Saturday, July 18, 2015

त्यो साउने संक्रान्ति

–यमबहादुर दुरा

जिम्मेवारीको चाङ र शहरको कोलाहलबाट आफूलाई एकैछिन अलग राखेर अतीतलाई चियाउँदा आँखासामु कहिलेकाँही अतीतका दृश्य हाँजिर हुन आइपुग्छन् । जिन्दगीको आँखीझ्यालबाट अतीतलाई चियाउँदा आँखामा झलझली आउने अनेकौं दृश्यमध्ये एक हो, साउने संक्रान्ति ।

नेपाली समाजमा एउटा भनाइ प्रचलित छ, ‘माघे संक्रान्ति मनाइन्छ मरिन्छ कि भनेर, साउन संक्रान्ति मनाइन्छ बाँचियो भनेर ।’

साउने संक्रान्तिपछि समयले हिउँदे पय लिन थाल्छ । खेतमा रोपिएको धान विस्तारै सप्रिँदै जान्छ । खेतबारीमा बर्खे अन्नबाली लहलहलाउन थाल्छ । केही अपवादबाहेकका अवस्थामा खोलानाला विस्तारै सङ्लिँदै जान्छ । बर्खायाम र त्यसले निम्त्याउने त्रासपूर्ण वातावरण विस्तारै ओझेल पर्दै जान्छ । विस्तारै हिउँद -उन्मुख रुमानी पलहरू मौलाउँदै जान्छ ।
तस्बिर: गुगल

हामी सानो छँदा असारको बेफुर्सदिला पलहरूले साउने संक्रान्तिको महत्वलाई उँचो तुल्याउँथ्यो । असारको पहिलो सातादेखि नै हिलोमा पसिन्थ्यो । असार महिना हदैसम्मको व्यस्ततामा व्यतित हुन्थ्यो । महिनाजस्तो लामो दिन, क्षणभरमै तुरिने छोटो रात । थकित परेला नउघ्रिंदै पूर्वी क्षिजितमा घाम उदाउने तरखर भइसक्थ्यो । रातमा देखेको सपना पनि पूरा हुन नपाउँदै ओछ्यानबाट उठ्नुपर्‍थ्यो ।

ज्यानले नमान्दा नमान्दै पनि झिसमिसेमै आँखा मिच्दै उठ्नु, गाइवस्तुको धन्दा गर्नु, घाँस काट्नु र हल गोरु लिएर खेततिर जानु दिनचर्या हुन्थ्यो । रातको चार पहर मात्र ज्यानले विश्राम पाउँथ्यो । बाँकी समय कामै काम । काम धेरै, विश्राम कम । ज्यान हुनसम्म शिथिल हुन पुग्थ्यो । अत्यास लागेर आउँथ्यो ।

एक महिनासम्म पाखुरा बजाएपछि असारको मसान्ततिर धान रोप्ने काम सामान्यतया मैजारो हुन्थ्यो । साउने संक्रान्तिको आगमनले असारको व्यस्तता र हैरानीबाट मुक्ति दिन्थ्यो । एक अर्थमा साउने संक्रान्ति समयको एउटा मीठो बिसौनी थियो, जहाँ असारको थकाइ मेट्ने अवसर जुट्थ्यो । हिलोबाट छुटकारा मिल्दा ज्यान चङ्गा भएको अनुभूति हुन्थ्यो । हिलोले खाएका हातगोडाले विस्तारै जुनी फेर्दै जान्थे । सँगसँगै समयले नयाँ राग अलाप्थ्यो । झयाउँकिरीहरूले भाका फेर्थे ।

दिनभरिमा साउने संक्रान्ति पर्वको तयारी पूरा हुन्थ्यो । भन्सामा मीठो–मसिनो पाक्थ्यो । दिन ढलेपछि साँझमा सन्ध्या लुटपुटिन आउँदा–नआउँदै गाउँको वातावरणमा रौनक थपिन्थ्यो । दिदीबहिनीहरू तिउरीको जोहो गर्न थाल्थे । दिउँसो नै खोजेर तयार पारिएको कुकुर डाहिनु, कुरिलो, सिरु, पानीसरा, काँढे लहरा, सिउँडीजस्ता वनस्पतिहरूका मुठा दैलोनेर झुन्ड्याउने काम हुन्थ्यो । बर्खाले ओसिएको मादलमा खरी लाएर बेजोडसँग घन्किने अवस्थामा राखिन्थ्यो । यो काममा तन्नेरीहरू फुर्तीका व्यस्त हुन्थे ।

मुखियाको घरको बन्दुकमा बारुद भरेर तयारी अवस्थामा राखिन्थ्यो । अगुल्टो फाल्नका लागि भनेर हरेक घरको अगेनुमा बाक्लै मात्रामा दाउरा सल्काइन्थ्यो । साँझमा मुखियाको घरमा बन्दुक पड्किएपछि दक्षिणतिर अगुल्टो फालिन्थ्यो ।  त्यसलाई 'लुतो फाल्ने' भनिन्थ्यो । दक्षिणतिर रहेको गाउँको नाम लिएर अगुल्टो  फालिन्थ्यो ।

‘यो वर्षको लुतो-हैजा, सबै लैजा’ भन्दै नाभीदेखिकै  बल निकालेर अगुल्टो फालिन्थ्यो । अगुल्टो सकेसम्म पर फालेर बहादुरी देखाउने चेष्टा रहन्थ्यो । गाउँका हरेक घरधुरीले एकैचोटि अगुल्टो फाल्दा आकाशमा एकप्रकारको आतसबाजी नै हुन्थ्यो । ग्रामीणशैलीको आतसबाजी । बडो रमाइलो हुन्थ्यो ।

साउने संक्रान्तिको साँझमा रोदीघरमा मादल घन्कन्थ्यो । जेठको अन्तिम सातातिर घाँटुको ख्वाइ (भोज) समाप्त भएपछि असारको पूरै महिना मादल बजाउन अघोषित प्रतिबन्ध लाग्थ्यो । साउन लागेपछि मादल बजाउन अनुमति मिल्थ्यो । साउने संक्रान्तिको साँझमा रोदीघरमा मादल घन्कन थालेपछि ‘मादल फुक्थ्यो’ भनिन्थ्यो । यसले केही फुर्सदिला दिनहरू आगमनको संकेत गर्‍थ्यो । 

अगुल्टो फालेपछि साँझमा दिदीबहिनीसँग मिलेर तिउरी लाइन्थ्यो । सामन्तया छोरीचेलीले मात्र तिउरी चलन भए पनि हामी केटाहरूलाई कुनै थुनछेक थिएन । आँगनको छपनी ढुङ्गामा जाँतोको माने ढुङ्गाले मिहिन किसिमले पिसिन्थ्यो । त्यसमा मगरकाजी, भमटेको मुन्टो, कर्कलाकोे गुभो र परेवाको विष्टा मिसाएर पिसिन्थ्यो । यस्ता वस्तु मिसाउँदा तिउरी राम्रोसँग लाग्छ भन्ने अनुभवसिद्ध मान्यता छ ।

बूढापाकाले तिउरी लाउँदैनथे । तर साउने संक्रान्तिमा तिउरी छुनु राम्रो हुन्छ भन्ने मान्यता थियो । त्यस दिन बूढापाकाले पनि  तिउरी छुन्थे ।

