ।

एक महिनासम्म पाखुरा बजाएपछि असारको मसान्ततिर धान रोप्ने काम सामान्यतया मैजारो हुन्थ्यो । साउने संक्रान्तिको आगमनले असारको व्यस्तता र हैरानीबाट मुक्ति दिन्थ्यो । एक अर्थमा साउने संक्रान्ति समयको एउटा मीठो बिसौनी थियो, जहाँ असारको थकाइ मेट्ने अवसर जुट्थ्यो । हिलोबाट छुटकारा मिल्दा ज्यान चङ्गा भएको अनुभूति हुन्थ्यो । हिलोले खाएका हातगोडाले विस्तारै जुनी फेर्दै जान्थे । सँगसँगै समयले नयाँ राग अलाप्थ्यो । झयाउँकिरीहरूले भाका फेर्थे ।

दिनभरिमा साउने संक्रान्ति पर्वको तयारी पूरा हुन्थ्यो । भन्सामा मीठो–मसिनो पाक्थ्यो । दिन ढलेपछि साँझमा सन्ध्या लुटपुटिन आउँदा–नआउँदै गाउँको वातावरणमा रौनक थपिन्थ्यो । दिदीबहिनीहरू तिउरीको जोहो गर्न थाल्थे । दिउँसो नै खोजेर तयार पारिएको कुकुर डाहिनु, कुरिलो, सिरु, पानीसरा, काँढे लहरा, सिउँडीजस्ता वनस्पतिहरूका मुठा दैलोनेर झुन्ड्याउने काम हुन्थ्यो । बर्खाले ओसिएको मादलमा खरी लाएर बेजोडसँग घन्किने अवस्थामा राखिन्थ्यो । यो काममा तन्नेरीहरू फुर्तीका व्यस्त हुन्थे ।

मुखियाको घरको बन्दुकमा बारुद भरेर तयारी अवस्थामा राखिन्थ्यो । अगुल्टो फाल्नका लागि भनेर हरेक घरको अगेनुमा बाक्लै मात्रामा दाउरा सल्काइन्थ्यो । साँझमा मुखियाको घरमा बन्दुक पड्किएपछि दक्षिणतिर अगुल्टो फालिन्थ्यो ।  त्यसलाई 'लुतो फाल्ने' भनिन्थ्यो । दक्षिणतिर रहेको गाउँको नाम लिएर अगुल्टो  फालिन्थ्यो ।

‘यो वर्षको लुतो-हैजा, सबै लैजा’ भन्दै नाभीदेखिकै  बल निकालेर अगुल्टो फालिन्थ्यो । अगुल्टो सकेसम्म पर फालेर बहादुरी देखाउने चेष्टा रहन्थ्यो । गाउँका हरेक घरधुरीले एकैचोटि अगुल्टो फाल्दा आकाशमा एकप्रकारको आतसबाजी नै हुन्थ्यो । ग्रामीणशैलीको आतसबाजी । बडो रमाइलो हुन्थ्यो ।

साउने संक्रान्तिको साँझमा रोदीघरमा मादल घन्कन्थ्यो । जेठको अन्तिम सातातिर घाँटुको ख्वाइ (भोज) समाप्त भएपछि असारको पूरै महिना मादल बजाउन अघोषित प्रतिबन्ध लाग्थ्यो । साउन लागेपछि मादल बजाउन अनुमति मिल्थ्यो । साउने संक्रान्तिको साँझमा रोदीघरमा मादल घन्कन थालेपछि ‘मादल फुक्थ्यो’ भनिन्थ्यो । यसले केही फुर्सदिला दिनहरू आगमनको संकेत गर्‍थ्यो । 

अगुल्टो फालेपछि साँझमा दिदीबहिनीसँग मिलेर तिउरी लाइन्थ्यो । सामन्तया छोरीचेलीले मात्र तिउरी चलन भए पनि हामी केटाहरूलाई कुनै थुनछेक थिएन । आँगनको छपनी ढुङ्गामा जाँतोको माने ढुङ्गाले मिहिन किसिमले पिसिन्थ्यो । त्यसमा मगरकाजी, भमटेको मुन्टो, कर्कलाकोे गुभो र परेवाको विष्टा मिसाएर पिसिन्थ्यो । यस्ता वस्तु मिसाउँदा तिउरी राम्रोसँग लाग्छ भन्ने अनुभवसिद्ध मान्यता छ ।

बूढापाकाले तिउरी लाउँदैनथे । तर साउने संक्रान्तिमा तिउरी छुनु राम्रो हुन्छ भन्ने मान्यता थियो । त्यस दिन बूढापाकाले पनि  तिउरी छुन्थे ।

