Wednesday, March 25, 2020

सूचनाको भार

–यमबहादुर दुरा

मानिस सूचनाजीवी प्राणी हो । सूचनाबिना उसको जीवन चल्दैन । सामान्य किसानदेखि विज्ञान–प्रविधिका जटितलम् कार्यसम्पादनमा संलग्न व्यक्तिलगायत सबैलाई आ–आफ्नो पेशा–व्यवसाय अनुसारका सूचना आवश्यक पर्छ । सूचनाले नै जीवनलाई गतिशील र प्रगतिशील बनाउँछ ।

हवाइजहाज, रेलजस्ता यातायात प्रणाली; बैंक, फाइनान्स, सेयर कारोबारजस्ता आर्थिक क्षेत्र; युद्धग्रस्त क्षेत्रको सुरक्षा प्रणाली; अन्तरिक्ष मिसन आदि क्षेत्रमा पल–पलमा नयाँ सूचना आवश्यक पर्छ । यस्ता क्षेत्रमा ताजा सूचनाबिना एक पाइला पनि अघि बढ्न सकिँदैन । त्यसैले अहिलेको युगलाई ‘सूचनाको युग’ भनिएको हो ।
ग्राफिक्स : गुगल

विश्वमा एकातिर सूचना–प्रविधिको विकासको रफ्तार बढ्दो छ भने अर्कोतिर सूचनामा आधारित अर्थतन्त्रको आकार बढ्दो छ । विश्वविद्यालयहरू ज्ञान उत्पादन गर्ने केन्द्र हुन् । विश्वविद्याल, कलेजलगायलगायतका ज्ञान निर्माण गर्ने अर्थतन्त्र आजकल ज्ञान अर्थतन्त्र (नलेज इकोनमी) बाट परिचित छ । ज्ञान अर्थतन्त्रको आकार पनि बढ्दो छ ।

चलचित्र, ‘स्टेज सो’ लगायतका मनोरञ्जन उद्योग, डिजाइन, भाषा प्रशिक्षण, स्वास्थ्य सेवा आदिले निर्माण गरेको अर्थतन्त्र सेवा अर्थतन्त्र (सर्भिस इकोनमी) नामबाट परिचित छ ।'सेवा अर्थतन्त्र' लाई  उत्तरऔधोगिक समाजको  इञ्जिन  मानिएको छ । यसको आकार पनि निरन्तर भीमकाय बन्दै गएको छ ।

यसरी तमाम सूचनाले तय गरेको अर्थतन्त्रहरूको जालोबाट एउटा चुस्त–दुरुस्त आधुनिक समाज जन्मेको छ, जुन सूचना समाज (इनफर्मेसन सोसाइटी) ले चिनिन थालेको छ । समग्रमा भन्दा सूचनाले नै अहिलेको अर्थतन्त्रको इञ्जिनलाई चलयमान बनाइरहेको छ ।

सूचनाको अर्को पाटो पनि छ । सूचनाको प्रयोगबाट प्रगति गरिरहेको वर्तमान विश्व सूचनाकै कारण समस्यमा पर्न थालेको छ । कारण हो, सूचनाको अत्याधिक बोझ । मानिसमा पर्न गएको सूचनाको अत्याधिक बोझलाई बुझाउन अंग्रेजी शब्दावली ‘इन्फर्मेसन ओभरलोड’ प्रयोग भएको छ । मानिस आफूले दैनिक जीवनमा ‘ह्याण्डल’ गर्न सक्नेभन्दा बढी सूचनाबाट घेरिनु नै ‘इन्फर्मेसन ओभरलोड’ हो ।

‘इन्फर्मेसन ओभरलोड’ बारे उन्नाइसौँ शताब्दीतिर नै चिन्ता व्यक्त भएको पाइन्छ । जर्मनीका समाजशास्त्री जर्ज सिमल सन् (१८५८—१९१८), अमेरिकी सामाजिक मनोविद स्टान्ले मिलग्राम (१९३३—१९८४) आदि यस विषयमा चर्चा चलाएको अभिलेख देखिन्छ ।

तर, ‘इन्फर्मेसन ओभरलोड’ भन्ने शब्दावली कसले प्रयोग पहिलो पटक प्रयोग गर्नेबारे एकमत पाइन्न ।सामाजिक वैज्ञानिक बीएएम ग्रसले यो शब्दावली सबैभन्दा पहिले प्रयोगमा ल्याए र यसलाई अल्भिन टोफलरले आफ्नो विज्ञान–कथा ‘फ्युचर सक’ मार्फत  यसलाई लोकप्रिय बनाए भन्ने तर्क पनि भेटिन्छन् ।

जेहोस्, ‘इन्फर्मेसन ओभरलोड’ आधुनिक समाजमा सामान्य कुरा भएको छ । सूचनाको अत्याधिक बोझ वा भारको अवस्था बुझाउन ‘इन्फर्मेसन इक्सप्लोजन’, ‘इन्फर्मेसन एन्जाइटी’, ‘इन्फोबेसिटी’, ‘इन्फोक्सिकेसन’ जस्ता शब्दावली पनि प्रयोग भएको पाइन्छ । तर, ‘इन्फर्मेसन ओभरलोड’ बढी प्रचलित छ ।

‘इन्फर्मेसन ओभरलोड’ वर्तमान विश्वको मात्र समस्या हो भन्ने हामीलाई लाग्नसक्छ । यस्तो सोचाइ कसैले राखेको हो भने त्यो गलत हो । यो समस्या छापाखानाको विकाससँगै शुरु भएको मानिन्छ । जर्मनीका उद्यमी जोहानेस गुटेनवर्ग नामक व्यक्तिले सन् १४४० छापाखानाको विकास गरे । छापाखानाको विकास भएसँगै एउटा व्यक्तिले जीवनकालमा पढ्न सक्ने भन्दा सयौँ प्रति बढी पुस्तक छापिन थाले । यसले ‘इन्फर्मेसन ओभरलोड’ को अवस्था निम्त्यायो ।

त्यसपछि अखबार, रेडियो, टेलिभिजनजस्ता परम्परागत सञ्चारमाध्यमको विकासदेखि इन्टरनेटमा आधारित सोसल मिडिया (डिजिटल मिडिया) को युगसम्म आइपुग्दा यो समस्या चरम चुलीमा पुगेको छ । हिजोका दिनमा एउटा निश्चित वर्गमात्र प्रकाशक/प्रसारक बन्न पाइने खरेडीग्रस्त अवस्था रहेकोमा अहिलकोे डिजिटल युगले जो कोहीलाई पनि प्रकाशक र प्रसारक बन्न अवसर दिएको छ ।

यसरी अवस्थालाई विश्वप्रसिद्ध ‘टाइम’ म्यागजिनले सन् २००६ को वर्ष पुरुषको रूपमा हरेक सर्वसाधारण व्यक्ति अर्थात् तपाईँ (यु) लाई वर्ष व्यक्ति घोषण गरेको घटना अर्थपूर्ण छ । यो प्रसंग यहाँ पनि स्मरणीय हुन आउँछ ।