तिउरी लाउने तरिका पनि गजबकै हुन्थ्यो । तिउरीको लेपलाई देब्रे हातको औंला र हत्केलामा राखेर मुठी बन्द गरिन्थ्यो । त्यसलाई पिँडालुको पातले छोपेर सुतिन्थ्यो । त्यसो गर्दा बक्सिङ खेल्दा पञ्जा लाएजस्तै देखिन्थ्यो, हात । चञ्चले केटाहरूका हातका औंलाले रात नछिप्पिँदै पिँडालुको पात छेँडेर आकाश ताकिसकेका हुन्थे । बेहोशी किसिमले सुत्दा हातमा तिउरी लाग्न पाउँदैनथ्यो ।

 बिहान उठ्दा हातमा तिउरीको रङ नलागेपछि मन खिन्न हुन्थ्यो । त्यसपछि रोइकराइ गर्न पनि पछि परिँदैनथ्यो । हत्केला जोगाएर सावधानीपूर्वक सुत्नेहरूको हातमात्र तिउरीको रङले शोभायमान हुन्थ्यो ।भोलिपल्ट पँधेरामा भेट हुँदा कुरा तिउरीकै विषयमा केन्द्रित हुन्थ्यो । कसको हातमा बढी तिउरी लाग्यो, कसको हातमा कम लाग्यो भनेर  साथीसंगीको हात पालैपालो हेरिन्थ्यो ।

साउने संक्रान्तिको भोलिपल्ट अगुल्टो बारिन्थ्यो । त्यस दिनमा हल चल्दैनथ्यो । खेतबारीमा खनजोत हुँदैनथ्यो ।  खनजोत नभएपछि त्यस दिन कामबाट छुटकारा मिल्थ्यो । व्यग्र प्रतीक्षापछि मिलेको फुर्सदको समय हाटबजार गएर सदुपयोग गरिन्थ्यो । दुराडाँडा क्षेत्रको चर्चित व्यापारिक केन्द्र च्यानपाटा बजार हाम्रा लागि एकमात्र बिदा मनाउने थलो थियो । च्यानपाटा बजारमा टहलिँदा महिना दिनको थकाइ कता भाग्थ्यो, कता ।

बाल्यकालको साउने संक्रान्ति धेरै अर्थपूर्ण हुन्थे । यसले खुसीयालीका क्षणहरूलाई एकपछि अर्को गरी निम्ता दिन्थ्यो । यसपछि चाडवाडहरूको क्रमिक आगमन शुरु हुन्थ्यो । एक अर्थमा साउने संक्रान्ति वर्षातपछि आउने चाडवाडहरूको प्रवेशद्वार नै थियो ।

यति हुँदाहुँदै पनि साउने संक्रान्तिको सांस्कृतिक अर्थ र सन्दर्भहरू हाम्रा लागि अपरिचिति थिए, न त यसबारेका प्राज्ञिक व्याख्या–विश्लेषणहरू नै हाम्रो बुझाइमा समेटिएका थिए । यसले ल्याउने खुसी र रुमानी पलहरूमात्र हाम्रो सरोकारका विषय थिए ।

‘काण्डरक’ राक्षसको पूजा गरी असारको हिलोमैलोबाट लाग्नसक्ने लुतोजस्ता छालाको रोग निवारण गर्ने चाड भनेर गरिएको वर्णन हाम्रो बुझाइभन्दा बाहिर थियो । विद्यालयका पुस्तकमा लेखिएका हुन्थे, ‘साउने संक्रान्तिपछि सूर्य दक्षिणायन हुने र यतिबेला सूर्य कर्कट राशिमा प्रवेश गर्ने भएकोले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ ।’

पुस्तकमा रहेका यस्ता पंक्ति हाम्रा लागि निख्लो ज्ञानमात्र थिए । संयोगवश, साउने संक्रान्ति सरकारी क्यालेण्डरमा आर्थिक वर्षको शुरुवात पनि हो । यसले पनि हाम्रो जीवनमा खासै अर्थ राख्दैनथ्यो । साउने संक्रान्तिले हाम्रो जीवनमा कोर्ने खुसीका धर्साहरूमात्र हाम्रा लागि अर्थपूर्ण हुन्थे ।

मेरो बुझाइमा साउने संक्रान्ति ‘बर्खाको मध्यान्तर’ थियो, जसले बर्खाका कष्टप्रद दिनहरूलाई निरन्तर पछि धकेल्थ्यो र हिउँदसँगको सुमधुर नातालाई निरन्तर गाढा बनाउँदै लान्थ्यो । यसले खुसीले भरिएका चाडवाडहरू आगमनको संकेत गर्‍थ्यो । साउने संक्रान्तिको तीन–चार महिनापछि आउने खुसीयालीपूर्ण चाड दशैं–तिहार मनको एउटा कुनमा बसिसकेको हुन्थ्यो । यसले मनको एउटा छेउमा पिल्पिलाएको आशा र खुसीको दियोलाई जगेर्ना गर्ने काम गर्‍थ्यो ।

आज शहरको आधुनिक जीवनशैलीको आँखीझ्यालबाट हिजोको कृषिप्रधान जीवनशैलीमा आधारित अतीतको साउने संक्रान्तिलाई सम्झँदा विगतका दृश्यहरू आँखासामु नाच्छन् । अनि थाहै नपाई मन समयको उल्टो यात्रामा निस्कन्छ । अतीतमोहको त्यो मोहपासमा परेर मनचरी पत्तै नपाई विगततिर वेग् हान्न पुग्छ ।


[साभार:   अन्नपूर्ण पोष्ट (साउन २, २०७२) । परिमार्जित संस्करण]

[अद्यावधिक : २०७२।०४।०६,२०७२।०४।०७, २०७२।०४।१४, २०७२।०६।२०, २०७७।०४।०१]

Saturday, July 4, 2015

सडक सभ्यता

–यमबहादुर दुरा

सडक निख्लो सडकमात्र नभएर जीवनशैली, संस्कृति र सभ्यतको परिचायक पनि हो । विश्वप्रख्यात रोम सभ्यताको वैभवमा त्यहाँका सडकले बान्की थपेको इतिहास छ । सफा र सुन्दर सडक तथा सभ्य नागरिक रोम सभ्यताको अभिन्न हिस्सा मानिन्थे । रोमको सभ्यता र सडक एक सिक्का दुई पाटाजस्तै थिए । भनाइ नै छ, ‘अल द रोड्स लिड टु रोम’ । यसले रोमको वैभव सबैको चिरपोषित अभिलाषा हो र मीठो गन्तव्य पनि हो भन्ने आभ्यान्तरिक भाव दिन्छ । यसबाट रोमको सभ्यता र साम्राज्य विस्तारमा सडकले अतुलनीय भूमिका खेलेको तथ्यसम्म पुग्न कठिन छैन ।

सडकले जीवनशैली, संस्कृति र सभ्यतालाई जोड्छ । त्यसमा पनि आधुनिक जीवनशैलीमा सडक ‘लाइफलाइन’ नै हो । सडक बिना आधुनिक जीवनशैलीको प्राणवायु सञ्चार हुन सक्दैन । सडकको प्रसंग नझिक्दा आधुनिक र प्रगतिमुखी समाजको अध्याय झनै अपूरो हुन्छ ।

त्यसो भए, एक्काइसौं शतव्दीको आभामा आलोकित र लोकतन्त्रको परिष्कृत मूल्य–मान्यताहरूबाट सिंगारिएका तपार्इँ-हाम्रो सडक सभ्यता कस्तो छ ? हामीले जीवनदायिनी सडक सभ्यताको इज्जत राख्न सकेका छौं कि छैनौं ? बदलामा सडक सभ्यताले हाम्रो इज्जत जोगाएको छ कि छैन ? हामीले सडकमा प्रदर्शन गर्ने व्यवहार कस्तो छ ? प्रत्येक सडक प्रयोगकर्ताले आफैंसँग सोध्नुपर्ने यी प्रश्नका उत्तरले हामीलाई निकै हदसम्म लज्जित तुल्याउने छ ।