तिउरी लाउने तरिका पनि गजबकै हुन्थ्यो । तिउरीको लेपलाई देब्रे हातको औंला र हत्केलामा राखेर मुठी बन्द गरिन्थ्यो । त्यसलाई पिँडालुको पातले छोपेर सुतिन्थ्यो । त्यसो गर्दा बक्सिङ खेल्दा पञ्जा लाएजस्तै देखिन्थ्यो, हात । चञ्चले केटाहरूका हातका औंलाले रात नछिप्पिँदै पिँडालुको पात छेँडेर आकाश ताकिसकेका हुन्थे । बेहोशी किसिमले सुत्दा हातमा तिउरी लाग्न पाउँदैनथ्यो ।

 बिहान उठ्दा हातमा तिउरीको रङ नलागेपछि मन खिन्न हुन्थ्यो । त्यसपछि रोइकराइ गर्न पनि पछि परिँदैनथ्यो । हत्केला जोगाएर सावधानीपूर्वक सुत्नेहरूको हातमात्र तिउरीको रङले शोभायमान हुन्थ्यो ।भोलिपल्ट पँधेरामा भेट हुँदा कुरा तिउरीकै विषयमा केन्द्रित हुन्थ्यो । कसको हातमा बढी तिउरी लाग्यो, कसको हातमा कम लाग्यो भनेर  साथीसंगीको हात पालैपालो हेरिन्थ्यो ।

साउने संक्रान्तिको भोलिपल्ट अगुल्टो बारिन्थ्यो । त्यस दिनमा हल चल्दैनथ्यो । खेतबारीमा खनजोत हुँदैनथ्यो ।  खनजोत नभएपछि त्यस दिन कामबाट छुटकारा मिल्थ्यो । व्यग्र प्रतीक्षापछि मिलेको फुर्सदको समय हाटबजार गएर सदुपयोग गरिन्थ्यो । दुराडाँडा क्षेत्रको चर्चित व्यापारिक केन्द्र च्यानपाटा बजार हाम्रा लागि एकमात्र बिदा मनाउने थलो थियो । च्यानपाटा बजारमा टहलिँदा महिना दिनको थकाइ कता भाग्थ्यो, कता ।

बाल्यकालको साउने संक्रान्ति धेरै अर्थपूर्ण हुन्थे । यसले खुसीयालीका क्षणहरूलाई एकपछि अर्को गरी निम्ता दिन्थ्यो । यसपछि चाडवाडहरूको क्रमिक आगमन शुरु हुन्थ्यो । एक अर्थमा साउने संक्रान्ति वर्षातपछि आउने चाडवाडहरूको प्रवेशद्वार नै थियो ।

यति हुँदाहुँदै पनि साउने संक्रान्तिको सांस्कृतिक अर्थ र सन्दर्भहरू हाम्रा लागि अपरिचिति थिए, न त यसबारेका प्राज्ञिक व्याख्या–विश्लेषणहरू नै हाम्रो बुझाइमा समेटिएका थिए । यसले ल्याउने खुसी र रुमानी पलहरूमात्र हाम्रो सरोकारका विषय थिए ।

‘काण्डरक’ राक्षसको पूजा गरी असारको हिलोमैलोबाट लाग्नसक्ने लुतोजस्ता छालाको रोग निवारण गर्ने चाड भनेर गरिएको वर्णन हाम्रो बुझाइभन्दा बाहिर थियो । विद्यालयका पुस्तकमा लेखिएका हुन्थे, ‘साउने संक्रान्तिपछि सूर्य दक्षिणायन हुने र यतिबेला सूर्य कर्कट राशिमा प्रवेश गर्ने भएकोले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ ।’

पुस्तकमा रहेका यस्ता पंक्ति हाम्रा लागि निख्लो ज्ञानमात्र थिए । संयोगवश, साउने संक्रान्ति सरकारी क्यालेण्डरमा आर्थिक वर्षको शुरुवात पनि हो । यसले पनि हाम्रो जीवनमा खासै अर्थ राख्दैनथ्यो । साउने संक्रान्तिले हाम्रो जीवनमा कोर्ने खुसीका धर्साहरूमात्र हाम्रा लागि अर्थपूर्ण हुन्थे ।

मेरो बुझाइमा साउने संक्रान्ति ‘बर्खाको मध्यान्तर’ थियो, जसले बर्खाका कष्टप्रद दिनहरूलाई निरन्तर पछि धकेल्थ्यो र हिउँदसँगको सुमधुर नातालाई निरन्तर गाढा बनाउँदै लान्थ्यो । यसले खुसीले भरिएका चाडवाडहरू आगमनको संकेत गर्‍थ्यो । साउने संक्रान्तिको तीन–चार महिनापछि आउने खुसीयालीपूर्ण चाड दशैं–तिहार मनको एउटा कुनमा बसिसकेको हुन्थ्यो । यसले मनको एउटा छेउमा पिल्पिलाएको आशा र खुसीको दियोलाई जगेर्ना गर्ने काम गर्‍थ्यो ।