डिजिटल सञ्चार प्रणालीले हिजो निरीह अवस्थामा रहन विवश ठूलो समुदायलाई सबल तुल्याएको छ । साथसाथै, यसले अथाह सूचना उत्पादन गर्नमा योगदान दिएको छ । अहिले एउटा डिजिटल कपीलाई असीमित किसिमले कपी गर्न र वितरण गर्न सकिन्छ । यसले सूचनाको प्रवाह र विस्तारमा अतुलनीय योगदान दिएको छ ।

अहिले मानिस सूचनाको अथाह समुन्द्रमा डुबेको छ । एउटा व्यक्तिले सयौँ थरीका ‘लाइभ इन्फर्मेसन’ को सन्मुख भएर गुज्रन्छ । समयको सीमितता र सूचनाको भीमकाय आकारबीच तालमेल नमिल्दा उसले ती सूचनाको सही उपयोग गर्न पाउँदैन । अरू त कुरै छाडौँ, कतिपय अवस्थामा मानिस आफ्नो पेशा–व्यावसायसँग सीधा सरोकार राख्ने सूचना पनि ‘ह्याण्डल’ गर्न सक्दैन । अन्ततः ऊ ‘इन्फर्मेसन ओभरलोड’ को अवस्थामा पुग्छ ।

‘इन्फर्मेसन ओभरलोड’ ले मानिसमा नकारात्मक असर पार्छ । सन् १९४६ मा अमेरिकी समाजशास्त्रीद्वय पाउल लाजस्फेल्ड (सन् १९०१–१९७६) र रोबर्ट मोर्टन (सन् १९१०–२००३) ले आमसञ्चारको सिद्धान्तसम्बन्धी लेखमा ‘नार्कोटाइजिङ डिस्फङ्सन’ भन्ने शब्दावली प्रयोग गरेका थिए । यो शब्दावलीले मिडियाले प्रवाह गर्ने सूचनाको बाढीले निम्त्याउने किंकर्तव्यविमुढपूर्ण अवस्थालाई दर्साउँछ ।

ती दुई समाजशास्त्रीको तर्क छ— विभिन्न आमसञ्चार माध्यमले प्रवाह गरेका अथाह सूचनाले व्यक्तिलाई अक्क न बक्क बनाइदिन्छ, उसले कुन सूचना सही हो वा कुन गलत हो भन्ने पहिचान गर्न सक्दैन र अन्त्यमा किंकर्तव्यविमुढ बन्छ । उनीहरूको तर्कमा दम छ । अहिलेको अवस्था त्यस्तै छ ।

सूचनाको बाढीले हामीलाई किंकर्तव्यविमुढ बनाएको छ । त्यसमा पनि आशय गलत नहुँदा नहुँदा नहुँदै पनि सम्प्रेषण हुन गएका गलत सूचना (मिस्इन्फर्मेसन) र नियतवश सम्प्रेषण गलत सूचना (डिस्इन्फर्मेसन) ले निम्त्याएका जटिल परिस्थिति बेग्लै विश्लेषणको विषय हुनसक्छ ।

‘हार्वड विजनिस रिभ्यु’ म्यागजिनको अनलाइन संस्करणमा प्रकाशित एक लेखका अनुसार ‘इन्फर्मेसन ओभरलोड’ ले मानिसको निर्णय प्रक्रिया कमजोर बनाउने, मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्ने, महत्वपूर्ण सूचनालाई पनि सामान्यीकरण गर्ने, सिक्ने क्षमतामा सुस्त हुनेजस्ता समस्या पैदा हुने उल्लिखित छ ।

ब्ल्याक बेरीजस्ता मोबाइल सेटको उपलब्धता र नेटको सहज पहुँचले मानिसको व्यावसायिक जीवन र पारिवारिक जीवनको साँध भत्काइदिएको छ । डिजिटल सञ्चारले परिवारसँग बिताउने समय खोसिदिएको छ । घरमा बस्दा पनि अफिसको काम गर्नुपर्ने बाध्यतामा धेरै मानिस फँसेका छन् ।

अमेरिकामा गरिएको एक अध्ययन अनुसार त्यहाँका ६० प्रतिशत मानिस ट्वाइलेटमा र १५ प्रतिशतले चर्चमा इमेल चेक गर्छन् । अमेरिकामै गरिएको अर्को अध्ययन अनुसार अफिसमा इमेल चेक गरेर काममा फर्कन २५ मिनट लाग्छ । अनावश्यक इमेलले कार्यालय समयको २८ प्रतिशत हिस्सा गुम्छ । यो अवस्था व्यक्ति र संस्था दुवैका लागि पक्कै पनि सुखद होइन ।

‘इन्फर्मेसन ओभरलोड’ ले नेपालमा के कस्ता असर परेको छ ? यसको असरबारे कुनै अध्ययन भएको पाइँदैन । ‘इन्फर्मेसन ओभरलोड’ ले अमेरिकी अर्थतन्त्रमा वार्षिक ९ सय बिलियन अमेरिकी डलरको भार पर्ने गरेको अनुमान छ । सूचनाको चाप र भारले पार्ने असर र त्यसबाट जोगिने उपाय सुझाउनका लागि अमेरिकामा ‘इन्फर्मेसन ओभरलोड रिसर्च ग्रुप’ नामक संस्था स्थापना भइसकेको छ ।

‘इन्फर्मेसन ओभरलोड’ बच्नका लागि कुनै बनिबनाउ सूत्र छैन । त्यस्ता सूत्र भए पनि सबै व्यक्तिलाई सबै अवस्थामा व्यावहारिक नहुन सक्छ । यद्यपि, केही विज्ञहरूले आफ्ना निजी तथा संस्थागत जीवनका महत्वपूर्ण कामलाई कार्यसूचीको अग्रपंक्तिमा राख्ने, एकैचोटि धेरै काम (मल्टिटास्किङ) नगर्ने, उपयुक्त समयमा कामबाट ब्रेक लिनेजस्ता उपाय सुझाएका छन् । आफ्नो बुद्धि–विवेक सही प्रयोग गर्नु नै ‘इन्फर्मेसन ओभरलोड’ बाट छुटकारा पाउने एकमात्र भरपर्दो उपाय हो ।

[युवामञ्च । चैत २०७६ ।]

Sunday, March 22, 2020

कोरोना सङ्क्रमित अर्थतन्त्र


–यमबहादुर दुरा

दुनियाँ कोरोना भाइरस (कोभिड–१९) को आतङ्कले त्रस्त छ । विश्व स्वास्थ्य संगठनले मार्च १३ तारिखमा यसलाई विश्वव्यापी महामारी (पान्डेमिक) घोषणा गरिसकेको छ । विश्व स्वास्थ्य संगठनले नै नेपाललगायत दक्षिणपूर्वी एशियामा कोरोना भाइरस फैलन  सक्नेतर्फ  सचेत तुल्याएको छ ।