देशको साक्षरता दर उत्साहजनक रूपमा दरमा बढेको छ । लोकतन्त्र, मानव अधिकार र नागरिक हकका विषयमा व्याख्यान दिने सचेत नागरिकको संख्या बढ्दो छ । तर पनि हाम्रो ‘सिभिक सेन्स’ को ग्राफ अपेक्षित रूपमा उकालो लागेको छैन । हामीले सडकमा देखाउने गैरजिम्मेवारपूर्ण व्यवहारले हाम्रो ‘सिभिक सेन्स’ कमजोर छ भन्ने तथ्य पुष्टि हुन्छ । हामीले सडकमा प्रदर्शन गर्ने व्यवहारले हाम्रो सोंचाइको स्तर र सभ्यताको स्तर पनि निर्धारण गर्छ ।

राजधानीको व्यस्त सडकको ‘जेब्रा क्रसिङ’ मा उभिएर बाटो पार क्रममा हुनुहुन्छ भने हाम्रो सडक सभ्यताको स्तरबारे क्षणभरमै भेउ पाउनुहुनेछ । ‘जेब्रा क्रसिङ’ पैदलयात्रुका लागि हो र सवारी चालकले ‘जेब्रा क्रसिङ’ रहेकालाई उच्च प्राथमिकता दिनुपर्छ भन्ने सामान्य नियम पनि पालना भएको पाइँदैन । उल्टै सवारी चालकले बाटो छोड्न चेतावनी दिँदै चर्को हर्न बजाएर ‘जेब्रा क्रसिङ’ मा उभिएकालाई त्रस्त पार्ने प्रवृत्ति चलनको रूप ग्रहण गरेको छ ।

सडकमा बेपर्वाहसँग थुक्ने; केराको बोक्रा, गाडीबाट चकलेट, बिस्कुट आदिको खोल निर्धक्कसँग सडकमा किसिमले फाल्ने; अकारण हर्न बजाउने; यातायातकर्मीबाट हुने अभद्र व्यवहार, ठाउँ–कुठाउँ ‘ओभरटेक’ गर्ने, सडक पेटीमै बिनाहिच्किचाहट मोटरबाइक कुदाउने, ‘लेन डिस्प्लिन’ मिच्ने, जथाभावी बाटो काट्नेजस्ता अशोभनीय व्यवहार आमप्रवृत्ति नै बनेको छ ।

सडकको दायाँवायाँ लगाइएका विरुवा शहरको शोभा हो । तिनलाई जोगाउनु हुर्काउनु सबैको जिम्मेवारी हो । विडम्बना नै भन्नुपर्छ, भर्खरै सारिएका विरुवाहरुलाई चिमोट्ने तथा हाँगा भाँच्ने काम हामीबाटै भइरहेका छन् । हामीले आफ्ना आनीबानी र आचार विचार सुधार्न नसक्दा आफैं देखेर लज्जित हुनुपर्ने अवस्था छ ।

यी कुकृत्यको साक्षी बन्नुपर्दा यस्तो लाग्छ – सडक मनमस्ती साँध्ने ठाउँ हो, जहाँ जे गरे पनि हुन्छ, जसो गरे पनि हुन्छ । मानौं, हाम्रो कुकृत्यको अगाडि लाचार बनेको थलो हो सडक, जहाँ हामीभित्र मौलाएको गैरजिम्मेवारीपनको कुरूप दृष्टान्त देख्न पाइन्छ ।

‘जेब्रा क्रसिङ’ पैदलयात्रुका लागि सुरक्षित क्षेत्र मानिन्छ । तर ‘जेब्रा क्रसिङ’ मै गाडीले  पैदलयात्रुलाई ठक्कर दिएको थुपैै्र दृष्टान्त छ । ट्राफिक नियम उल्लङ्घन गर्दा भोग्नुपर्ने परिणाम पनि कम भयावह छैन । विश्व स्वास्थ्य सङ्गठनले सन् २०११ मा सार्वजनिक गरेको प्रतिवेदनका अनुसार नेपालमा सडक दुर्घटनाबाट प्रतिवर्ष दुई हजारभन्दा बढी मानिसको मृत्यु हुन्छ, जुन कुल मृत्युको १ं.७० प्रतिशत हुन आउँछ । अर्को आँकडा अनुसार नेपालमा हुने कुल सवारी दुर्घटनामध्ये ५० प्रतिशत हिस्सा राजधानी शहर काठमाडौंले ओगट्छ ।

 विश्वमा सडक दुर्घटनाबाट हुने कुल मृत्युमध्ये ७० प्रतिशत हिस्सा विकासोन्मुख मुलुकहरूले ओगट्ने गरेको पाइएको छ । विश्व स्वास्थ्य सङ्गठनले सडक दुर्घटनालाई तीव्र गतिमा बढ्दै गएको महामारीको रूपमा चित्रण गरेको छ ।

सडक सुरक्षासम्बन्धी विश्व प्रतिवेदन ‘ग्लोबल स्ट्याटस रिपोर्ट अन रोड सेफ्टी २०१३’ का अनुसार नेपालमा सडक दुर्घटनाबाट प्रति एक लाखमा १६ जनाको मृत्यु हुन्छ । सोही प्रतिवेदनका अनुसार बेलायत, स्वडेनजस्ता विकसित मुलुकमा प्रति एक लाखमा तीन जनाभन्दा कमको मृत्यु हुन्छ । यस हिसाबले सडक दुर्घटनाबाट जनधनको उच्च क्षति हुने देशहरूको सूचीमा नेपाल पनि पर्छ  । मानिसलाई शारीरिक रूपमा अपाङ्ग बनाउने मूल स्रोतमध्ये सडक दुर्घटना अग्रपक्तिमा आउँछ ।

सडकमा हामीले प्रदर्शन गर्ने अधैर्य र गैरजिम्मेवार व्यवहारले मानवीय क्षति र सभ्यताको क्षयीकरण भइरहेका छन् । लोकतन्त्र बोली र भाषणमात्र होइन, त्यो भन्दा ठूलो त व्यवहार हो । देश सप्रिन नसकेकोमा गोष्ठी र अन्य जमघटमा भयानक गम्भीर चिन्ता व्यक्त गर्ने हामीले आफ्नै बानी–व्यहोरामा सामान्य भन्दा सामान्य सुधार गर्न नसक्दा हाम्रो बोली र व्यवहारमा फराकिलो अन्तर देखिएको छ ।

हामीले नागरिक अधिकारका कुरा धेरै गर्‍ यौँ। अधिकारका कुरा गर्दा धेरै कर्तव्य भुल्न थाल्यौँ । हामीले सडक सभ्यता जोगाउने हो भने प्रत्येक सडक प्रयोगकर्ताले आफ्नो कर्तव्यलाई बढी ध्यान दिनुपर्ने अवस्था आएको छ । सबैले सचेत मनले कर्तव्य पालना गर्ने हो भने कमजोर सडक सभ्यता छोटो समयमै हराभरा हुनसक्छ ।

