Friday, July 17, 2020

पञ्चसुब्बा गुरुङ : ठाडो भाकाका एउटा विस्मृत हस्ती

–यमबहादुर दुरा

ठाडो भाका गण्डकी भेगको मौलिक पहिचान बन्न गएको छ । त्यस भेगको ढुकढुकी बनेको ठाडो भाकालाई लोकप्रियताको शिखरमा पुर्‍याउने कलाकारहरूमा देउबहादुर दुरा र पञ्चसुब्बा गुरुङको नाम अग्रपक्तिमा आउँछ । स्थानीयस्तरमा यी दुई प्रतिभाको नाम श्रद्धापूर्वक लिइन्छ । उहाँहरूको योगदानले ठाडो भाकाले लोकप्रियता कमाएको लोकगीतका अध्येताहरूको निष्कर्ष छ ।

ठाडो भाकाको कुरा गर्दा कर्पुटारको नाम नलिँदा अन्याय हुन्छ । कर्पुटार बजारले ठाडो भाका मौलाउने मलिलो उर्वर जमिन दियो । यही आधारमा कतिपयले ठाडो भाकालाई कर्पुटारे भाका पनि भन्ने गर्छन् । मादी नदीको किनारमा अवस्थित कर्पुटारमा शिवरात्रि र फागुपूर्णिमा ठूलो मेला लाग्छ, जहाँ लमजुङ, गोरखा, तनहूँ, कास्कीलगायतका जिल्लाबाट जनसमुदायको घुइँचो लाग्छ । त्यही घुइँचोमा हुने जमघटमा देउबहादुर दुरा केटा र पञ्चसुब्बा गुरुङ केटी बनेर ठाडो भाका गाउन शुरु गर्नुभयो । यो कुरा वि.सं. १९७० वरिपरिको हो ।
रबैडाँडा (कास्की) स्थित पञ्चसुब्बा गुरुङको घर ।

प्रश्न उठ्न सक्छ, केटा नै केटी बनेर गीत गाउनुपर्ने अवस्था किन आयो त ? त्यसबेला देउबहादुर दुराले विकास गर्नभएको ठाडो भाका नयाँ–नयाँ थियो, जुन नवीनम् शैली (जान्र) को रूपमा भर्खर–भर्खर विकास हुँदै थियो । गाउँघरका केटीहरू यो भाका गाउन त्यति अभ्यस्त भइसकेका थिएनन् । यस्तो अवस्थामा केटा नै केटी बनेर गाउनुपर्ने अवस्था थियो ।

यसरी शुरु भएको ठाडो भाकामा देउबहादुर दुरा र पञ्चसुब्बा गुरुङबीच प्रेमिल ठोलाबाजी हुन्थ्यो । एकले अर्कालाई गुलाबी क्षेण हन्थे । सुन्नेलाई निकै घत  पर्‍थ्यो । उहाँहरूले स्रोतागणलाई तीन छक पार्ने गरी गीत निकाल्नुहुन्थ्यो । यी दुईले मायामोह र शास्त्रको गीतमात्र होइन, फूलको प्रकार र माछाका प्रजातिबारे पनि अविराम गीत गाउन सक्थे भन्ने भनाइ संस्कृतिविद डा. जगमान गुरुङको छ ।

यी दुई प्रतिभाको घम्साघम्सीपूर्ण ठोलाबाजीबारे आज पनि गीत प्रचलित छ : ‘देउबहादुर दुरा र पञ्चसुब्बा गुरुङ, करापुरमा घमसान’ । जनजिब्रो झुण्डिएको यो बहुचर्चित गीत साङ्गीतिक इतिहासमा एउटा अध्याय बनेर गुञ्जिएको छ  ।