आज शहरको आधुनिक जीवनशैलीको आँखीझ्यालबाट हिजोको कृषिप्रधान जीवनशैलीमा आधारित अतीतको साउने संक्रान्तिलाई सम्झँदा विगतका दृश्यहरू आँखासामु नाच्छन् । अनि थाहै नपाई मन समयको उल्टो यात्रामा निस्कन्छ । अतीतमोहको त्यो मोहपासमा परेर मनचरी पत्तै नपाई विगततिर वेग् हान्न पुग्छ ।


[साभार:   अन्नपूर्ण पोष्ट (साउन २, २०७२) । परिमार्जित संस्करण]

[अद्यावधिक : २०७२।०४।०६,२०७२।०४।०७, २०७२।०४।१४, २०७२।०६।२०, २०७७।०४।०१]

Saturday, July 4, 2015

सडक सभ्यता

–यमबहादुर दुरा

सडक निख्लो सडकमात्र नभएर जीवनशैली, संस्कृति र सभ्यतको परिचायक पनि हो । विश्वप्रख्यात रोम सभ्यताको वैभवमा त्यहाँका सडकले बान्की थपेको इतिहास छ । सफा र सुन्दर सडक तथा सभ्य नागरिक रोम सभ्यताको अभिन्न हिस्सा मानिन्थे । रोमको सभ्यता र सडक एक सिक्का दुई पाटाजस्तै थिए । भनाइ नै छ, ‘अल द रोड्स लिड टु रोम’ । यसले रोमको वैभव सबैको चिरपोषित अभिलाषा हो र मीठो गन्तव्य पनि हो भन्ने आभ्यान्तरिक भाव दिन्छ । यसबाट रोमको सभ्यता र साम्राज्य विस्तारमा सडकले अतुलनीय भूमिका खेलेको तथ्यसम्म पुग्न कठिन छैन ।

सडकले जीवनशैली, संस्कृति र सभ्यतालाई जोड्छ । त्यसमा पनि आधुनिक जीवनशैलीमा सडक ‘लाइफलाइन’ नै हो । सडक बिना आधुनिक जीवनशैलीको प्राणवायु सञ्चार हुन सक्दैन । सडकको प्रसंग नझिक्दा आधुनिक र प्रगतिमुखी समाजको अध्याय झनै अपूरो हुन्छ ।

त्यसो भए, एक्काइसौं शतव्दीको आभामा आलोकित र लोकतन्त्रको परिष्कृत मूल्य–मान्यताहरूबाट सिंगारिएका तपार्इँ-हाम्रो सडक सभ्यता कस्तो छ ? हामीले जीवनदायिनी सडक सभ्यताको इज्जत राख्न सकेका छौं कि छैनौं ? बदलामा सडक सभ्यताले हाम्रो इज्जत जोगाएको छ कि छैन ? हामीले सडकमा प्रदर्शन गर्ने व्यवहार कस्तो छ ? प्रत्येक सडक प्रयोगकर्ताले आफैंसँग सोध्नुपर्ने यी प्रश्नका उत्तरले हामीलाई निकै हदसम्म लज्जित तुल्याउने छ ।

देशको साक्षरता दर उत्साहजनक रूपमा दरमा बढेको छ । लोकतन्त्र, मानव अधिकार र नागरिक हकका विषयमा व्याख्यान दिने सचेत नागरिकको संख्या बढ्दो छ । तर पनि हाम्रो ‘सिभिक सेन्स’ को ग्राफ अपेक्षित रूपमा उकालो लागेको छैन । हामीले सडकमा देखाउने गैरजिम्मेवारपूर्ण व्यवहारले हाम्रो ‘सिभिक सेन्स’ कमजोर छ भन्ने तथ्य पुष्टि हुन्छ । हामीले सडकमा प्रदर्शन गर्ने व्यवहारले हाम्रो सोंचाइको स्तर र सभ्यताको स्तर पनि निर्धारण गर्छ ।

राजधानीको व्यस्त सडकको ‘जेब्रा क्रसिङ’ मा उभिएर बाटो पार क्रममा हुनुहुन्छ भने हाम्रो सडक सभ्यताको स्तरबारे क्षणभरमै भेउ पाउनुहुनेछ । ‘जेब्रा क्रसिङ’ पैदलयात्रुका लागि हो र सवारी चालकले ‘जेब्रा क्रसिङ’ रहेकालाई उच्च प्राथमिकता दिनुपर्छ भन्ने सामान्य नियम पनि पालना भएको पाइँदैन । उल्टै सवारी चालकले बाटो छोड्न चेतावनी दिँदै चर्को हर्न बजाएर ‘जेब्रा क्रसिङ’ मा उभिएकालाई त्रस्त पार्ने प्रवृत्ति चलनको रूप ग्रहण गरेको छ ।