कोरोना भाइरसले निम्त्याएको स्वास्थ्यसम्बन्धी समस्या स्वाभाविक रूपमा गम्भीर र दुःखदायी छ । यसको अर्को पनि दुःखदायी पाटो छ । त्यो हो, आर्थिक पाटो । कोरोना भाइरसले दुनियाँको आर्थिक पाटोमा नकारात्मक असर पारिसकेको छ । यसले विश्व अर्थतन्त्रमा थप समस्या निम्त्याउँदै गएको छ । यसले विश्व अर्थतन्त्रमा कुन हदसम्म दुरगामी दुष्प्रभाव पार्ने हो, यसै भन्न कठिन छ ।

कोरोना भाइरसको प्रकोपका ठूलै मानवीय तथा आर्थिक मूल्य चुकाउनुपरेको छ । चीनलगायतका औधोगिक गतिविधिमा कमी आएकाले विश्वबजारमा तेलको मूल्यमा ६८ प्रतिशतसम्मको उच्च गिरावट छ । विश्वको सेयरबजार निरन्तर ओरालो लागेको छ । यी आर्थिक घटनाक्रमलाई कोरोना भाइरसले विश्व अर्थतन्त्रमा पारको दुष्प्रभावको सूचकको रूपमा लिन सकिन्छ ।

कोरोनाको विश्व भ्रमण बढ्दै जाँदा विभिन्न देशले जमिन र हवाइ गरी दुवै किसिमका ‘कनेक्टिभिटी’ बन्द गरिसकेका छन् । खुल्ला आवाज जावतको अवधारणामा चलेका कतिपय युरोपेली मुलुकले पनि एक अर्कासँग सम्पर्क विच्छेद गरेका छन् । विश्वका आवगमनमा आउनुको अर्थ विश्व अर्थतन्त्रमा शिथिलता आउनु पनि हो ।

कोरोना भाइरसको तीव्र विस्तारसँगै आवतजावतमा लगाइएको प्रतिबन्धले विश्व अर्थतन्त्रमा गम्भीर धक्का पुग्न गएको छ । यसले विश्व अर्थतन्त्रमा गर्ने क्षति सन् २००३ मा फैलिएको  सार्स संक्रमणको समयमा भएको क्षतिभन्दा कैयौँ गुणा बढी हुने प्रक्षेपण गर्न थालिएको छ ।

कोरोना भाइरसको प्रकोपले विश्व अर्थतन्त्रमा हालसम्म कति क्षति पुर्‍यायो भन्नेबारे आँकडा आउन थालेका छन् । ‘ब्लुम्बर्ग’ मिडियाले निकालेको एक आँकडा अनुसार कोरोना भाइरसका कारण अहिलेसम्म विश्व अर्थतन्त्रमा २ं.७ खर्ब अमेरिकी डलर बराबरको क्षति पुगेको छ । आउने समयमा यसको असर थप गम्भीर हुने सङ्केत देखिन्छ ।

कोरोना भाइरसले नेपालको अर्थतन्त्रमा कस्तो असर पार्दैछ ? आउँदा दिनमा यसको नतिजा के हुनेछ ? यसले देशको आर्थिक स्वास्थ्यलाई कसरी संक्रमित गर्दैछ ? यसबारे पनि चर्चा हुन थालेको छ । एशियाली विकास बैंकले कोरोना भाइरसको संक्रमण बढेमा नेपालको कुल गार्हस्थ उत्पादन ०.०४ प्रतिशत (१२.१२ मिलियन अमेरिकी डलर) सम्म खुम्चिने अनुमान गरेको छ ।

जगजाहेर नै छ, नेपालको अर्थतन्त्र मूलतः पर्यटन उद्योग र वैदेशिक रोजगारीमा निर्भर हुँदै गएको छ । यी दुवै तुलनात्मक रूपमा अस्थिर र जोखिमपूर्ण मानिन्छन् । कोरोनाको विश्वव्यापी महामारीले नेपालको पर्यटन उद्योग र वैदेशिक रोजगारीमा धावा बोल्न शुरु गरिसकेको छ ।

नेपाल सरकारले वैशाख १८ गतेसम्म ‘अन अराइभर’ भिसा बन्द गरिसकेकको छ । कोरोना भाइरसको फैलावटसँगै पर्यटकको आवगमन घट्दै गएको पर्यटन व्यावसायीहरूको बुझाइ थियो । अहिलेको परिस्थितिले स्वाभाविक रूपमा पर्यटकको आवगमनलाई  मत्थर पार्दै लगेको छ  । यो प्रतिकूल अवस्थाले २० लाख पर्यटक भित्र्याउने  लक्ष्यसहित शुरु गरिएको ‘नेपाल भ्रमण वर्ष २०२०’ त्यसै अलपत्र हुन पुगेको तथ्य सबै समक्ष छर्लङ्ग छ ।

कोरोना भाइरसले निम्त्याएको दुष्प्रभावको असर नेपालको पर्यटन उद्योगमा देखापरिसकेको छ । रोग सर्ने भयले यात्रा गर्ने क्रम घट्दो क्रममा छ ।  पर्यटन उद्योगसँग जोडिएका टुर अपरेटर, होटल–रेष्टुराँ, पथ प्रदर्शन, यातायात आदि क्षेत्रमा यसको दुष्प्रभाव पर्दै गएको समाचार आइरहेका छन् ।

सार्वजनिक जमघटका कार्यक्रम घट्न थालेका छन् । होटल बुकिङ धमाधम रद्द भएका छन् । टिकट बुकिङ र अन्य पर्यटकीय गतिविधि सुस्त हुन थालेका छन् । यससँगै भोलिका दिनमा आउने अनिष्ट सम्झेर पर्यटन उद्योगसँग जोडिएका कामदार तथा व्यावसायीहरू चिन्तामा डुब्न थालेका छन् ।

अर्कोतिर, कृषिमा निर्भर जनसंख्या क्रमिक रूपमा घट्दै गएको छ । अहिले ६५ प्रतिशत नागरिक कृषिमा निर्भर छन् । यसले देशको कुल गार्हस्थ उत्पादनमा ३१.७ प्रतिशत योगदान दिएको छ । कृषिमा निर्भरता घटैसँगै ग्रामीण जनसंख्या पातलिँदै र शहरी जनसंख्या बढ्दै गएको छ ।

यसको अर्थ हो, सुखभोगी जनसंख्या बढ्दै जानु । देशको उत्पादनमूलक व्यावसाय कमजोर हुँदै गएको देखिन्छ । हामी उत्पादनमुखी भन्दा पनि उपभोगमुखी बन्दै गएको छौँ । समृद्ध अर्थतन्त्रको उचित आधार तयार नहुँदै उपभोगमुखी हुनु आर्थिक स्वास्थ्यका दृष्टिले उपयुक्त प्रवृत्ति होइन ।

देशको अर्थतन्त्रलाई मजबुत बनाउन सघाउने युवा जनशक्ति वैदेशिक रोजगारीमा प्रवृत्ति प्रवृत्ति बढ्दै गएको छ । दैनिक १५ सय जति नेपाली युवा वैदेशिक रोजगारमा जाने गरेका आँकडाले एउटा भयानक तस्बिर प्रस्तुत गर्छ । देश निर्माणमा योगदान दिन सक्ने जनशक्ति काम र मामकै लागि मुगलान पस्नुपर्ने वाध्यताले राम्रो सन्देश दिँदैन ।