ठाडो भाकाको इतिहास कोट्याउँदा दुई सय वर्ष अघिसम्म पुग्नुपर्ने हुन्छ । बलेवा (पर्वत) का मनवीर खत्री र राङखानी (बाग्लुङ) का गोर्‍या श्रीस (वि.सं. १८५३-१९५०) ले वि.सं. १८७४ तिर झ्याउरे लयमा ‘सालैजो’ भाका शुरुवात गरेको र त्यसको परिमार्जित रूप ठाडो भाका भएको प्रसंग कालीभक्त पन्तले आफ्नो पुस्तक ‘हाम्रो सांस्कृतिक इतिहास’ मा उल्लेख गर्नुभएको छ । गीतकार चेतन कार्कीले आँधीखोले भाका, सालैजो भाका र कर्पुटारे भाका (ठाडो भाका) लाई भगिनी भाका मन्नुभएको छ ।

गीत-सङ्गीतको यही मेसोमा लमजुङ (बर्धान) का देउबहादुर दुरा र रबैडाँँडा (नयाँ कास्की) का पञ्चसुब्बा गुरुङबीच कर्पुटारमा भेट हुनु र यी दुईजना रौसे गायकको सत्प्रयासबाट ठाडो भाका लोकप्रियतको शिखर चढ्नु र उहाँहरूले बसालेको साङ्गीतिक परम्परा लोकगीतको एउटा विशिष्ट साङ्गीतिक शैलीको रूपमा स्थापित हुनुलाई लोकगीतको इतिहासमा एउटा अतिशय सुखद प्रसंग मान्न सकिन्छ ।

यो सुखद प्रसंग सँगसँगै दुखलाग्दो प्रसंग पनि जोडिन आउँछ । जनस्तरमा लोकप्रियताको शिखरमा पुगेर पनि यी दुई प्रतिभाको व्यक्तित्व र कृतित्वको न उचित अभिलेखीकरण हुन सक्यो, न त राष्ट्रले उनीहरूको योगदान र प्रतिभालाई राम्ररी चिन्न सक्यो । दुर्भाग्य नै भन्नुपर्छ, चर्चित भएर पनि देउबहादुर दुरा र पञ्चसुब्बा गुरुङ एक अर्थमा गुमनाम रहनुभयो ।

उहाँहरूका समकालीन गायक–गायिकाले राष्ट्रियस्तरमै राम्रो नाम कमाएको दृष्टान्त छ । उदाहरणका लागि मित्रसेन (वि.सं.१९५२–२००२), मेलवादेवी (वि.सं.१९५९–२०१२), उस्ताद साइलाजस्ता कलाकार देउबहादुर दुरा र पञ्चसुब्बा गुरुङकै समकालीन हुनुहुन्थ्यो । उहाँहरूको चर्चा धेरै माथि छ ।

देउबहादुर दुरा र पञ्चसुब्बा गुरुङबीच तुलना गर्ने हो भने पञ्चसुब्बा गुरुङको चर्चा कम सुनिन्छ । यसको अर्थ पञ्चसुब्बा गुरुङ कम प्रतिभाशाली हुनुहुन्थ्यो भन्ने होइन । ठाडो भाकाको श्रीवृद्धिमा पञ्चसुब्बा गुरुङको योगदान कम देखिन्न । यी दुई प्रतिभा जुम्ल्याहा सन्तानजस्ता देखिन्छन् । यस लेखमा मूलतः पञ्चसुब्बा गुरुङबारे केही उजागर गर्ने प्रयास गरिएको छ ।

लोकगायक कृष्ण गुरुङ र म २०७१ साल वैशाख ३ गते कास्कीको रबैडाँडा पुगेको थियौँ । हाम्रो उद्देश्य थियो, देउबहादुर दुरा र पञ्चसुब्बा गुरुङको साङ्गीतिक इतिहासबारे थप जानकारी सङ्कलन गर्ने । रबैडाँडास्थित पञ्चसुब्बा गुरुङको घरमा उहाँका बुहारी र नातिसँग भेट तथा वार्तालाप भयो ।
पञ्चसुब्बा गुरुङकी बुहारी कृष्णकुमारी  गुरुङ ।
 २०७६ साल चैतमा ८२ वर्षको उमरेमा उहाँको निधन भयो ।