सडकमा बेपर्वाहसँग थुक्ने; केराको बोक्रा, गाडीबाट चकलेट, बिस्कुट आदिको खोल निर्धक्कसँग सडकमा किसिमले फाल्ने; अकारण हर्न बजाउने; यातायातकर्मीबाट हुने अभद्र व्यवहार, ठाउँ–कुठाउँ ‘ओभरटेक’ गर्ने, सडक पेटीमै बिनाहिच्किचाहट मोटरबाइक कुदाउने, ‘लेन डिस्प्लिन’ मिच्ने, जथाभावी बाटो काट्नेजस्ता अशोभनीय व्यवहार आमप्रवृत्ति नै बनेको छ ।

सडकको दायाँवायाँ लगाइएका विरुवा शहरको शोभा हो । तिनलाई जोगाउनु हुर्काउनु सबैको जिम्मेवारी हो । विडम्बना नै भन्नुपर्छ, भर्खरै सारिएका विरुवाहरुलाई चिमोट्ने तथा हाँगा भाँच्ने काम हामीबाटै भइरहेका छन् । हामीले आफ्ना आनीबानी र आचार विचार सुधार्न नसक्दा आफैं देखेर लज्जित हुनुपर्ने अवस्था छ ।

यी कुकृत्यको साक्षी बन्नुपर्दा यस्तो लाग्छ – सडक मनमस्ती साँध्ने ठाउँ हो, जहाँ जे गरे पनि हुन्छ, जसो गरे पनि हुन्छ । मानौं, हाम्रो कुकृत्यको अगाडि लाचार बनेको थलो हो सडक, जहाँ हामीभित्र मौलाएको गैरजिम्मेवारीपनको कुरूप दृष्टान्त देख्न पाइन्छ ।

‘जेब्रा क्रसिङ’ पैदलयात्रुका लागि सुरक्षित क्षेत्र मानिन्छ । तर ‘जेब्रा क्रसिङ’ मै गाडीले  पैदलयात्रुलाई ठक्कर दिएको थुपैै्र दृष्टान्त छ । ट्राफिक नियम उल्लङ्घन गर्दा भोग्नुपर्ने परिणाम पनि कम भयावह छैन । विश्व स्वास्थ्य सङ्गठनले सन् २०११ मा सार्वजनिक गरेको प्रतिवेदनका अनुसार नेपालमा सडक दुर्घटनाबाट प्रतिवर्ष दुई हजारभन्दा बढी मानिसको मृत्यु हुन्छ, जुन कुल मृत्युको १ं.७० प्रतिशत हुन आउँछ । अर्को आँकडा अनुसार नेपालमा हुने कुल सवारी दुर्घटनामध्ये ५० प्रतिशत हिस्सा राजधानी शहर काठमाडौंले ओगट्छ ।

 विश्वमा सडक दुर्घटनाबाट हुने कुल मृत्युमध्ये ७० प्रतिशत हिस्सा विकासोन्मुख मुलुकहरूले ओगट्ने गरेको पाइएको छ । विश्व स्वास्थ्य सङ्गठनले सडक दुर्घटनालाई तीव्र गतिमा बढ्दै गएको महामारीको रूपमा चित्रण गरेको छ ।

सडक सुरक्षासम्बन्धी विश्व प्रतिवेदन ‘ग्लोबल स्ट्याटस रिपोर्ट अन रोड सेफ्टी २०१३’ का अनुसार नेपालमा सडक दुर्घटनाबाट प्रति एक लाखमा १६ जनाको मृत्यु हुन्छ । सोही प्रतिवेदनका अनुसार बेलायत, स्वडेनजस्ता विकसित मुलुकमा प्रति एक लाखमा तीन जनाभन्दा कमको मृत्यु हुन्छ । यस हिसाबले सडक दुर्घटनाबाट जनधनको उच्च क्षति हुने देशहरूको सूचीमा नेपाल पनि पर्छ  । मानिसलाई शारीरिक रूपमा अपाङ्ग बनाउने मूल स्रोतमध्ये सडक दुर्घटना अग्रपक्तिमा आउँछ ।

सडकमा हामीले प्रदर्शन गर्ने अधैर्य र गैरजिम्मेवार व्यवहारले मानवीय क्षति र सभ्यताको क्षयीकरण भइरहेका छन् । लोकतन्त्र बोली र भाषणमात्र होइन, त्यो भन्दा ठूलो त व्यवहार हो । देश सप्रिन नसकेकोमा गोष्ठी र अन्य जमघटमा भयानक गम्भीर चिन्ता व्यक्त गर्ने हामीले आफ्नै बानी–व्यहोरामा सामान्य भन्दा सामान्य सुधार गर्न नसक्दा हाम्रो बोली र व्यवहारमा फराकिलो अन्तर देखिएको छ ।