सडकमा हुनेखानेदेखि हुँदाखानेसम्मका नागरिकका जीवनशैली र व्यवहार प्रतिविम्बित हुन्छ । सडक सभ्यताको प्रदर्शनी स्थल  हो । अझ भनौं, सडक सभ्यताको ‘सो केस’ हो । हामीले सडकमा कस्तो सभ्यता प्रदर्शन गरिरहेका छौंँ ? प्रश्नको उत्तर हामीभित्रै खोज्नुपर्ने हुन्छ ।

[साभार : नेपालपाटी (असार १९, २०७२) ]

[अद्यावधिक:  २०७२।०४।१४ ]
 

Saturday, June 27, 2015

सञ्चार सिद्धान्त जन्माउने त्यो घटना

–यमबहादुर दुरा


अमेरिका । सन् १९३८ अक्टोबर ३० तारिखको साँझ । ‘हलोविन’ पर्वको पूर्वसन्ध्या । अर्थात् अमेरिकीहरूले धुमधामसँग मनाउने 'हलोविन'पर्वको अघिल्लो साँझ । अमेरिकीहरू स्वाभाविक ‘फेस्टिभ मूड’ मा थिए । सबै कुरा ठीकठाक चलिरहेको थियो । यस्तैमा त्यही साँझे बजे अमेरिकी रेडियो नेटर्वकमा गजबको रेडियो नाटक प्रसारण भयो । नाटक साँझ ८ बजे कोलम्बियन ब्रोडकाष्टिङ सिस्टम (सीबीएस) बाट एक घण्टासम्म प्रसारण भएको थियो, जसको  शीर्षक थियो,  ‘द वार अफ द वर्ल्ड्स्’ ।


नाटकमा मंगल ग्रहका प्राणीहरू पृथ्वीमा आएर हमला गरेको प्रसंग थियो, त्यो पनि अमेरिकाको न्यू जर्सी राज्यको गोभर्स् मिल
भन्ने ठाउँमा ।  नाटक प्रख्यात लेखक एच जी वेल्स (सन् १८६६–१९४६) ले सन् १८९८ मा प्रकाशन गरेको विज्ञान उपन्यास ‘द वार अफ द वर्ल्ड्स्’ मा आधारित थियो । नाटकको प्रस्तुति संवाददाताले कुनै घटनाको प्रत्यक्ष वर्णन (प्रसारण) शैलीमा थियो ।

त्यस नाटकले अमेरिकी समाजमा नचिताएको परिणाम ल्यायो । नाटकको विषयवस्तु नितान्त काल्पनिक थियो । तर पनि बीचमा नाटक सुन्नेहरूले त्यसलाई भ्रमवश सत्य ठाने । उक्त नाटकको प्रसारण अमेरिकाभरमा १ करोड २० लाख मानिसले सुनेकोमा १० लाखले त्यसमा वर्णित घटनालाई सत्य ठानेको विश्वास गरिन्छ ।

अमेरिकी क्यालेन्डरमा ‘हलोविन’ एउटा भुत्याहा पर्व हो । अमेरिकीहरू ‘हलोविन’ पर्वको पूर्वसन्ध्यामा आफ्ना मृत पूर्खाहरू पृथ्वीमा झर्छन् भन्ने विश्वास गर्छन् । यसप्रकारको विश्वासले पनि उनीहरूलाई नाटकको प्रसंग सत्य हो भन्ने लाग्यो ।

नाटक सुनेर अमेरिकीहरू हुनसम्म आतङ्तिक बने । गृहिणीहरू चिच्याउँदै घरबाहिर निस्कन थाले । मानिसहरू घर छाडेर सुरक्षित स्थानमा निस्कन थाले । कतिपयले पृथ्वीमा आक्रमण गर्न आउने मंगलग्रहका प्राणीलाई हान्न भनेर बन्दुकमा गोली लोड गर्न थाले । कोलाहाल मच्चियो । शहरमा अचम्मसँग ट्राफिक जाम हुन थाल्यो ।

भोलिपल्ट अमेरिकी समाचारपत्रहरूमा अघिल्लो दिनको साँझको नाटकले पारेको भ्रम र त्यसबाट भएको भागदौडबारे भंगेरे अक्षरमा हेडलाइन छापिए । नाटक निर्माता तथा उत्पादकरूले अमेरिकी नागरिकमा पर्न भ्रमप्रति माफी माग्नुपर्‍यो । अमेरिकी प्रसारण इतिहासमा यो घटना ज्यादै कुख्यात मानिन्छ ।


त्यो घटनाको प्रभाव सञ्चारशास्त्रीहरूमा पनि नपर्ने कुरै थिएन । यही घटनाको आधारमा उनीहरूले सञ्चारसम्बन्धी नयाँ सिद्धान्त प्रतिपादन गरे । ‘द वार अफ द वल्र्डस्’ नाटकले स्रोतागणमा पारेको प्रत्यक्ष र सीधा असरका आधारमा उनीहरूले मिडियाको अडियन्समाथि सीधा, प्रत्यक्ष र शक्तिशाली असर रहन्छ भन्ने मान्यता अघि सारे ।

यो सिद्धान्त 'बुलेट थ्योरी', 'म्याजिक बुलेट थ्योरी', 'हाइपोडर्मिक निडल थ्योरी', 'प्यारासुट थ्योरी' आदि नामले चिनिन्छ । अमेरिकी समाजलाई आतङ्कित तुल्याउने त्यस घटनाले सञ्चारको एउटा नयाँ सिद्धान्तलाई जन्म थियो । यस सिद्धान्तले आमसञ्चार माध्यमबाट चाहेको सन्देश अडियन्स (स्रोता, दर्शक तथा पाठक) समक्ष अचुक रूपमा सम्प्रेषण गर्नसक्छ भन्ने मान्यता राख्छ । जस्तै : कुशल निसानाबाजले हानेको गोलीले ताकेकै ठाउँमा लागेझैं, सिरिञ्जमार्फत पठाइएको औषधि सीधै रक्तप्रवाहमा मिसाउन सकिएझैं, प्यारासुटबाट जम्प गर्दा अपेक्षित स्थानमा अवतरण गर्न सकिएझैं ।








त्यस सिद्धान्त प्रतिपादनको प्रतिपादनमा अरू घटनाक्रमहरूले पनि सहयोगी भूमिका खेलेको देखिन्छ । त्यतिबेला उकालो लाग्दै गरेको रेडियो र टेलिभिजनको लोकप्रियताको ग्राफ, जर्मनीमा हिटलरले सञ्चार माध्यममा कायम गरेको एकाधिकार (जुन 'गोयबल्स सिद्धान्त' नामबाट परिचित छ) , चलचित्रको चुलिँदो लोकप्रियता एवम् विज्ञापन र प्रोपगण्डा उद्योगले जनमनमा पारेको गहिरो प्रभावले त्यसमा योगदान दिएको देखिन्छ ।

आजभन्दा ७७ वर्षअघि भएको ‘द वार अफ द वर्ल्ड्स्’ नाटकको प्रसारणले निम्त्याएको आतङ्क र जन्माएको सञ्चार सिद्धान्त सञ्चार-अध्येताहरूबीच आज पनि उत्तिकै रोचक र प्रेरणादायी प्रसंग हुन पुगेको छ ।



[साभार : नेपालपाटी (असार १२, २०७२) । परिमार्जित संस्करण । इन्टरनेटमा उपलब्ध सामग्रीहरूमा आधारित । ग्राफिक्स : गुगल ।]

Tuesday, June 16, 2015

‘बार बारे तिल जोगिन्छ’