वार्तालापका क्रममा पञ्चसुब्बा गुरुङबारे अहिलेसम्म बाहिर नआएका महत्वपूर्ण जानकारी प्राप्त भयो । पञ्चसुब्बा गुरुङको जन्म र मृत्युको तिथिमिति पत्ता लाग्यो । उहाँका नाति सोमप्रसाद गुरुङ (जन्मः वि.सं.२०२०) का अनुसार पञ्चसुब्बा गुरुङको जन्म १९४७ साल माघ २६ गते तथा मृत्यु २०३३ साल माघ १४ गते भएको हो ।

उमेरले उहाँ देउबहादुर दुराभन्दा जेठो देखिनुहुन्छ । देउबहादुर दुरा १९५४ सालमा जन्मेको मान्ने हो भने उहाँभन्दा पञ्चसुब्बा गुरुङ लगभग सात वर्ष जेठो देखिन्छ । देउबहादुर दुराभन्दा छिटो जन्मेर उहाँभन्दा धेरै समय यस पृथ्वीमा रहने शौभाग्य उहाँले पाउनुभयो ।

पञ्चसुब्बा गुरुङको घरमा ऐतिहासिक महत्त्वको एउटा सामूहिक सादा तस्बिर भेटियो । माउण्ट गरिएको तस्बिरमाथि कम्प्युटर टाइप गरेर कागजको लेबल टाँसिएको छ, जसमा पञ्चसुब्बा गुरुङ र देउबहादुर दुराको नाम उल्लिखित छ । त्यो तस्बिर २००४ साल फागुन ८ गते खिचिएको उल्लेख छ । तर, तस्बिर लेखिएको कुरामाथि शंका गर्ने ठाउँ छ । देउबहादुर दुरा १९९४ सालतिरै बितेकाले २००४ सालमा खिचिएको भनिएको त्यस तस्बिरमा देउबहादुर दुरा हुने कुरा सम्भव छैन ।
पञ्चसुब्बा गुरुङ तथा उहाँका साथीसंगीहरू ।

महिला र पुरुष गरी ९–१० जना रहेका उक्त तस्बिर एकदमै मधुरो छ । तस्बिरका मान्छे चिन्नै कठिन पर्छ । उहाँ होचो हुनुहुन्थ्यो भन्ने सर्वत्र चर्चा छ । उहाँका नाति सोमप्रसाद गुरुङले आफ्ना बाजे होचो कदको भएको बताउनुभएको थियो । लोकसाहित्यविद सत्यमोहन जोशीले २००२ सालमा पञ्चसुब्बा गुरुङलाई कर्पुटारमा भेटेको र उहाँ होचो कद भएको  व्यक्ति हुनुहुन्थ्यो भनेर पंक्तिकारलाई सुनाउनु्भएको थियो । पञ्चसुब्बा गुरुङको उचाइ झल्काउने एउटा गीत गाउँघरमा प्रचलित छ  :

 ‘लाहुरे गल्ला, पञ्चसुब्बा डल्ला, पुगेन इँचैमा’ ।

यी तमाम प्रमाणका आधारमा तस्बिरमा रहेका होचा व्यक्ति पञ्चसुब्बा गुरुङ हुनुहुन्थ्यो भन्ने निष्कर्ष निकाल्न सकिन्छ । त्यो तस्बिर कसले र कहाँ खिचेको हो भन्ने खुलेको छैन । जेहोस्, यो तस्बिरले लुकेर रहेको साङ्गीतिक इतिहास उजागर गर्न थोरै भए सहयोग गरेको छ ।

रबैडाँडा भ्रमणका क्रममा पञ्चसुब्बा गुरुङबारे अरू थप जानकारी पनि मिल्यो । पञ्चसुब्बा गुरुङको ससुराली तनहूँको ढोरफिर्दी कुरा पनि खुल्यो । उहाँको वंशवृक्षबारे आंशिक जानकारी प्राप्त भयो । प्राप्त जानकारी अनुसार उहाँको आमा चन्दा गुरुङ हुनुहुन्थ्यो भने पिता बिर्खबहादुर गुरुङ । उहाँका आफूसहित तीन दाजुभाइ हुनुहुन्थ्यो : जेठा उनी स्वयम्, माहिला सुबेदार गोलान्धार गुरुङ र कान्छा वीरजङ्ग गुरुङ ।