हामीले नागरिक अधिकारका कुरा धेरै गर्‍ यौँ। अधिकारका कुरा गर्दा धेरै कर्तव्य भुल्न थाल्यौँ । हामीले सडक सभ्यता जोगाउने हो भने प्रत्येक सडक प्रयोगकर्ताले आफ्नो कर्तव्यलाई बढी ध्यान दिनुपर्ने अवस्था आएको छ । सबैले सचेत मनले कर्तव्य पालना गर्ने हो भने कमजोर सडक सभ्यता छोटो समयमै हराभरा हुनसक्छ ।

सडकमा हुनेखानेदेखि हुँदाखानेसम्मका नागरिकका जीवनशैली र व्यवहार प्रतिविम्बित हुन्छ । सडक सभ्यताको प्रदर्शनी स्थल  हो । अझ भनौं, सडक सभ्यताको ‘सो केस’ हो । हामीले सडकमा कस्तो सभ्यता प्रदर्शन गरिरहेका छौंँ ? प्रश्नको उत्तर हामीभित्रै खोज्नुपर्ने हुन्छ ।

[साभार : नेपालपाटी (असार १९, २०७२) ]

[अद्यावधिक:  २०७२।०४।१४ ]
 

Saturday, June 27, 2015

सञ्चार सिद्धान्त जन्माउने त्यो घटना

–यमबहादुर दुरा


अमेरिका । सन् १९३८ अक्टोबर ३० तारिखको साँझ । ‘हलोविन’ पर्वको पूर्वसन्ध्या । अर्थात् अमेरिकीहरूले धुमधामसँग मनाउने 'हलोविन'पर्वको अघिल्लो साँझ । अमेरिकीहरू स्वाभाविक ‘फेस्टिभ मूड’ मा थिए । सबै कुरा ठीकठाक चलिरहेको थियो । यस्तैमा त्यही साँझे बजे अमेरिकी रेडियो नेटर्वकमा गजबको रेडियो नाटक प्रसारण भयो । नाटक साँझ ८ बजे कोलम्बियन ब्रोडकाष्टिङ सिस्टम (सीबीएस) बाट एक घण्टासम्म प्रसारण भएको थियो, जसको  शीर्षक थियो,  ‘द वार अफ द वर्ल्ड्स्’ ।


नाटकमा मंगल ग्रहका प्राणीहरू पृथ्वीमा आएर हमला गरेको प्रसंग थियो, त्यो पनि अमेरिकाको न्यू जर्सी राज्यको गोभर्स् मिल
भन्ने ठाउँमा ।  नाटक प्रख्यात लेखक एच जी वेल्स (सन् १८६६–१९४६) ले सन् १८९८ मा प्रकाशन गरेको विज्ञान उपन्यास ‘द वार अफ द वर्ल्ड्स्’ मा आधारित थियो । नाटकको प्रस्तुति संवाददाताले कुनै घटनाको प्रत्यक्ष वर्णन (प्रसारण) शैलीमा थियो ।

त्यस नाटकले अमेरिकी समाजमा नचिताएको परिणाम ल्यायो । नाटकको विषयवस्तु नितान्त काल्पनिक थियो । तर पनि बीचमा नाटक सुन्नेहरूले त्यसलाई भ्रमवश सत्य ठाने । उक्त नाटकको प्रसारण अमेरिकाभरमा १ करोड २० लाख मानिसले सुनेकोमा १० लाखले त्यसमा वर्णित घटनालाई सत्य ठानेको विश्वास गरिन्छ ।

अमेरिकी क्यालेन्डरमा ‘हलोविन’ एउटा भुत्याहा पर्व हो । अमेरिकीहरू ‘हलोविन’ पर्वको पूर्वसन्ध्यामा आफ्ना मृत पूर्खाहरू पृथ्वीमा झर्छन् भन्ने विश्वास गर्छन् । यसप्रकारको विश्वासले पनि उनीहरूलाई नाटकको प्रसंग सत्य हो भन्ने लाग्यो ।

नाटक सुनेर अमेरिकीहरू हुनसम्म आतङ्तिक बने । गृहिणीहरू चिच्याउँदै घरबाहिर निस्कन थाले । मानिसहरू घर छाडेर सुरक्षित स्थानमा निस्कन थाले । कतिपयले पृथ्वीमा आक्रमण गर्न आउने मंगलग्रहका प्राणीलाई हान्न भनेर बन्दुकमा गोली लोड गर्न थाले । कोलाहाल मच्चियो । शहरमा अचम्मसँग ट्राफिक जाम हुन थाल्यो ।

भोलिपल्ट अमेरिकी समाचारपत्रहरूमा अघिल्लो दिनको साँझको नाटकले पारेको भ्रम र त्यसबाट भएको भागदौडबारे भंगेरे अक्षरमा हेडलाइन छापिए । नाटक निर्माता तथा उत्पादकरूले अमेरिकी नागरिकमा पर्न भ्रमप्रति माफी माग्नुपर्‍यो । अमेरिकी प्रसारण इतिहासमा यो घटना ज्यादै कुख्यात मानिन्छ ।