–यमबहादुर दुरा

मनसुन शुरु भइसकेको छ । समान्यतया, नेपालमा मनसुन जुनको दोस्रो सातादेखि शुरु भएर सेप्टेम्बरको तेस्रो सातासम्म कायम रहन्छ । लगभग चार महिनासम्म कायम मनसुनी वर्षाले नेपालमा हरेक वर्ष बाढीपहिरो निम्त्याउने गरेको दृष्टान्त छ । यसबाट जनधनको क्षति हुँदै आएको तथ्य पनि जगजाहेर नै छ । मनसुनको शुरुवाती दिनहरूमै पूर्वी नेपालको ताप्लेजुङमा बाढीपहिरोबाट जनधनको क्षति भइसकेको छ ।

यसपटकको मनसुन बाढीपहिरोको दृष्टिले विगतको तुलनामा अझ बढी जोखिमयुक्त हुनसक्ने अनुमान गरिएको छ । यसप्रकारको अनुमान विशेषज्ञले मात्र होइन, जनसाधारणले पनि गरिरहेका छन् ।

यसका पछाडि केही निश्चित कारण छन् । २०७२ साल वैशाख १२, १३ र २९ गते आएका भूकम्पबाट ठाउँ ठाउँका जमिन धाँजा फाटेका छन् भने कतिपय ठाउँमा सुख्खा पहिरो गएको छ । यसरी वर्षात् अघि नै कमजोर बनेको भूस्वरूपमा मनसुनी वर्षाले बाढीपहिरोको जोखिम निम्त्याउने अनुमान सामान्य बुभाइ (‘कमन सेन्स’) कै कुरा हो ।
ग्राफिक्स : गुगल

विगतका अनुभवले पनि यही वास्ताविकतसँग नाता गाँसेको पाइन्छ  । सन १९३४  (वि. सं. १९९०) मा आएको भूकम्पले पनि बाढीपहिरो निम्त्याएको थियो । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) द्वारा प्रकाशित ‘अ सर्ट रिभ्यू अफ ल्याण्डस्लाइड इन नेपाल’ नामक अध्ययन प्रतिवेदनमा १९९० को भूकम्पपछिको वर्षायाममा नेपालको पहाडी भाग र भारतको गंगा मैदान बाढीपहिरोको चपेटामा परेको उल्लिखित छ (पृ.२५) ।
सोही प्रतिवेदनमा नेपालको सुदूरपश्चिम क्षेत्रमा सन् १९५३ र १९६९ आएको  भूकम्पले भूस्खलन बढाएको निष्कर्ष निकालिएको छ ।  यिनै दृष्टान्तलाई ध्यानमा यसपटकको वर्षातमा थप सचेत हुनुपर्ने देखिन्छ ।

वर्षात्को समयमा कमजोर भूबनोट भएको पहाडी बस्ती, पुरानो पहिरो भएको स्थान, कमजोर नहर, खोलाको छेउछाउ आदि स्थानमा रहेका बस्तीहरू बाढीपहिरोको जोखिममा पर्न सक्छन् । यस्ता जोखिमयुक्त स्थानहरूको समयमै पहिचान गरी आवश्यक कदम चाल्न आवश्यक छ ।

राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो अनुगमनको आधारमा गोरखाका १४ वटा गाविसका बासिन्दा पहिरो जोखिम रहेको निष्कर्ष निकालेर उनीहरूलाई अन्यत्र सुरक्षित स्थानमा सानुपर्ने सुझाव दिएको छ ।
खानी तथा भूगर्भ विभाग, नापी विभाग र इसिमोडले  भर्खरै गरेको एक अध्ययनले बाढीपहिरोको सम्भावित जोखिमलाई ध्यानमा राखेर पाँच जिल्लाका ४३ बस्तीलाई तत्कालै अन्यत्र सार्नुपर्ने निष्कर्ष निकालेको छ ।

भूकम्प प्रभावित १४ जिल्लामध्ये गोरखा, नुवाकोट, रसुवा, सिन्धुपाल्चोकलगायत ५ जिल्लाका ४३ गाविस र २ नगरपालिकाको स्थलगत अध्ययनका यसप्रकारको निष्कर्ष निकालिएको अध्ययन प्रतिवेदनमा उल्लिखित छ ।
अध्ययन क्षेत्रभित्र नपरेका स्थानहरूको अवस्था कस्तो छ, यसै भन्न सकिन्न । ती ठाउँ पनि बाढी पहिरोको दृष्टिले जोखिमयुक्त हुन सक्छन् । भूकम्प प्रभावित जिल्ला र अन्य स्थानको थप अध्ययन अनुसन्धान गर्ने हो भने बसोबास गर्न नमिल्ने बस्तीहरू सूची अरू लम्बिन सक्छ । यसबारे हामी सचेत हुन आवश्यक छ ।

सामान्य अवस्थामा पनि हरेक वर्षको मनसुनी वर्षाले बाढी पहिरोको समस्या निम्त्याउने गरेको छ । यसबाट हरेक वर्ष जनधनको क्षति हुँदै आएको छ । २०७० सालमा बाढी पहिरोमा परी ५० जनाको मृत्यु भएको १९ जना बेपत्ता भएको, १५ जना घाइते, ७९७  परिवार विस्थापित भएको तथ्यांक गृह मन्त्रालयको वेबसाइटमा  छ ।

कमजोर भूबनोट भएको पहाडी बस्ती, पुरानो पहिरो भएको स्थान, कमजोर नहर, खोलाको छेउछाउ आदि स्थानमा रहेका बस्तीहरू बाढीपहिरोको जोखिममा पर्न सक्छन् । समयमै यस्ता स्थानहरूको पहिचान गरी आवश्यक कदम चाल्न आवश्यक छ ।

विनाशकारी भूकम्पछि आउने मनसुनी वर्षाले निम्त्याउन सक्ने प्राकृतिक विपत्तिका सम्बन्धमा विभिन्न तहमा चिन्ता र चासो प्रकट नभएका होइनन् । राष्ट्रिय मानव अधिकार आयोगले भूकम्प प्रभावित क्षेत्रको अनुगमनपछि यही सन्दर्भमा चासो प्रकट गरेको छ ।

आयोगले वैशाख २४ गते जारी गरेको प्रेस विज्ञप्तिमा भूकम्पबाट बाटो तथा पडाहमा चिरा परेको देखिएकोले वर्षायाममा भूस्खलन तथा पहिरोको सम्भावना रहको भन्दै यसतर्फ ध्यान दिन सरोकारवालाहरूको ध्यानाकर्षण गरेको छ ।

भूकम्पपछिको वर्षात्ले जनजीवनमा पार्न सक्ने असर र सम्भावित प्राकृतिक विपत्तिसँग जुध्न सरकार कुन हदसम्म तयार छ भन्नेबारे आमसञ्चार माध्यमहरूले धेरथोर पहरेदारी गरेको छ । तर तीे पहरेदारी पर्याप्त छैनन् । यसबारे स्थलगत अध्ययनका आधारमा थप खोजमूलक र बोधगम्य सामग्रीहरू जनसमक्ष प्रस्तुत गर्न आवश्यक छ ।

नेपाल अहिले विशेष परिस्थितिबाट गुज्रिरहेको छ । भूकम्पबाट अति प्रभावित १४ जिल्लाका नागरिक पालमुनि रात बिताइरहेका छन् । केहीले अस्थायी घर बनाए पनि कतिपयले कम्तिमा यस वर्षात्भित्र घर बनाउन सक्ने अवस्थामा छैन । भूकम्पबाट प्रभावित नागरिक अस्थायी रूपमा बसोबास गर्दै आएका स्थान बाढीपहिरोको दृष्टि कति सुरक्षित छन्, सोंचनीय छ ।