जे भए पनि वैदेशिक रोजगारीमा जाने चलन परम्परा नै बनिसक्यो । नेपाली समाज वैदेशिक रोजगारीमा अभ्यस्त हुँदै गइरहेको बेलामा कोरोना भाइरसको बढ्दो विस्तारले जटिलता निम्याएको छ । कतिपय रोजगारदाता देशहरूले नेपाली कामदार लिने काम पनि बन्द गरिसकेका छन् । यसबाट विदेशी भूमिमा पसिना बगाएर स्वदेशमा रेमिटयान्स पठाएर घरपरिवार पाल्ने धेरैको बिचल्ली हुने अवस्था आउन सक्छ ।

एशियाली विकास बैंकले गरेको एक अनुमान अनुसार कोरोना भाइरसले नेपाली अर्थतन्त्रलाई संक्रमण गरेमा पाँच हजारदेखि लगभग १५ हजार व्यक्तिले रोजगारी गुमाउने देखिन्छ । यद्यपि, यो अनुमान मात्र हो । कोरोना भाइरसको प्रकोपले अर्थतन्त्रमा पार्ने तमाम दुष्प्रभावको यथार्थ विवरण अहिले नै पेश गर्न गाह्रो छ ।

यसरी रोजागारी गुमाउनेमा पर्यटन उद्योग र वैदेशिक रोजगारीमा निर्भर व्यक्तिहरू नै पहिलो पंक्तिमा हुने अनुमान गर्न कठिन छैन । तर, यसको असर यतिमा मात्र सीमित रहने छैन । नाङ्लो पसलेदेखि डिपार्टमेन्ट स्टोरसम्म, भट्टी पसलेदेखि पाँचतारे होटल व्यावसायीसम्म, सारङ्गी रेटेर हिँड्ने गन्धर्वदेखि विविधतापूर्ण मनोरञ्जन उद्योगसम्म र ट्याक्सी ड्राइभरदेखि विमान कम्पनीसम्म यसको प्रत्यक्ष वा अप्रत्यक्ष दुष्प्रभावबाट बँच्न सक्ने देखिन्न ।

अहिलेको जटिल परिस्थितिले २०७२ सालको अघोषित भारतीय नाकाबन्दीको समयमा चलेको प्रसंग पुनः स्मरण गराएको छ । त्यसबेला नेपाली अर्थतन्त्रको आन्तरिक मजबुतीकरणको प्रसंग चर्कै चलेको थियो । तर, अवस्था सहज भएपछि त्यो प्रसंग त्यसै सेलायो । सङ्कटको घडीमा मात्र आदर्शपूर्ण सोचाइ आउने रोग हामीमा छँदैछ । त्यसको पुनरावृत्ति अहिले पनि भएको छ ।

कोरोना भाइरसको महामारीले निम्त्याएको निराशाको वातावरणलाई सच्याउने र जनमनमा आशा जगाउने कार्यक्रम ल्याउन आवश्यक छ । पर्यटन उद्योग र रेमिट्यान्ससँग क्रमिक रूपमा बढी निर्भर हुँदै गएको नेपाली अर्थतन्त्रको नयाँ क्षितिज उघार्न आवश्यक छ । अहिलेको विश्वव्यापी सङ्कटका समयमा नेपाली अर्थतन्त्रको आन्तरिक मजबुतीकरणका पक्षमा सोच्ने र व्यवहारमा उतार्ने अर्को मौका हो ।

[गोरखापत्र । २०७६ साल चैत ९ गते ।]




Friday, February 21, 2020

परम्परागत ज्ञानको पहिचान

–यमबहादुर दुरा

आधुनिक समाजले प्रगतिका तमाम फेहरिस्त पेश गरिरहेकै बेलामा मानव स्वास्थ्य स्वास्थ्यमा एकपछि अर्को गरी गम्भीर समस्या देखा पर्न थालेका छन् । यस्ता स्वास्थ्यसम्बन्धी समस्या आधुनिक जीवनशैलीसँग गाँसिएका छन् । सँगसँगै वातावरणीय समस्या पनि चुनौतीको पहाड भनेर उभिइरहेको छ । यो चुनौती पनि आधुनिक जीवनशैलीकै उपज हो ।
ग्राफिक्स गुगल

यस्ता भयानक समस्याका अगाडि विश्व समुदाय एक किसिमले निरीहझैं  देखिएको छ । कतिपय विज्ञले यी गम्भीर समस्या समाधानको उपाय परम्परागत ज्ञानमा रहेको विश्वास गर्छन् । यतिबेला धेरै विज्ञले परम्परागत ज्ञानको महत्व बोध गर्न थालेका छन् । अहिले परम्परागत ज्ञान दीनहीन अवस्थामा छ । यसलाई स्थानीय ज्ञान वा सामुदायिक ज्ञान पनि भनिन्छ । ती विज्ञले परम्परागत ज्ञानलाई मानव स्वास्थ्य र वातावरणमा आएका गम्भीर समस्यासँग जुध्ने उपायको रूपमा चित्रण गर्न थालेका छन् ।

विश्व बौद्धिक सम्पत्ति  सङ्गठन (विपो) ले परम्परागत ज्ञानलाई यसरी परिभाषित गरेको छ, ‘ज्ञान, व्यावहारिक ज्ञान, सीप र अभ्यास नै परम्परागत ज्ञान हो, जुन समुदायभित्र विकसित–सम्वर्द्धित  हुँदै एउटा पुस्ताबाट अर्को पुस्ता हस्तान्तरित हुँदै आएको छ । यसले मानिसको संस्कृति र आध्यात्मिक पहिचान पनि निर्माण गर्छ ।’
संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का अनुसार विश्वभरका आदिवासी जनजाति र स्थानीय समुदायले प्रयोगमा ल्याएका ज्ञान, नयाँ कार्य र व्यवहार नै परम्परागत ज्ञान हो । परम्परागत ज्ञान शताब्दीऔ लामो अनुभवबाट निर्मित हुन्छ, जसलाई स्थानीय संस्कृति र परिवेशले आत्मासात गर्छ । यो एउटा पुस्ताबाट अर्को पुस्तामा मौखिक रूपमा सर्छ । यस अन्तर्गत कथा, गीत, लोकसाहित्य, उखान, सांस्कृतिक मान्यता, विश्वास, सामुदायिक कानुन, स्थानीय भाषा तथा कृषिसम्बन्धी अभ्यासहरू पर्छन् । यसमा बोट–विरुवा हुर्काउने विधि तथा पशु व्यवस्थापन पनि पर्छन् । परम्परागत ज्ञान व्यावहारिक प्रकृतिको हुन्छ, जसमा माछापालन, स्वास्थ्य, बगैचा, वन तथा वातारवरण व्यवस्थापनलगायतका ज्ञान पर्छन् ।

पुस्तौं पुस्ताको अनुभवबाट खारिएर आएको हुनाले यसलाई स्वास्थ्यमैत्री र वातावरणमैत्री ज्ञान मानिएको छ । औषधि विज्ञान, खाद्यसुरक्षा, बीउ रक्षा, वन–वातावरण संरक्षणलगायत प्राकृतिक संशाधन व्यवस्थापनजस्ता मानव जीवन र प्रकृतिसँग जोडिएका तमाम विषयमा परम्परागत ज्ञान उपयोगी मानिएको छ ।