त्यो घटनाको प्रभाव सञ्चारशास्त्रीहरूमा पनि नपर्ने कुरै थिएन । यही घटनाको आधारमा उनीहरूले सञ्चारसम्बन्धी नयाँ सिद्धान्त प्रतिपादन गरे । ‘द वार अफ द वल्र्डस्’ नाटकले स्रोतागणमा पारेको प्रत्यक्ष र सीधा असरका आधारमा उनीहरूले मिडियाको अडियन्समाथि सीधा, प्रत्यक्ष र शक्तिशाली असर रहन्छ भन्ने मान्यता अघि सारे ।

यो सिद्धान्त 'बुलेट थ्योरी', 'म्याजिक बुलेट थ्योरी', 'हाइपोडर्मिक निडल थ्योरी', 'प्यारासुट थ्योरी' आदि नामले चिनिन्छ । अमेरिकी समाजलाई आतङ्कित तुल्याउने त्यस घटनाले सञ्चारको एउटा नयाँ सिद्धान्तलाई जन्म थियो । यस सिद्धान्तले आमसञ्चार माध्यमबाट चाहेको सन्देश अडियन्स (स्रोता, दर्शक तथा पाठक) समक्ष अचुक रूपमा सम्प्रेषण गर्नसक्छ भन्ने मान्यता राख्छ । जस्तै : कुशल निसानाबाजले हानेको गोलीले ताकेकै ठाउँमा लागेझैं, सिरिञ्जमार्फत पठाइएको औषधि सीधै रक्तप्रवाहमा मिसाउन सकिएझैं, प्यारासुटबाट जम्प गर्दा अपेक्षित स्थानमा अवतरण गर्न सकिएझैं ।








त्यस सिद्धान्त प्रतिपादनको प्रतिपादनमा अरू घटनाक्रमहरूले पनि सहयोगी भूमिका खेलेको देखिन्छ । त्यतिबेला उकालो लाग्दै गरेको रेडियो र टेलिभिजनको लोकप्रियताको ग्राफ, जर्मनीमा हिटलरले सञ्चार माध्यममा कायम गरेको एकाधिकार (जुन 'गोयबल्स सिद्धान्त' नामबाट परिचित छ) , चलचित्रको चुलिँदो लोकप्रियता एवम् विज्ञापन र प्रोपगण्डा उद्योगले जनमनमा पारेको गहिरो प्रभावले त्यसमा योगदान दिएको देखिन्छ ।

आजभन्दा ७७ वर्षअघि भएको ‘द वार अफ द वर्ल्ड्स्’ नाटकको प्रसारणले निम्त्याएको आतङ्क र जन्माएको सञ्चार सिद्धान्त सञ्चार-अध्येताहरूबीच आज पनि उत्तिकै रोचक र प्रेरणादायी प्रसंग हुन पुगेको छ ।



[साभार : नेपालपाटी (असार १२, २०७२) । परिमार्जित संस्करण । इन्टरनेटमा उपलब्ध सामग्रीहरूमा आधारित । ग्राफिक्स : गुगल ।]

Tuesday, June 16, 2015

‘बार बारे तिल जोगिन्छ’

–यमबहादुर दुरा

मनसुन शुरु भइसकेको छ । समान्यतया, नेपालमा मनसुन जुनको दोस्रो सातादेखि शुरु भएर सेप्टेम्बरको तेस्रो सातासम्म कायम रहन्छ । लगभग चार महिनासम्म कायम मनसुनी वर्षाले नेपालमा हरेक वर्ष बाढीपहिरो निम्त्याउने गरेको दृष्टान्त छ । यसबाट जनधनको क्षति हुँदै आएको तथ्य पनि जगजाहेर नै छ । मनसुनको शुरुवाती दिनहरूमै पूर्वी नेपालको ताप्लेजुङमा बाढीपहिरोबाट जनधनको क्षति भइसकेको छ ।

यसपटकको मनसुन बाढीपहिरोको दृष्टिले विगतको तुलनामा अझ बढी जोखिमयुक्त हुनसक्ने अनुमान गरिएको छ । यसप्रकारको अनुमान विशेषज्ञले मात्र होइन, जनसाधारणले पनि गरिरहेका छन् ।

यसका पछाडि केही निश्चित कारण छन् । २०७२ साल वैशाख १२, १३ र २९ गते आएका भूकम्पबाट ठाउँ ठाउँका जमिन धाँजा फाटेका छन् भने कतिपय ठाउँमा सुख्खा पहिरो गएको छ । यसरी वर्षात् अघि नै कमजोर बनेको भूस्वरूपमा मनसुनी वर्षाले बाढीपहिरोको जोखिम निम्त्याउने अनुमान सामान्य बुभाइ (‘कमन सेन्स’) कै कुरा हो ।
ग्राफिक्स : गुगल