पञ्चसुब्बा गुरुङका एकमात्र छोरा नारायणसिंह गुरुङ राजनीतिक प्राणी हुनुहुन्थ्यो । गुरुङले दरबार हाइस्कुलबाट शिक्षा प्राप्त गर्नुभएको थियो । उहाँ के. आई. सिंहको दल खुकुरी दलमा आवद्ध हुनुहुन्थ्यो । २०१७ सालको राजनीतिक परिवर्तनपछि व्यवस्था उहाँ पञ्चायतमा सामेल हुनुभयो । उहाँ लमजुङका समाजसेवी तथा नेता श्रीकान्त अधिकारी (वि.सं. १९८४–२०६९) को समकालीन हुनुहुन्थ्यो । नारायणसिंह गुरुङको नाममा नारायण रबैडाँडामा प्रावि सञ्चालित छ ।

त्रिभुवन राजा भएको बेलामा पञ्चसुब्बा गुरुङ दरबारमा पुगेर गीत गाउनुभएको र प्रतिभा देखाएबापत उनले तक्मा र पुरस्कार पाउनुभएको सुनियो । तर, उहाँले प्राप्त गर्नुभएको त्यस्ता तक्मा र पुरस्कारे कुनै पनि त्यस्ता सामग्री भेटिएनन् । शायद, अभिलेखीकरणको अभावमा ती सामग्रीहरू हराएका हुन सक्छन् ।

पञ्चसुब्बा गुरुङको पहिलेको घर साबिकको मिजुरे गाविस–१, नागीधार हो । उहाँका परिवार उहाँ नौ वर्षको उमेरमा नागीधारबाट रबैडाँडा झरेको थियो । त्यसपछि उहाँ गाउँघरको साङ्गीतिक माहोलमा रमाउन थाल्नुभयो । उहाँका बुहारी कृष्णकुमारी गुरुङका अनुसार पञ्चसुब्बा गुरुङ कुनै बेला त १८ दिन जति गीतमा भुलेर घर आउनुहुन्थ्यो । घरमा आएपछि पनि निन्द्रा लागेन भनेर फेरि पनि गीतको खालको खोजीमा हिँड्नुहुन्थ्यो ।
पञ्चसुब्बा गुरुङका नाति सोमप्रसाद गुरुङ ।

कालीभक्त पन्तलाई उध्रृत गर्दै साहित्यकार कृष्णप्रसाद पराजुली (वि.सं.१९९२-२०७०) ले देउबहादुर दुरा र पञ्चसुब्बा गुरुङको साङ्गीतिक योगदान र भाव–भङ्गीबारे यस्तो वर्णन गर्नुभएको छ :

‘द्यौबहादुर (देउबहादुर) दुरा र पञ्चसुब्बा (गुरुङ)...दुइटै गालामा दुई हात टाँसी कर्कदै–मर्कदै गीत झिक्थे अनि गालाबाट हात झिकी थपडी बजाउँदै कुखुरे चालमा फन्को मारेर बस्तै–उस्तै नाच्थे । त्यो चुड्किलो रमाइलो नाचगान हेरेर जोकोही दर्शक लठ्ठिन्थे । झ्याउरे गीत– नृत्यको यस रमझमले नेपाली युवायुवतीहरूलाई यसरी छोयो उनीहरू मादल, मुर्चुङ्ग आदि बाजाका तालमा गीत गाएर नाच्न–झुम्न थाले । यस क्रममा झ्याउरे गीतका पच्चीसवटा भन्दा बढी भाकामा गीत गाइएको र एघारवटा भन्दा बढी अभिनय गरिएको थियो’ (नेपाली लोकगीतको आलोक, २०५७, पृ. ११४) ।

पञ्चसुब्बा गुरुङको अन्त्यकाल अलिकता पीडादायी रह्यो । उहाँ लगभग १०–१२ वर्ष दृष्टिविहीन हुनुभयो । जीवनको अन्त्यकालमा पुग्दा संसारलाई चर्मचक्षुले चियाउन पाउनुभएन । पञ्चसुब्बा गुरुङका विषयमा धेरै कुरा विस्मृत भइसकेका छन् । उहाँको साङ्गीतिक योगदानबारे अझै  पनि धेरै पक्ष उजागर हुन बाँकी नै छ ।