यातायातको कुरा गर्ने हो भने जनस्तरका नागरिकले बढी मात्रामा प्रयोग गर्ने सडक वर्षात् अघि नै जोखिममा रहेका समाचार आएका छन् । भूकम्पका कारण पासाङ ल्हामु राजमार्ग, अरनिको राजमार्ग जोखिममा रहेको जानकारी सार्वजनिक भइसकेका छन् ।

नेपालको भौगोलिक बनोट र वर्षात्का कारण मनसुनको समयमा हवाइ यातायातले पनि थुप्रै समस्या झेल्ने आएको छ । कुनै कारणले सडक यातायात बन्द भएमा आपत–विपतको बेलामा राहत तथा उद्धार कार्य प्रभावित हुनपुग्छ । यसबारे सरकार र नागरिकले समयमै सचेत हुनुपर्ने अवस्था छ ।

भूकम्पको विनशलीला र त्रासदीबाट विस्तारै मुक्त हुन लागिरहेको र मनसुनले निम्त्याउने सम्भावित विपत्तिको नजिक पुग्न लागिरहेको बेलामा सरकारले के गरिरहेको छ भन्नेबारे नागरिकले जानकारी पाउन आवश्यक छ ।
सम्भावित विपत्तिसँग जुध्न सरकारले गरेको तयारीबारे सार्वजनिक रूपमा सूचना सम्प्रेषण हुन आवश्यक छ । प्राकृतिक विपत्तिको घडीमा कहाँ र कसरी सम्पर्क गर्नेलगायतका जानकारी सर्वसाधारणको पहुँचमा पुर्याउनु सरकारको दायित्वभित्रै पर्छ ।  सम्भावित विपत्तिलाई ध्यानमा राखेर सरकारले आफ्नो संयन्त्रलाई तम्तयार र सजग अवस्थामा राख्नुपर्ने बेला आएको छ ।

सरकारले आफूले गरिरहेको तयारी र नागरिकले अपनाउनुपर्ने सावधानीबारे आमसञ्चार माध्यमहरूको उपयोग गरेर बढी भन्दा बढी नागरिकलाई सूचना प्रवाह गर्नुपर्ने अवस्था आएको छ । यसका लागि आवश्यकता अनुसार रेडियो, टेलिभिजन, छापा माध्यम तथा अनलाइनको उपयोग गर्न सकिन्छ । यसैगरी मोबाइलको एसएमएस सेवाआफू पनि आवश्यक सूचना सम्प्रेषण गर्न सकिन्छ ।

पृष्ठभूमिका देखापरेका तमाम घटनाक्रमलाई ध्यानमा राखेर भविष्यमा हुनसक्ने जोखिमप्रति सावधान रहनुपर्ने आवश्यकता छ । एउटा भयानक प्राकृतिक विपत्तिको अवस्थाबाट गुज्रिरहेको हामीे नेपाली भविष्यमा हुनसक्ने अर्को प्राकृतिक विपत्तिप्रति समयमै सचेत बन्नैपर्छ । यसका लागि समन्वयात्मक प्रयास अपरिहार्य छ ।
सम्भावित विपत्तिबाट बच्न राज्यस्तर र जनस्तरबाट सचेत र इमान्दार प्रयास आवश्यक छ । संभावित प्राकृतिक विपत्तिलाई पूरै रोक्न नसकिएला तर हाम्रो सचेत प्रयासबाट जनधनको क्षतिलाई न्युनीकरण अवश्य गर्न सकिन्छ । भनाइ नै छ, ‘बार बारे तिल जोगिन्छ ।’


[साभार : गोरखापत्र (असार १, २०७२)]

Saturday, May 9, 2015

भूकम्पका सामाजिक प्रकम्पनहरू


–यमबहादुर दुरा

ग्राफिक्स् :  गुगल


लोकतन्त्र दिवसको सुन्दर क्षणमा रमाएका नेपालीहरूका खुसीयाली एक दिन बित्न नपाउँदै पानीको फोका फुटेजस्तै भयो । २०७२ साल वैशाख १२ गते बिहान ११ः५६ बजे नेपाली भूगोलको गर्भमा भएको हलचलले नेपालीजनका सारा खुसीयाली क्षणभरमै हरेर लग्यो ।

त्यस निष्ठुर भौगर्भिक घटनाले के के मात्र गरेन ! नेपाली परिवारका हजारौं प्रियजनलाई खोसेर कालको मुखमा पुर्याइदियो, थुप्रै कर्मजीवीलाई बैशाखीको साहराले हिँड्ने अवस्थामा पुर्यायो, घरलगायतका भौतिक संरचनामाथि रीस पोख्यो, धराहरालगायतका ऐतिहासिक धरोहरहरूलाई धुलिसात बनाइदियो । अन्ततः नेपालीलाई गहिरो मानसिक चोट उपहार दिएर गयो ।

नेपाली भूगोलमा सहसा विनाशलीला मच्चाउन सफल त्यस भौगर्भिक घटनाले भौगोलिक प्रकम्पनमात्र ल्याएन, सामाजिक जीवनमा पनि प्रकम्पन र तरङ्गहरू ल्याएरै छाड्यो । नेपाली समाज फेरि एक अभूतपूर्व रूपमा तरङ्गित हुन पुग्यो । हरेक घर, चोक, गल्ली र चिया पसलमा भूकम्पबाट पैदा भएका कारुणिक र विस्मातपूर्ण अवस्थाबारे कुरा खापाखाप भए । भूकम्पबाट सिर्जित परिस्थितिबारे  ‘फेसबुक’ जस्ता सामाजिक सञ्जालहरूमा थुप्रै चर्चा–परिचर्चा भए, थुप्रै विचार र जवाफी विचार आए ।

भूकम्पले जनजीवनलाई दुःखित, त्रस्त र आतङ्कित तुल्याएको बेलामा सामाजिक परिदृश्यमा मानवीय र दानवीय दुवै प्रवृत्ति देखा परे । कोही आफन्तजन गुमाएका र सम्पत्ति सर्वनाश भएकालाई माया–ममता र सदभावरूपी भुवादार रुमालले आँसु पुछिदिनतिर लागे भने कोहीचाहिँ तिनै प्रकृतिबाट ठगिएका निरीह नेपालीजनको विवशतालाई माध्यम बनाएर नाजायज फाइदा उठाउन पनि पछि हटेनन् ।

सामाजिक परिदृश्यमा देखापरेका यी दुवै प्रवृत्तिको सेरोफेरोमा सामाजिक सञ्जालका बहस केन्द्रित थिए ।


***

मौकाको फाइदा उठाएर व्यापारीहरूले तेब्बर–चौबर दाममा उपभोग्य वस्तु बेचेको खबर अनलाइन समाचार पोर्टलहरूमा आए । व्यापारीहरूका यस्ता अनैतिक र सम्वेदनाहीन कार्यशैलीप्रति जनस्तरमा चर्को आक्रोश देखापरे । १९९० सालमा आएको भूकम्पको बेलामा पनि व्यापारीहरूले यस्तै व्यवहार देखाएका रहेछन् ।
तत्कालीन प्रधानमन्त्री जुद्ध शमसेरले नाजायज फाइदा उठाउने त्यस्ता व्यापारीहरूलाई पाँचजनालाई साक्षी राखेर काटिदिए हुन्छ भनेका रहेछन् । उनको त्यस्तो भनाइलाई धेरैले ‘फेसबुक’ मा सेयर गरे । हुकुमी शासनकालका प्रधानमन्त्री जुद्ध शमसेरको भनाइलाई लोकतान्त्रिक नेपालका कतिपय नागरिकले एकदमै जायज ठहयाए भने कतिले क्रुर व्यवहार भनेर टिप्पणी गरे ।