विगतका अनुभवले पनि यही वास्ताविकतसँग नाता गाँसेको पाइन्छ  । सन १९३४  (वि. सं. १९९०) मा आएको भूकम्पले पनि बाढीपहिरो निम्त्याएको थियो । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) द्वारा प्रकाशित ‘अ सर्ट रिभ्यू अफ ल्याण्डस्लाइड इन नेपाल’ नामक अध्ययन प्रतिवेदनमा १९९० को भूकम्पपछिको वर्षायाममा नेपालको पहाडी भाग र भारतको गंगा मैदान बाढीपहिरोको चपेटामा परेको उल्लिखित छ (पृ.२५) ।
सोही प्रतिवेदनमा नेपालको सुदूरपश्चिम क्षेत्रमा सन् १९५३ र १९६९ आएको  भूकम्पले भूस्खलन बढाएको निष्कर्ष निकालिएको छ ।  यिनै दृष्टान्तलाई ध्यानमा यसपटकको वर्षातमा थप सचेत हुनुपर्ने देखिन्छ ।

वर्षात्को समयमा कमजोर भूबनोट भएको पहाडी बस्ती, पुरानो पहिरो भएको स्थान, कमजोर नहर, खोलाको छेउछाउ आदि स्थानमा रहेका बस्तीहरू बाढीपहिरोको जोखिममा पर्न सक्छन् । यस्ता जोखिमयुक्त स्थानहरूको समयमै पहिचान गरी आवश्यक कदम चाल्न आवश्यक छ ।

राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो अनुगमनको आधारमा गोरखाका १४ वटा गाविसका बासिन्दा पहिरो जोखिम रहेको निष्कर्ष निकालेर उनीहरूलाई अन्यत्र सुरक्षित स्थानमा सानुपर्ने सुझाव दिएको छ ।
खानी तथा भूगर्भ विभाग, नापी विभाग र इसिमोडले  भर्खरै गरेको एक अध्ययनले बाढीपहिरोको सम्भावित जोखिमलाई ध्यानमा राखेर पाँच जिल्लाका ४३ बस्तीलाई तत्कालै अन्यत्र सार्नुपर्ने निष्कर्ष निकालेको छ ।

भूकम्प प्रभावित १४ जिल्लामध्ये गोरखा, नुवाकोट, रसुवा, सिन्धुपाल्चोकलगायत ५ जिल्लाका ४३ गाविस र २ नगरपालिकाको स्थलगत अध्ययनका यसप्रकारको निष्कर्ष निकालिएको अध्ययन प्रतिवेदनमा उल्लिखित छ ।
अध्ययन क्षेत्रभित्र नपरेका स्थानहरूको अवस्था कस्तो छ, यसै भन्न सकिन्न । ती ठाउँ पनि बाढी पहिरोको दृष्टिले जोखिमयुक्त हुन सक्छन् । भूकम्प प्रभावित जिल्ला र अन्य स्थानको थप अध्ययन अनुसन्धान गर्ने हो भने बसोबास गर्न नमिल्ने बस्तीहरू सूची अरू लम्बिन सक्छ । यसबारे हामी सचेत हुन आवश्यक छ ।

सामान्य अवस्थामा पनि हरेक वर्षको मनसुनी वर्षाले बाढी पहिरोको समस्या निम्त्याउने गरेको छ । यसबाट हरेक वर्ष जनधनको क्षति हुँदै आएको छ । २०७० सालमा बाढी पहिरोमा परी ५० जनाको मृत्यु भएको १९ जना बेपत्ता भएको, १५ जना घाइते, ७९७  परिवार विस्थापित भएको तथ्यांक गृह मन्त्रालयको वेबसाइटमा  छ ।

कमजोर भूबनोट भएको पहाडी बस्ती, पुरानो पहिरो भएको स्थान, कमजोर नहर, खोलाको छेउछाउ आदि स्थानमा रहेका बस्तीहरू बाढीपहिरोको जोखिममा पर्न सक्छन् । समयमै यस्ता स्थानहरूको पहिचान गरी आवश्यक कदम चाल्न आवश्यक छ ।

विनाशकारी भूकम्पछि आउने मनसुनी वर्षाले निम्त्याउन सक्ने प्राकृतिक विपत्तिका सम्बन्धमा विभिन्न तहमा चिन्ता र चासो प्रकट नभएका होइनन् । राष्ट्रिय मानव अधिकार आयोगले भूकम्प प्रभावित क्षेत्रको अनुगमनपछि यही सन्दर्भमा चासो प्रकट गरेको छ ।

आयोगले वैशाख २४ गते जारी गरेको प्रेस विज्ञप्तिमा भूकम्पबाट बाटो तथा पडाहमा चिरा परेको देखिएकोले वर्षायाममा भूस्खलन तथा पहिरोको सम्भावना रहको भन्दै यसतर्फ ध्यान दिन सरोकारवालाहरूको ध्यानाकर्षण गरेको छ ।