[लोकसंवाद । २०७७ साल साउन २ गते । तस्बिर: लोकगायक कृष्ण गुरुङ । ]

कृपया, यस लेखमा भएका जानकारी अन्त प्रयोग गर्दा इमान्दारितापूर्वक स्रोत खुलाइदिनुहोला ।शोधसंस्कृति र विद्तपरम्पराको सम्मान गरौँ ।

[अद्यावधिक: २०७७।०४।०३]

Tuesday, July 7, 2020

सिकाइमा मौखिक परम्परा

-यमबहादुर दुरा

लेखेर राख्यो भने सबै कुरा सुरक्षित हुन्छ भन्ने हाम्रो बुझाइ छ । यसमा विमति जनाउने त्यति धेरै ठाउँ नभए पनि पूरापुर सहमत हुन पनि सकिँदैन । लेखिएका सबै कुरा सधैँ जीवन्त रहन्छ भन्ने मान्यता भ्रामक छ । जस्तो, संस्कृत भाषा–साहित्यलाई हेरौँ । लिपि, व्याकरण, साहित्य सबै दृष्टिले संस्कृत समृद्ध भाषा मानिन्छ । तर, त्यही समृद्ध भाषा कालान्तरमा मृतभाषा बनिसकेको छ ।

एक समय विश्वको समृद्ध भाषा संस्कृत मृतभाषामा परिणत हुनु आफैंमा गम्भीर पाठ हो । लेखेर राख्दैमा भाषा, साहित्य र ज्ञान जीवन्त रहन सक्दैन भन्ने यसको केन्द्रीय सन्देश हो । लेखिएका कुरा जनजिब्रोमा नउत्रिएसम्म पुस्तकमै सीमित रहन्छ । अर्को शब्दमा, सामान्यजनको दैनिक व्यवहारमा नआएसम्म कुनै पनि भाषा, साहित्य र ज्ञानले मूर्त रूप पाउँदैन ।
ग्राफिक्स: गुगल

प्रस्तुत दृष्टान्तले भाषा–साहित्य र ज्ञान विस्तारमा मौखिक परम्पराको महत्वबोध गराएको छ । मौखिक परम्पराको अध्ययनमा ख्याति कमाएका अमेरिकी विद्वान वाल्टर ज्याक्सन अङ (सन् १९१२–२००३) आफ्नो चर्चित पुस्तक 'ओरलिटी एण्ड लिटरेसी' मा लेख्छन्– मानव समाजको स्थापना बोलीको सहायताबाटै भएको हो । उनी साक्षरता पनि मौखिक परम्पराबाटै शुरु भएको मान्छन् ।

संसारको पुरानो लिखित दस्ताबेज मानिएको वेद पनि पहिले मौखिक रूपमै थियो । गुरु–शिष्य परम्परामा पुरानो पुस्ताबाट नयाँ पुस्तामा मुखैमुख हस्तान्तरण हुँदै आएको वेदको सुक्तिहरुलाई पछिमात्र ऋषिमुनिहरूले लिपिबद्ध गरेको मानिन्छ ।

पश्चिमी गोलार्धको पनि परम्परा यस्तै हो । युनानी संस्कृति–सभ्यताका बेजोडा व्याख्याता होमरद्वारा रचित विश्वप्रसिद्ध महाकाव्यहरू इलियड र ओडेसी पनि पछि मात्र लिपिबद्ध भएका मानिन्छन् । अर्थात्, ती पनि पहिले अलिखित अवस्थामा थिए ।

मानव समुदाय मौखिक परम्पराबाट लिखित संस्कृतिको उन्नत अवस्थामा आइपुगेकोमा द्विविधा छैन । यद्यपि, मानव सञ्चार र ज्ञानको जग अझै  पनि मौखिक परम्परा (बोली)  नै हो । पुस्तकमा रहेको ज्ञान पठितका लागि मात्र हुन्छ भने मौखिक परम्परारूपी भण्डार साक्षर, निरक्षर सबैका लागि हुन्छ ।