विश्वमा देखापरेको वातावरणीय समस्याको पृष्ठभूमिमा परम्परागत ज्ञानको महत्व झल्कन पुगेको देखिन्छ । परम्परागत ज्ञानको अस्तित्वलाई पहिचान गर्ने दिशाको औपचारिक पाइला सन् १९८० को दशकदेखि शुरु भएको देखिन्छ ।

सन् १९८३ मा संयुक्त राष्ट्रसङ्घीय महासभाले वातावरणीय समस्यालाई पहिचान गरी प्रस्ताव नं. ३८/१६१ पारित गर्‍यो । सोही वर्ष नर्वेजिय राजनीतिज्ञ ग्रु हार्मेल ब्रुंडल्याण्डको नेतृत्वमा ‘वातावरण र विकासका लागि विश्व आयोग’ गठन भयो ।

पछि आएर आएर त्यो आयोग ब्रुंडल्याण्ड कमिसन  नामबाट परिचित हुन पुग्यो  । विश्वको बिग्रँदो वातावरणीय समस्याबाट आदिवासी जनजातिलगायत स्थानीय समुदायमा परेको आर्थिक तथा सामाजिक अध्ययन गर्नु नै त्यस कमिसनको काम थियो ।

आदिवासी जनजातिलगायत स्थानीय समुदायको सामूहिक मानव अधिकार, स्थानीय अधिकार र आकाङ्क्षालाई स्वीकार गर्दै ब्रुंडल्याण्ड कमिसनले सन् १९८७ मा ‘हाम्रो साझा भविष्य’ शीर्षकमा प्रतिवेदन पेश गर्‍यो ।

‘ब्रुंडल्याण्डका रिपोर्ट’ यो प्रतिवेदन निकै चर्चित रह्यो । ‘दीगो विकास’ भन्ने शब्दावली पनि पहिलो पटक त्यही प्रतिवेदनमा प्रयोग भएको थियो । प्रतिवेदनले आदिवासी जनजातिबारे कार्यदल गठन गर्न पनि सिफारिस पनि गर्‍यो ।

सोही प्रतिवेदनको भावना अनुरूप सन् १९८९ मा अन्तर्राष्ट्रिय श्रम सङ्गठनले आदिवासी जनजातिहरूको सामूहिक अधिकार (आइएलओ १६९) पारित गर्‍यो। अहिले नेपाल पनि यो अभिसन्धिको पक्षराष्ट्र बनिसकेको छ ।

यी सबै चरण र प्रक्रियामा कुनै न कुनै रूपमा परम्परागत ज्ञानलाई स्थान दिइएको छ ।
सन् १९९२ मा ब्राजिलको राजधानी रियो जेनेरियोमा सम्पन्न अन्तर्राष्ट्रिय वातावरण सम्मेलनले सामूहिक अधिकारको महत्वलाई आत्मासात गर्‍यो । सोही वर्ष सम्पन्न जैविक विविधतासम्बन्धी सम्मेलनले विभिन्न प्रजाति, इकोसिस्टम र भूस्वरूप बचाउन परम्परागत ज्ञानको महत्वलाई आत्मासात गर्‍यो ।

सन् १९९६ मा ब्युनस आयर्समा सम्पन्न जैविक विविधतासम्बन्धी सम्मेलनले स्थानीय ज्ञानको सान्दर्भिकतालाई जोड दियो । यसले स्थानीय समुदाय र आदिवासी जनजातिलाई आफ्नो क्षेत्रको जैविक विविधताको देखभाल गर्न दिन सम्बन्धित सरकारहरूलाई आग्रह गर्‍यो ।

सन् १९९९ मा विश्व व्यापार सङ्गठनले व्यापारसँग जोडिएको बौद्धिक सम्पदाको सम्मान गर्न जोड दियो । त्यही वर्ष विश्व बौद्धिक सम्पत्ति सङ्गठनले सङ्गीत र परम्परागत डिजाइनबारे ‘फ्याक्ट फाइन्डिङ मिसन’ गठन गर्‍यो । यसैगरी, यसले बौद्धिक सम्पत्ति, आनुवांशिक संशाधन, जैविक विविधता, लोकसाहित्य र परम्परागत ज्ञानको अन्तरसम्बन्ध विभिन्न समयमा अध्ययन–अनुसन्धान अघि बढायो ।

यसैगरी, सन् २००७ मा संयुक्त राष्ट्रसङ्घले आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय घोषणापत्र जारी गर्‍यो । सन् २०१४ मा अनुवांशिक संशाधन संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि ‘नागोया प्रोटोकल’ सम्पन्न भयो ।

यी तमाम अन्तर्राष्ट्रिय सम्मलेन तथा अभिसन्धिका कागजातले परम्परागत ज्ञानको महत्वलाई उच्च स्थान दिएको पाइन्छ । आधुनिक रूप–रङ्गले भरिपूर्ण पश्चिमा विज्ञानले प्रभुत्व जमाउनु अघि विश्वका विभिन्न समुदायबीच परम्परागत ज्ञान  जीवन जिउने ज्ञान थियो । कतिपय ठाउँमा आज पनि प्रचलनमा छ । अहिले यसको अस्तित्व स्वतन्त्र सङ्कटमा छ ।

आधुनिक जीवनशैलीको चमकधमकले पूरै ओझेलमा परेजस्तो देखिए पनि परम्परागत ज्ञान सान्दर्भिकता र औचित्य मरिसकेको छैन । यसको संरक्षण र सम्वर्द्धन  गरी यसलाई जीवन चलाउने सफ्टवेयरका रूपमा गर्न आवश्यक छ । यसले हामी सबैको लागि समझदारी र सुझबुझ अपेक्षा गरेको छ ।

[लोकसंवाद । २०७६ साल फागुन ९ गते ।]

Wednesday, February 19, 2020

परम्परागत ज्ञानको दायरा

–यमबहादुर दुरा

‘अहिलेको सागमा न वास्ना छ, न त स्वाद छ । घिरौंलाको हालत पनि त्यस्तै छ - न वास्ना, न त स्वाद नै । पहिले पहिले घरमा साग पाकेको बाटोबाटै थाहा हुन्थ्यो । धारामा साग धुँदा रागले आँखा पोल्थ्यो । आजकल पुरानो वास्ना र स्वाद बाँकी नै छैन । के भएको यस्तो ?’ पुराना पुस्ताका मानिसबाट यस्ता टीका टिप्पणी बेलाबेला बखतमा सुनिन्छन् ।

साँच्चै, हिजोको स्वादिष्ट सागसब्जीको सुस्वादुपन कसले खोस्यो ? हाम्रो मनमा प्रश्न उब्जिन्छ । यसको सीधा गणित हाम्रो फेरिँदो जीवनशैली र अन्धाधुन्ध आधुनिकीकरणसँग जोडिएको छ । हामीले विकासको नाममा लहजबाजीका पछि लाग्यौँ । परम्परागत ज्ञानलाई त्याग्यौँ । रैथाने बीजबिजनलाई हेँला गर्‍यौँ। त्यसको ठाउँमा आधुनिक वर्णशंकर (हाइब्रिज) बीउबिजन ल्यायौँ । त्यसबाट पर्ने असरबारे ख्याल गरेनौँ । हाइब्रिज बीउबिजनबाट उत्पादित सागसब्जी हेर्दा सर्लक्क परेको देखिए पनि त्यसमा भनेजस्तो स्वाद छैन ।
ग्राफिक्स : गुगल