भूकम्पपछिको वर्षात्ले जनजीवनमा पार्न सक्ने असर र सम्भावित प्राकृतिक विपत्तिसँग जुध्न सरकार कुन हदसम्म तयार छ भन्नेबारे आमसञ्चार माध्यमहरूले धेरथोर पहरेदारी गरेको छ । तर तीे पहरेदारी पर्याप्त छैनन् । यसबारे स्थलगत अध्ययनका आधारमा थप खोजमूलक र बोधगम्य सामग्रीहरू जनसमक्ष प्रस्तुत गर्न आवश्यक छ ।

नेपाल अहिले विशेष परिस्थितिबाट गुज्रिरहेको छ । भूकम्पबाट अति प्रभावित १४ जिल्लाका नागरिक पालमुनि रात बिताइरहेका छन् । केहीले अस्थायी घर बनाए पनि कतिपयले कम्तिमा यस वर्षात्भित्र घर बनाउन सक्ने अवस्थामा छैन । भूकम्पबाट प्रभावित नागरिक अस्थायी रूपमा बसोबास गर्दै आएका स्थान बाढीपहिरोको दृष्टि कति सुरक्षित छन्, सोंचनीय छ ।

यातायातको कुरा गर्ने हो भने जनस्तरका नागरिकले बढी मात्रामा प्रयोग गर्ने सडक वर्षात् अघि नै जोखिममा रहेका समाचार आएका छन् । भूकम्पका कारण पासाङ ल्हामु राजमार्ग, अरनिको राजमार्ग जोखिममा रहेको जानकारी सार्वजनिक भइसकेका छन् ।

नेपालको भौगोलिक बनोट र वर्षात्का कारण मनसुनको समयमा हवाइ यातायातले पनि थुप्रै समस्या झेल्ने आएको छ । कुनै कारणले सडक यातायात बन्द भएमा आपत–विपतको बेलामा राहत तथा उद्धार कार्य प्रभावित हुनपुग्छ । यसबारे सरकार र नागरिकले समयमै सचेत हुनुपर्ने अवस्था छ ।

भूकम्पको विनशलीला र त्रासदीबाट विस्तारै मुक्त हुन लागिरहेको र मनसुनले निम्त्याउने सम्भावित विपत्तिको नजिक पुग्न लागिरहेको बेलामा सरकारले के गरिरहेको छ भन्नेबारे नागरिकले जानकारी पाउन आवश्यक छ ।
सम्भावित विपत्तिसँग जुध्न सरकारले गरेको तयारीबारे सार्वजनिक रूपमा सूचना सम्प्रेषण हुन आवश्यक छ । प्राकृतिक विपत्तिको घडीमा कहाँ र कसरी सम्पर्क गर्नेलगायतका जानकारी सर्वसाधारणको पहुँचमा पुर्याउनु सरकारको दायित्वभित्रै पर्छ ।  सम्भावित विपत्तिलाई ध्यानमा राखेर सरकारले आफ्नो संयन्त्रलाई तम्तयार र सजग अवस्थामा राख्नुपर्ने बेला आएको छ ।

सरकारले आफूले गरिरहेको तयारी र नागरिकले अपनाउनुपर्ने सावधानीबारे आमसञ्चार माध्यमहरूको उपयोग गरेर बढी भन्दा बढी नागरिकलाई सूचना प्रवाह गर्नुपर्ने अवस्था आएको छ । यसका लागि आवश्यकता अनुसार रेडियो, टेलिभिजन, छापा माध्यम तथा अनलाइनको उपयोग गर्न सकिन्छ । यसैगरी मोबाइलको एसएमएस सेवाआफू पनि आवश्यक सूचना सम्प्रेषण गर्न सकिन्छ ।

पृष्ठभूमिका देखापरेका तमाम घटनाक्रमलाई ध्यानमा राखेर भविष्यमा हुनसक्ने जोखिमप्रति सावधान रहनुपर्ने आवश्यकता छ । एउटा भयानक प्राकृतिक विपत्तिको अवस्थाबाट गुज्रिरहेको हामीे नेपाली भविष्यमा हुनसक्ने अर्को प्राकृतिक विपत्तिप्रति समयमै सचेत बन्नैपर्छ । यसका लागि समन्वयात्मक प्रयास अपरिहार्य छ ।
सम्भावित विपत्तिबाट बच्न राज्यस्तर र जनस्तरबाट सचेत र इमान्दार प्रयास आवश्यक छ । संभावित प्राकृतिक विपत्तिलाई पूरै रोक्न नसकिएला तर हाम्रो सचेत प्रयासबाट जनधनको क्षतिलाई न्युनीकरण अवश्य गर्न सकिन्छ । भनाइ नै छ, ‘बार बारे तिल जोगिन्छ ।’


[साभार : गोरखापत्र (असार १, २०७२)]