मौखिक परम्परा किताबको चराजस्तो गतिहीन नभई फुक्काफाल हुन्छ । मौखिक परम्परा नितान्त चलायमान र गतिशील हुन्छ । मौखिक परम्परामा वक्तासँगै कुराकानीको विषयवस्तुले सास फेर्छ । यस्तो सिर्जनशील प्रक्रियामा विषयवस्तुले पुनः संशोधन, पुनः परिभाषित र पुनः उत्पादन हुने अवसर पाउँछ । यसबाट एउटै विषयका अनेकन् संस्करण निस्कन पनि सक्छन् ।

यस्तो अवस्थामा कहिलेकाँही आधिकारिकतामाथि भने प्रश्न उठ्न सक्छ, जसको छिनोफानो चेतनशील समाजले गर्छ । नदीले आफ्नो प्रवाहमा मिसिन आएको फोहर परिशोधन गरेजस्तै मौखिक परम्पराले अशुद्धिहरूलाई हटाउने क्षमता राख्दछ ।

यसको विपरीत लिखित दस्ताबेजका अशुद्धि सजिलै हट्दैन । लिखित दस्ताबेजमा रहेका अशुद्धि सन्तान दरसन्तानले सही ठानेर पढिरहन्छन् । अशुद्ध जानकारी ग्रहण गरिरहन्छन् । त्यसमा पनि पुस्तकमा लेखिएका कुरा अकाट्य हुन्छ भन्ने मान्यता हामीकहाँ छँदैछ ।

अमेरिकाका इस्किमोलगायतका आदिवासी समुदायको धारणा छ– इतिहास मानिसको हृदयमा रहन्छ, पाठ्यपुस्तकमा होइन । उनीहरूसँग इतिहासका कुनै लिखित दस्ताबेज छैन, तर उनीहरू आफ्ना इतिहासबारे गहिरो जानकारी राख्छन् । हामीसँग इतिहासबारे अनेकन् कृति उपलब्ध भए पनि इतिहासबारे हाम्रो ज्ञान सापेक्षित रूपमा कमजोर छ ।

अहिले मौखिक परम्पराको अधपतन विश्वव्यापी रूपमै तीव्र छ । युरोपको औधोगिक क्रान्तिले मौखिक परम्परामा अधोगति ल्याएको मानिन्छ । अठारौँ शताब्दीको मध्यतिर शुरु भएको औधोगिक क्रान्ति आर्थिक चरित्रको भए पनि यसले समाजको सबै पक्षमा असर पार्‍यो । मौखिक परम्परा पनि त्यसबाट अछुतो रहेन ।

त्यसअघि युरोपेली समाजको अर्थव्यवस्था कृषिमा आधारित थियो । मानिस गाउँमा बस्थे । उमेरदारजति खेतीपातीमा व्यस्त रहन्थे, घरमा केटाकेटीको हेरचाह गर्ने जिम्मेवारी बाजे–बज्यैको हुन्थ्यो । केटाकेटीलाई खुशी राख्ने सजिलो र प्रभावकारी उपाय थियो– कथा । केटाकेटीलाई वोधगम्य हुनेगरी जीवन–जगतका तमाम पक्षका कथा हालिन्थ्यो ।

कथालाई रोचक बनाउन अलौकिक (सुपरनेचुरल) प्रसंगहरू घुसाइन्थ्यो । केटाकेटी ठूलो रुचिका साथ कथा सुन्थे अनि ‘केही सिक्दैछु’ भन्ने पत्तै नपाई जीवनोपयोगी ज्ञान लिन्थे । उनीहरू आफ्ना अपठित बाजेबज्यैका मुखबाट रसिला कथाहरु सुनेर ज्ञानको भण्डार बढाउँथे ।

त्यसरी बाजेबज्यै केटाकेटीका लागि विगत र वर्तमान जोड्ने पुल बन्थे । बाजेबज्यै त्यसरी मौखिक विधिबाट ज्ञान विस्तार गर्ने केन्द्रीय भूमिका रहे ।