अहिले आएर हामीलाई रैथाने बीजबिजनको महत्वबोध भएको छ । तर, ती रैथाने बीजबिजन हामीबाट धेरै पर पुगिसकेका छन् । अब खोजेर पनि पाइने अवस्थामा छैन । सागसब्जीको कुरामात्र होइन, जनजीवनका अन्य आयाम आधुनिकताको अन्धानुकरणबाट संक्रमित हुन पुगेको छ ।

परम्परागत ज्ञानलाई नचिन्दा र त्यसलाई सम्मान गर्न नजान्दा रैथाने सागसब्जी हराए । अहिले हामीले चीज त पाएका छौँ तर त्यसको स्वाद र पोषण तत्व गुमाएका छौँ । परम्परागत ज्ञान, सीप र प्रविधिको कदर गर्न नजान्दा हामीले महत्वपूर्ण चीज गुमाएका छौँ र यो क्रम जारी छ ।

यस्ता प्रसंगले हामीलाई परम्परागत ज्ञानको महत्व सम्झनलाई बाध्य तुल्याएको छ । त्यसो भए के हो, परम्परागत ज्ञान ? यसले विभिन्न किसिमले परिभाषित गर्न सकिन्छ । ‘जैविक विविधतासम्बन्धी अभिसन्धि’ को सचिवालयद्वारा सञ्चालित वेबसाइटमा परम्परागत ज्ञानको परिभाषा दिएको छ । त्यस परिभाषाको भावानुवाद यसप्रकार छ :

‘विश्वभरका स्थानीय समुदायको ज्ञान, नयाँ आविष्कार, अभ्यास आदिलाई परम्परागत ज्ञान भनिन्छ । शताब्दीऔं अघिदेखिको अभ्यास र अनुभवबाट परम्परागत ज्ञान निर्माण हुन्छ, जुन मूलतः मौखिक रूपमा एका पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुन्छ । परम्परागत ज्ञानको स्वामित्व सामूहिक प्रकृतिको हुन्छ । परम्परागत ज्ञान  कथा, उखान–टुक्का, सांस्कृतिक मूल्य–मान्यता, विश्वास प्रणाली, रीतभाँत, प्रथाजनित कानुन, स्थानीय भाषा, कृषि कार्य, विरुवा रोप्ने–हुर्काउने विधि र घरेलु जनवारको प्रजननसँग सम्बन्धित प्रणालीमा रहन्छ । यसमा हजारौं वर्षदेखिका अभ्यास कामय रहन्छन् । परम्परागत ज्ञान कृषि, माछा पालन, स्वास्थ्य, बगैँचा तथा वन व्यवस्थापन, वातावरण संरक्षणजस्ता विषयसँग सम्बन्धित व्यावहारिक ज्ञान हुन् ।’

परम्परागत ज्ञान युगौंको प्रयोग, अनुभव र परीक्षणमा आधारित हुन्छ । एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको परम्परागतको इतिहास लामो हुन्छ । समयको कसीमा खरो उत्रिएकाले यसको उपयोगिताको दायरा पनि निकै व्यापक हुन्छ । परम्परागत ज्ञान सांस्कृतिक दृष्टिले समृद्ध र वातावरणीय दृष्टिले हितकर मानिन्छ । यसको महत्व अपरिमित छ ।

अहिले केमिकलयुक्त ‘प्रसेस्ड फुड’ ले मानव स्वाथ्यमा पारेको असरबारे चर्चा छ । खेतीपातीमा प्रयोग हुने कीटनाशकले मानव स्वास्थ, समग्र चराचर र वातावरणमा नकारात्मक असर परेकोमा सचेत विश्व समुदाय चिन्तित छ । आधुनिक जीवनशैलीले निम्त्याएको नकारात्मक असरले परम्परागत ज्ञानको महत्व बढाएको छ । अहिले यसको महत्व बढेर गएको छ ।

ग्रामीण भेग वा वन क्षेत्रमा बसोबास गर्ने समुदायका लागि मात्र होइन, आधुनिक उद्योग तथा परिमार्जित कृषि प्रणालीमा पनि परम्परागत ज्ञानको महत्व उत्तिकै उच्च छ । दीगो विकास, जमिन व्यवस्थापन, मेडिकल रिसर्च, जैविक विविधता संरक्षण, प्राकृतिक स्रोत–साधनको व्यवस्थापनजस्ता विषयमा पनि परम्परागत ज्ञानको खाँचो महसूस गर्न थालिएको छ । यतिमात्र होइन, जलवायु परिवर्तनले निम्त्याएका जटिल समस्यासँग जुध्नका लागि पनि परम्परागत ज्ञानलाई एउटा भरपर्दो उपायको रूपमा लिन थालिएको छ ।

संयुक्त राष्ट्रसङ्घले पनि परम्परागत ज्ञानलाई स्थान दिएको छ । आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय घोषणापत्र, २००७ को धारा ३१ ले आदिवासी जनजातिहरूको परम्परागत ज्ञान संरक्षणलाई जोड दिएको छ । ‘जैविक विविधतासम्बन्धी अभिसन्धि, १९९३ को धारा ८ ले आदिवासी जनजाति र स्थानीय समुदायको परम्परागत ज्ञानसँगको घनिष्ट नातालाई सम्मान गरेको छ । साथै, परम्परागत ज्ञानले जैविक विविधता जोगाउनका लागि दिएको योगदानलाई कदर गरेको छ ।

अनुवांशिक संशाधन संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि ‘नागोया प्रोटोकल, २०१४’ ले परम्परागत ज्ञानलाई उच्च स्थान दिएको छ । विश्व बौद्धिक सम्पत्ति संगठनले पनि परम्परागत ज्ञानलाई महत्व दिएको छ । संगठनको महासभाले सन् २००५ मा स्वेच्छिक कोष स्थापना गर्ने निर्णय गर्‍यो । यस अन्तर्गत परम्परागत ज्ञान र लोकसाहित्यलाई संरक्षण गतिविधि सञ्चालन भएका छन् । अहिले दीगो विकासका तमाम मामिलासँग परम्परागत ज्ञान जोडिन थालेका छन् ।

विश्वका सानो बौद्धिक जमातले परम्परागतलाई उच्च स्थान दिए पनि यसको अवस्था सन्तोषजनक छैन । परम्परागत अप्रकाशित ज्ञान अप्रकाशित अवस्थामा छ । यसबारे जनचेतनाको स्तर कमजोर छ । परम्परागत ज्ञान संरक्षणको इतिहास कमजोर छ । पुराना पुस्ताबाट नयाँ पुस्तामा ज्ञान हस्तान्तरण हुन सकेको छैन । परिणामस्वरूप कतिपय परम्परागत ज्ञान हराइसकेका छन् । भएका पनि  हराउने क्रममा छ । पश्चिमा विज्ञानका अगाडि ‘इथ्नोसाइन्स’ र परम्परागत ज्ञान फिकाझैं देखिएको छ ।