भूकम्पछिको राजधानी शहर काठमाडौं कोलाहल, आतङ्क र अनिश्चयको राजाधानीझैं बन्नपुग्यो ।  न बिजुली, न यातायात, न दैनिक उपभोग्य वस्तुको सहज उपलब्धता । थियो त केवल त्रास, आतङ्क र अनिश्चतता । धेरै मानिस संकटग्रस्त राजधानीको उकुसमुकुसपूर्ण वातावरण उम्किन खोजिरहेका थिए । उनीहरू राजधानीबाट बाहिरिन हतारिँदै थिए ।

अनिश्चयपूर्ण वातावरण । तुलनात्मक रूपमा सवारी साधानको न्यून उपलब्धता । त्यसमा पनि एकैचोटि भनायक ठूलो जनसमूह राजधानीबाट बाहिरिन खोज्दा सवारी साधानको अभाव हुनु स्वाभाविकै थियो । अनि त मौकाको ताकमा बसेका केही यातायातकर्मीहरूका दिन खुलिहाल्यो । अनिश्चिय र विवशताको पहाडले थिचिएका यात्रुहरू । त्यतिबेला पाँच सय भाडा लाग्नेमा २५०० सय रूपैयाँसम्म भाडा तिर्न उनीहरू बाध्य भएको समाचार आयो ।

त्यही समयमा केही उदारमना व्यक्ति, संस्था र यातायात व्यवसायीहरूले काठमाडौंदेखि पोखरासम्म निःशुल्क बससेवा सञ्चालन गरे । यो काम लोभीपापी र बैगुनीहरूका कार्यशैलीलाई निःशब्द जवाफ बन्यो । निःशुल्क बससेवा समाजसेवाको आफैंमा एउटा सुन्दर उदाहरण बन्यो । यसपछि बढी भाडा असुल्ने यातायातकर्मीले सामाजिक सञ्चालहरूमा कटु आलोचना भेटे भने निःशुल्क बससेवा सञ्चालन गर्नेहरूले वाहवाही पाए ।

भूकम्पले धुलिसात पारिदिएको ऐतिहासिक धरोहरहरूमध्ये भीमसेन थापाकालीन धरहरा धेरैको चासोको विषय बन्यो । कतिपयले ढलेको धरहरा परिपरि घुम्ने, पोज दिएर सेल्फीे खिच्ने र त्यसलाई ‘फेसबुक’ मा पोष्ट गर्ने काम गरे । यसलाई कतिपयले टेढो नजरले हेर्न थाले । राष्ट्रिय स्मारक धुलिसात भएकोमा खुसियाली मनाएको सम्झे । धराहरामा 'सेल्फी' खिच्नेहरूमाथि सम्वदेनाहीन बनेको आरोप लाग्यो । उनीहरूका अगाडि नैतिक प्रश्न खडा गर्ने गर्ने काम भयो ।

धरहरा प्रकरण यतिमै अन्त्य भएन । एउटा अनलाइन न्युज पोर्टलले धरहराका इटा चोरी भइरहेको समाचार पोष्ट गर्‍यो । त्यस पोर्टलले इटा चोरी गर्ने काममा एकजना उच्चपदस्थ सरकारी अधिकृतको समेत संलग्नता रहेको समाचार विवरण भिडियो सहित प्रकाशन गर्यो । समाचार कति यथार्थपरक हो, त्यो थप अनुसन्धानको विषय हुनसक्छ । जेहोस्, यसले राष्ट्रिय सम्पत्तिको उचित संरक्षण र पहरेदारी नभएकोतर्फ ध्यानाकर्षण गरेर गुन लगायो ।

***

भूकम्पपछि मदिराको व्यवसायी व्यवहार पनि चर्चाको विषय बन्यो । मदिरा व्यवसायीको संस्थाले भूकम्पबाट क्षति हुन पुगेको मदिराको क्षतिपूर्तिबारे दैनिक अखबारमा सूचना प्रकाशन गर्‍यो  । यो सूचना सर्वत्र आलोचनाको विषय बन्यो । राष्ट्रिय विपत्तिको घडीमा मदिराको क्षतिपूर्ति माग्ने हो कि प्राकृतिक विपत्तिबाट बेहाल हुन पुगेका असहायहरूका सेवामा जुट्ने हो भनेर धेरैले सामाजिक सञ्जालमा प्रश्न राखे । एकजनाले मदिरा व्यवसायीको व्यवहारप्रति टिप्पणी गर्दै ‘फेसबुक’ मा लेखे, ‘कसैलाई के धन्धा, घरज्वाइँलाई खानको धन्दा भनेको यही हो ।’

यही समयमा केही लेखकहरू पनि सामाजिक सञ्जालहरूमा तिखा आलोचनाको निसाना बने । आलोचनाको विषय थियो, देश विपतको बेलामा राहत र उद्धार कार्यमा लाग्नुको सट्टा धर्नामा बस्नु । लेखकहरूको एक झुण्ड २०७२ साल वैशाख १५ गते प्रधानमन्त्री निवास नजिक धर्ना बसेका थिए । धेरैको आरोप थियो,  सधैभरि चर्चामा आउन चाहने यी लेखकहरू भूकम्पलाई माध्यम बनाएर चर्चा बटुल्ने नाजायज प्रयास गरिरहेका छन् ।

भूकम्प आएपछिका दिनहरूमा हल्लाको खेती पनि राम्रैसँग सप्रियो । भूकम्पले सिङ्गो देशलाई कम्पयमान बनाएको बेलामा फैलिएको हल्लाले नेपाली जनजीवनलाई अर्कै किसिमले कम्पयमान बन्यो । भूकम्पले विनाशलीलाले मच्चाएर जनजीवन त्रस्त भएको बेलामा अझ ठूलो भूकम्प आउँदैछ भन्ने हल्ला मच्चियो । हल्ला डढेलोको आगोसरी फैलियो । हल्ला  ‘भाइरल’ बन्यो । यसलाई निस्तेज पार्न जिम्मेवार निकायले हल्लाको पछि नलाग्न सूचना प्रवाह गर्नुपर्ने अवस्था आयो ।

पीडाको आहलमा डुबेका नागरिकलाई सान्त्वना दिनुपर्नेमा थप आतङ्क थप्नेहरूप्रति जनआक्रोश चुलिँदै गयो । जनआक्रोश बढ्दै गएपछि त्यस्तो कुकृत्य मच्चाउने व्यक्तिहरूको खोजी हुन थाल्यो । तीमध्ये केही समातिए । एकजनाले त आक्रोशित नागरिकबाट रामधुलाई भेटेछन् । रोचक कुरा के थियो भने समातिनेमध्येमा अनलाइन पत्रकारहरू पनि थिए । सही समयमा सही सूचना प्रवाह गरेर नागरिकलाई सुसूचित तुल्याउने जिम्मेवारी पाएका पत्रकारबाटै यस्तो हुनु आफैंमा लज्जास्पद कार्य थियो । प्रहरीले सार्वजनिक गरेको दुईजना आरोपीको तस्बिर एकजना रेडियो पत्रकारले ‘ट्वीटर’ मा पोष्ट गरिन् । उनले ‘ट्वीटर’ मा आक्रोश पोखिन्, ‘फाँसी दिनुपर्ने यी दुष्टलाई ।’