परम्परागत ज्ञानको कुरा गर्दा हामी पुरानो जमानातिर फर्कनुपर्छ भन्ने अर्थ लाग्न सक्छ । कुरा त्यसो होइन । परम्परागत ज्ञान कुनै बेग्लै ज्ञानपिण्ड होइन । यो पनि एउटा गतिशील ज्ञानपिण्ड नै हो । परम्परागत ज्ञानमा पनि परिमार्जन हुन सक्छ, जसमा आवश्यकता अनुसार आधुनिक ज्ञानपद्धतिलाई समेट्न सकिन्छ । कतिपय अवस्थामा परम्परागत ज्ञान र आधुनिक ज्ञानलाई सँगै अघि बढाउन सकिन्छ ।

दीगो र वातावरणमैत्री विकासका लागि परम्परागत ज्ञान अपरिहार्य छ । यसलाई पाठ्यक्रममा समावेश गरेर नयाँ पुस्तालाई यसबारे सचेत र जानकार बनाउन आवश्यक छ । परम्परागत ज्ञान संरक्षणका लागि स्थानीय समुदायसँग सहकार्य गर्न आवश्यक छ । परम्परागत ज्ञानलाई संरक्षण–सम्वर्धन गर्न र यसबाट फाइदा लिन सरकार र स्थानीय समुदायको साझा प्रयास अत्यावश्यक छ  ।

[संवाद नेपाल । २०७६ साल फागुन ७ गते ।]

Tuesday, January 14, 2020

साझा फूलबारीका फूल



-यमबहादुर दुरा

बाइसे–चौबीसे राज्यमा विभक्त नेपाललाई एकीकरण गरेको विशद् चर्चा भइरहँदा एउटा महत्वपूर्ण पक्ष सधैँ ओझेलमा पर्दै आएको छ । त्यो पक्ष हो– एकीकरण अभियानलाई सघाउने जनस्तरका हितैषी । घडीका कलपुर्जाजस्ता साना, तर चल्ताफुर्ता नागरिकका योगदानविना बहादुर पृथ्वीनारायण शाहका सौर्यगाथा लेखिने थिएन ।

पृथ्वीनारायण शाहका पछाडि कस्ता कलपुर्जा वा संयन्त्र सक्रिय थिए, जसले नेपाललाई एउटै सूत्रमा बाँध्ने पृथ्वीनारायण शाहका सपना साकार पार्न सघाए भन्नेबारे बिरलै चर्चा हुन्छ । आफूभित्रको स–साना पुर्जा रिठ्ठो नबिराई अविराम चलयमान हुँदा घडीले जीवन पाउँछ । त्यस्तै, जनस्तरका नागरिकको साथ–सहयोगविना पृथ्वीनारायण शाहको अभियान सम्भव थिएन ।

इतिहासका बाछिटालाई एकठ्ठा गरेर हेर्दा जनस्तरका नागरिकले पृथ्वीनारायण शाहलाई अनेक किसिमले साथ दिएको भेटिन्छ । तर, तिनका बारेमा हुनुपर्नेजति अभिलेखीकरण नभएकाले उनीहरूको इतिहास विलुप्तप्रायः छ ।

पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा जोडिन आउने एउटा नाम हो, झगल गुरुङ । इतिहासकार उनलाई पृथ्वीनारायण शाहको सैन्य अभियानका मुख्य व्यक्तिमध्ये एक मान्छन् । नेपाल एकीकरण अभियानमा आइपरेका बाधा–अड्काउ फुकाउन र षड्यन्त्रलाई गर्भमै निस्तेज तुल्याउन उनले उल्लेखनीय योगदान गरेको चर्चा सुन्न पाइन्छ । 

तत्कालीन पहाडी राज्यमा गोरखा आर्थिक र सैन्यशक्तिका दृष्टिले कमजोर राज्य थियो भनेर धेरै इतिहासकारले उल्लेख गरेका छन् । गोरखा राज्य विस्तारका क्रममा आवश्यक हातहतियार खरिद गर्न अपुग रकम जोहो गर्न धौ–धौ भएको थियो ।

कोष नहुँदा पृथ्वीनारायण शाहको मनोबल ढलपल भएको अवस्थामा खर्च जोहो गर्नेबारे बिसे नगर्चीले सजिलो उपाय सुझाएका थिए । उनी पृथ्वीनारायण शाहका कटुवाल थिए । उनले पृथ्वीनारायण शाहलाई एक रुपैयाँ दाम चढाएर गोरखाका १२ हजार घरधुरीबाट यही दरले रकम उठाएमा हातहतियार किन्न मनग्य पुग्छ भनेर ढाडस दिएका थिए ।

अरूको भन्दा बिसे नगर्चीको चर्चा बढी भएको पाइन्छ । उनले गोरखा दरबारमा सिलाइबुनाइ गर्ने, नगरा बजाउने र पृथ्वीनारायण शाहको गोरखा राज्य विस्तारको अभियानमा गोरखाली फौजसँगै लडाइँमा नगरा बजाउन हिँड्ने गरेको देखिन्छ ।

पृथ्वीनारायण शाहले घरेलु हातहतियार बनाउने सीप भएका स्थानीय विश्वकर्मालाई पनि प्रयोग गरेको भेटिन्छ । हातहतियार निर्माणका लागि कच्चापदार्थ कहाँबाट ल्याइन्थे र हतियार निर्माणका क्रममा कुन विधि–प्रविधि प्रयोग हुन्थे भन्नेबारे नखुले पनि उनले स्थानीयस्तरमै उपलब्ध कालिगडको उपयोग गरेको पाइन्छ ।

पृथ्वीनारायण शाहले हतियार निर्माण कार्यमा सिपालु धार्ने कामीसहितका कामी कालिगड भर्ना गरेर युद्धका लागि आवश्यक धनुकाँड, तरबार, भाला, ढाल, खुँडा, खुकुरी बनाउन लगाएका थिए । सोमध्वज विष्टकृत ‘शाही सैनिक इतिहास’ मा यसबारे उल्लेख छ ।

बिसे नगर्चीसँगै मणिराज गाइने र बानादार दमाईको पनि नाम जोडिन आउँछ । पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा विजय हासिल भएका स्थानमा मणिराम गाइनेले विजयगाथा गाउँदै हिँड्थे । बिसे नगर्ची र बानादार दमाईले नगरा लगाउने काम गर्थे भन्ने भनाइ छ । गन्धर्व समुदायले नेपाल एकीकरणमा सघाएको देखिन्छ ।


नेपाल एकीकरणअघिदेखि नै राष्ट्र निर्माणको मूलमन्त्रलाई आत्मसात् गर्दै जनजनको दैलोमा पुगेर सन्देश उद्घोष गर्थे । गन्धर्वले बोकेको ऐतिहासिक बिरासतका दृष्टिले पनि पृथ्वीनारायण शाहले गन्धर्व समुदायलाई आफ्नो अभियानमा राम्रैसँग उपयोग गरेको अनुमान गर्न सकिन्छ । पृथ्वीनारायण शाहको अभियानलाई सांगीतिक दस्ताले सघाए पनि उनको संगीतप्रतिको नीति अलि फरक देखिन्छ । उनी गीत–संगीतप्रति उतिसारो उदार देखिँदैनन् ।

बाल्यकालमा उनलाई सांगीतिक रंग–रेशमबाट टाढै राखिएको इतिहासकारले उल्लेख गरेका छन् । मल्ल राजा र अन्य भुरेटाकुरे राजकुमार चाहिनेभन्दा बढी रस–रंगमा भुल्दा राजकाजमा नकारात्मक असर परेको पृथ्वीनारायण शाहका अभिभावकको बुझाइ थियो । यसबाट पाठ सिकेर उनलाई नाचगानको माहोलबाट टाढा राखिएको देखिन्छ । पृथ्वीनारायणको व्यक्तित्व निर्माणमा रानी चन्द्रप्रभाको नै मुख्य हात थियो । अरू चौबीसे राजकुमार ठाँटबाँट र भोगविलासद्वारा बिग्रने गरेको देखेकी चन्द्रप्रभाले यिनलाई नाचगान आदि विलासितादेखि टाढा राखिन् ।

यी तमाम कारणले पृथ्वीनारायण शाह रंगपरम्परा वा रागतानप्रति नरम देखिँदैनन् । उनले औपचारिक रूपमै रागतानको मोहमा नभुल्नू भनेका छन् । त्यसमा पनि उनी विदेशी संगीतप्रति बढी कठोर देखिन्छन् । ‘मलाई यवटा (एउटा) कुरोको सन्देह (शंका) लागिरहेछ, कुन्कुरो (कुन कुरो) भन्या मुग्लानानजिकै रहेछ, त्यस जग्गामा छोकडा (अल्लारे ठिटा) र पत्रिया (पातर्नी) रह्या छन् । चित्रकार भर्‍याका कोठामा ढोेलक सितारका रागतानमा भुल्नन् । रागतानमा बडो ठूलो मोह हुन्छ र दवलथ (दौलत) पनि षोलिन्छ (रित्तिन्छ) । देशको भेद पनि तिनैले लैजान्छन् र हरिपले (शत्रुले) दगा गर्छ । रागको अभ्यास पनि कसैले नगर्नू ।

तिन जातलाई पाहाड आम्फदरफ (आवतजावत) कसैले नषोल्नु (गर्न नदिनू) अथवा फागुलाई यक (एक) दुई दिन गरी झिकी चाँडै बिदा गराइदिनु र देशको भेद पनि पाउँदैनन् । आफ्ना स्वषसयेललाई (सुखसयल) ता शास्त्रबमोजिमको तिनै सहर नेपालको नेवारहरूको नाच झिकाई हेर्‍या पनि हुन्छ । इनमा त दियाको पनि आफ्नै देशमा रहन्छ । यस्व भया (यसो भए) आफ्नु देश पनि गमन (सुरक्षित) रहन्छ’– पृथ्वीनारायण शाहको दिव्योपदेशमा उल्लेख छ ।

पृथ्वीनारायण शाहले निर्धारण गरेको नीति यिनको देहान्तपछि छोरा बहादुर शाहको प्रशासनकाल नभएसम्म १८ वर्षजति कायमै रहिरह्यो, तर यिनको पदच्युतपछि राजभवन, विशिष्ट भारदारका महल, विलासिता तथा षड्यन्त्रका अखाडाका रूपमा परिणत भए । र, एक सय ५० वर्षको नेपाल अधिराज्यको सांस्कृतिक इतिहास लज्जाजनक अवस्थामा पुगेको पाइन्छ । संगीतप्रति फरक दृष्टिकोण राख्ने पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियानमा स्वदेशी रंगकर्मीलाई व्यापक रूपमा प्रयोग गरेको प्रमाण भेटिन्न ।

राष्ट्रिय कला एवं नाटकको विकास गर्ने प्रेरणा दिनका निम्ति उनले सालभरको नाच र गाना जाँची प्रथम ठहरेकालाई पुरस्कार दिने व्यवस्था गरेका थिए । नेपाल एकीकरण अभियानमा पृथ्वीनारायण शाहले सन्न्यासी जोगी र गाइनेलाई खबरदूतका रूपमा प्रयोग गरेका जनश्रुति छ । उनीहरूले युद्धका समयमा कसरी गोप्य सूचना संकलन गर्थे र कसरी सम्बन्धित निकायमा रिपोर्टिङ गर्थे भन्ने तथ्य अज्ञात छ । नेपालको हुलाक सेवा पृथ्वीनारायण शाहको मौलिक योगदान मानिन्छ । अभिलेख भन्छ– त्यस समयमा काठमाडौं, नुवाकोट, गोरखा र अन्य भागमा हुलाक सेवा सञ्चालनमा थिए ।

त्यसवेलाको हुलाक सेवा सर्वसाधारणको उपयोगका लागि थिएन । केवल सरकारी काजगात र मालताल ओसार्ने प्रयोजनका लागि हुलाक सेवा स्थापित भएको पाइन्छ । जनस्तरका अधिकांश नागरिक लेखपढ गर्न अक्षम रहेको त्यस समयमा हुलाक सेवा जनताका लागि आवश्यक नभएको पनि हुन सक्छ । त्यस समयमा ‘कागते हुलाक’ र ‘थाप्ले हुलाक’ गरी दुई थरीका हुलाक अस्तित्वमा रहेका थिए । ‘कागते हुलाक’ मार्फत  सरकारी कागजात ओसारिन्थे भने ‘थाप्ले हुलाक’ मार्फत सरकारी मालताल ओसारिन्थे । हुलाक सेवामा हुलाकीको रूपमा जनस्तरका विश्वासिला र गतिशील नागरिकले काम गरेका होलान् ।

जनस्तरका ती सहयोगीको कहीँ–कतै चर्चा पाइँदैन । लिखित दस्ताबेजलाई मात्र प्रमाण मान्ने इतिहास लेखन परम्पराले लोकस्मरणमा रहेका इतिहासका स्रोतलाई बेवास्ता गरेको देखिन्छ । यसबाट जनस्तरका नागरिकले निर्माण गरेको इतिहास तीव्र गतिमा मर्दै गएको छ । यसले रिक्ततापूर्ण वातावरण तयार भइरहेको छ ।

यस किसिमको रिक्तताले ज्ञान उत्पादन र इतिहास निर्माणमा सर्वसाधारण नागरिकले दिएका योगदानको इतिहास पनि मेटिँदै गएको छ । ज्ञान उत्पादन नै हुन नसकेपछि ऐतिहासिक विषयमाथि हुने विवेचना पनि स्वाभाविक रूपमा कमजोर हुन पुगेको छ । यसले नजानिँदो किसिमले नेपाली विद्वत् परम्परालाई नै क्षति गरिरहेको छ ।

[नयाँ पत्रिका । २०७६ साल पुस २८ गते ।]