लोभीपापी मनस्थितिबाट निर्देशितहरूका आचरण नै बेग्लै । समाचार आयो, भारतबाट आएको राहत सामग्री व्यापारीको गोदाममा पुग्यो । त्यस्तै अर्को समाचार आयो, राहतस्वरूप आएको त्रिपाल व्यापारीको हातमा पुग्यो र त्यसलाई लाजै नमानी बिक्री गरियो । इमानजमान नै स्वार्थको बन्धक बनेपछि यस्तै निर्लज्ज देख्नुपर्ने र सुन्नुपर्ने हुन्छ । भूकम्पले इमानजमान हराएको समाचार सतहमा ल्याइदियो ।

***

सञ्चार माध्यमले नेपालको भूकम्पबारेका थुप्रै समाचार प्रकाशन/प्रसारण गरे । ती समाचारमाध्ये एउटा थियो, भूकम्प आएको तीन दिनपछि घरको भग्नावशेषबाट एक महिलाबारे । घरको गर्भबाट निकालिएकी ती महिलाले आफ्नो गर्भबाट एक बालिकालाई जन्म दिइन् । उनको नाम राखियो, भुइँचालो । हालका दिनहरूमा नयाँ घटनाक्रमलाई समेटेर नाम चलन बढेको छ । यही चलनको नवीनतम् दृष्टान्त बनिन्, नवजात शिशु ‘भुइँचालो’ ।

भूकम्पको समयमा ‘नागरिक पत्रकारिता’ ले अतुलनीय भूमिका खेल्यो । भूकम्प पीडितहरूको तस्बिर सार्वजनिक गर्ने, पल पलमा क्षतिको विवरण जनसमक्ष ल्याउने, पीडितले राहत पाए–नपाएकोबारे रखबारी र पहरेदारी गर्ने, बढी भाडा लिने सवारी साधनको नम्बर प्लेट देखिने तस्बिर गरी तस्बिर पोष्ट गर्ने, महङ्गोमा सामान बेच्ने व्यापारीको कर्तुत सार्वजनिक गर्नेजस्ता लोकहितैषी काम ‘नागरिक पत्रकारिता’ ले गर्यो ।

कतिपय अवस्थामा त मूलधारका सञ्चार माध्यमभन्दा अगाडि देखियो, ‘नागरिक पत्रकारिता’ । विपतको घडीमा मूलतः ‘फेसबुक’ र ‘ट्वीटर’ मार्फत भएका ‘नागरिक पत्रकारिता’ ले लगाएको गुन प्रशंसायोग्य ठहरियो । धन्य छ, चौबीसै घण्टा आँखा झिमिक्कसम्म नगरी पहरेदारी गर्ने 'सोसल मिडिया' ।

नेपालको भूकम्पबारे रिपोर्टिङ गर्न भारतीय टेलिभिजन च्यानलका संवाददाताहरू नेपाल भित्रिए । भूकम्पले पारेको प्रभावबारे रिपोर्टिङ गरेर उनीहरूले राम्रै गुन लाए भन्नुपर्छ । यति हुँदाहुँदै पनि ‘प्यारासुट जर्नलिष्ट’ का रूपमा नेपाल भित्रिएका उनीहरूको रिपोर्टिङमा अफवाह फैलाउन काम पनि गरे । उनीहरू पाकिस्तानले नेपाललाई पठाएको राहत सामग्रीमा ‘बिफ मसला’ पनि समावेश थियो भनेर उनीहरूले रिपोर्टिङ गरे ।
यसबारे पाकिस्तानले तत्कालै प्रेस विज्ञप्ति जारी गरेर आफूविरुद्ध अफवाह फैलाएर बद्नाम गर्ने प्रयास भनी समाचारको खण्डन गर्‍यो । रिपोर्टिङका क्रममा भारतीय समाचार च्यानलहरूले मानवीय सम्वेदनालाई ख्याल नगरेको र विषयवस्तुलाई अतिरञ्जनापूर्ण ढङ्गले प्रस्तुत गरेको आरोप पनि लाग्यो ।

 नेपाली बुद्धिजीवीहरूले भारतीय सञ्चार माध्यमको यसप्रकारको रवैयाको विरोध गरे । यसमा कलाकारहरू पनि मिसिए । ती कलाकारले साङ्केतिक रूपमा विरोध प्रदर्शन नै गरे । सामाजिक सञ्जालहरू भारतीय समाचार च्यानलहरू आलोचनाको विषय बने । नेपाली नागरिक भारतीय समाचार च्यानलहरूप्रति आक्रोशित भएको समाचार बीबीसी र सीएनएनका वेबसाइटमा पनि आए ।

त्यही बेला नेपालीहरू उग्रराष्ट्रवादी बनेको र भारतीय समाचार च्यानलको विरोध गरिरहँदा नेपाली सञ्चार माध्यमको कमजोरीबारे आँखा चिम्लिएको आवाज केही नेपालीले  झिनो स्वरमा भए पनि उठाए । यद्यपि मिडिया सधैँभरि निरपेक्ष र निर्विवाद रहन सक्दैन । मिडियाको मर्म र धर्मबारेको बहस अनन्त रूपमा चलिरहन सक्छ ।

***

विपत्तिमा मानिसको सही पहिचान हुन्छ । यस राष्ट्रिय विपतको घडीमा कसले नायकको भूमिका खेल्यो, कसले खलनायकको व्यवहार देखायो भन्ने प्रष्ट भयो । कसले मानवीय व्यवहार देखायो र कसले दानवीय प्रवृत्ति अपनायो, त्यो पनि प्रष्ट भयो । समग्रमा भन्दा भूकम्पले नेपाली समाजमा विद्यमान तीतो र मीठो दुवै पक्षलाई उजागर गरिदियो ।

पृष्ठभूमिमा जेजस्ता दृश्य देखा परे पनि नेपाली मनको मानवीय भावनाले समाजलाई सर्लक्कै छोप्यो । समाजलाई विपत्तिले घेरा हालेको बेलामा नेपालीे भाइचारा फेरि एकपटक जुर्मुरायो । ‘जिउँदाको जन्ती, मर्दाको मलामी’ भन्ने भनाइको व्यवहारिक रूप देखापर्‍यो ।

स्वदेश तथा विदेशमा रहेका मनकारी नेपालीहरू भूकम्पपीडितका लागि राहत संकलनमा जुटे ।  उनीहरू मर्माहत मनहरूमा आशा र भरोसा पुनर्बहाली गर्न तल्लीन रहे । कतिपय अस्पतालले औषधोपचारको निःशुल्क व्यवस्था मिलाए । कतिपय होटलले बिचल्लीमा परेकाहरूलाई निःशुल्क दाल–भात उपलब्ध गराए । यही हो, हाम्रो भाइचाराको मर्म ।

यिनै हुन्, भूकम्पले नेपालमा ल्याएको केही सामाजिक प्रकम्पन र तरङ्गहरू । यसबाट नेपाली भाइचाराको परीक्षण गर्ने मौका मिल्यो । भूकम्पपछि देखापरेका यी सामाजिक प्रकम्पन र तरङ्गहरूले नेपाली जनजीवनको बदलिँदो तस्बिर प्रस्तुत गर्नुका साथै नेपालको सामाजिक नक्शा बदलिँदै गइरहेको छ भन्ने सन्देश पनि दिएका छन् ।

[साभार : राजधानी  (वैशाख २६, २०७२) पृ.९ । सामान्य परिमार्जन सहित ।]