औधोगिक क्रान्तिपछि गाउँका मानिस शहरमा बसाइँ सर्न थाले । बाजेबज्यै गाउँमै छुटे । संयुक्त परिवार टुक्रिएर एकल परिवार बन्न थाल्यो । शहरमा आमाबा अर्थोपार्जनका लागि कारखानामा व्यस्त हुन थाले । बालबालिकालाई मौखिक विधिबाट बहुमूल्य ज्ञान दिने कोही भएनन् । कथा सुनाएर पुरानो पुस्ता र नयाँ पुस्तालाई जोड्ने बाजेबज्यै महत्त्वहीन बन्दै गए । त्यसरी मौखिक ज्ञान विस्तारमा धक्का लाग्नुका  साथै मौखिक संस्कृति क्षतिग्रस्त बन्न पुग्यो ।

आर्थिक–सामाजिक परिवेश फरक भएपनि मौखिक परम्परा र त्यसको अधपतनको सन्दर्भमा विश्वभरका समाजको चरित्रमा धेरै भिन्नता छैन । शहरीकरण र आधुनिकरणका कारण विश्वभर मौखिक परम्परा कमजोर हुँदै गयो । विद्युतीय सञ्चार माध्यमको विकासपछि त मौखिक परम्परा बिस्मृतिकै अँधेरोतिर धकेलिएको छ ।

अहिलेको पुस्ता रमाइरहेको श्रव्यदृश्य माध्यमलाई दुईधारे तरबारको रूपमा लिइन्छ । यसले एकातिर ज्ञान विस्तारमा अभूतपूर्व सघाउ पुर्‍याएको छ भने अर्कोतिर अन्तरपुस्ता संवादलाई पूर्णतः बिच्छेद गरिदिएको छ ।
कार्टुनमा रम्ने बालबालिकालाई बाजेबज्यै त टाढाको कुरा, आमाबाको काख समेत प्यारो लाग्नाडेको छ । यसबाट मौखिक परम्पराको माध्यमबाट हुने सिकाइ प्रक्रियामा पूर्णबिराम लागेको छ ।

हामी केटाकेटी छँदा पाका पुस्ताबाट वास्तविक जीवनका वास्तविक कथा सुन्थ्यौँ । अनेकन् कष्ट सहेर भोटका दुर्लङ्ध्य बाटो छिचोल्दै, ज्यान बचाउँदै नून बोकेर घर फर्केका, दश ठाउँमा टालेको कपडामा कैयौँ दिनको यात्रामा पहरो रसाएझैं  पसिना चुहाउँदै बेसाहा ल्याएर भोका केटाकेटीलाई खुवाएका, दोस्रो विश्वयुद्धमा आफू नजिककैको साथीलाई बमले धुजा पारेको, तर संयोगवश आफूलाई केही नभएको कथा सुन्दा हामी रोमाञ्चित र पुलकित हुन्थ्यौँ ।

यस्ता कथा सुन्न अहिले मन लालायित बन्छ । हाम्रो पुस्ताको हृदयको पानामा लेखिएका ती कथा–कहानीहरू अहिलेका थ्रिलरभन्दा कम थिएनन् ।

इतिहास तथा ज्ञान–विज्ञान शिक्षालयमा पढिने कुरा हुन् भन्ने भ्रम छ । आधुनिक शिक्षा पद्धतिले विद्यार्थीलाई कम्प्युटर र पुस्तकमा भर पर्न प्रेरित गर्छ । यसरी मौखिक परम्परामाथि परेको छायाँलाई अझ सघन बनाइन्छ । विश्वका समाजहरू आधुनिक शिक्षाप्रति आकर्षित बनेकै गतिमा मौखिक परम्परा अँध्यारो गर्तमा धकेलिदै गएको छ ।

मौखिक परम्परा नै सबथोक भने होइन, केहीचाहिँ पक्कै हो । मौखिक परम्पराको जीवन्त ज्ञान हस्तान्तरण प्रणालीलाई बचाएर उपयोग गर्नसक्दा सामाजिक समृद्धिमा ठूलो योगदान पुग्छ ।

[गोरखापत्र । २०७७ साल असार २३ गते ।]

Wednesday, June 24, 2020

के हो परम्परागत ज्ञान ?

–यमबहादुर दुरा

ज्ञानको दुनियाँ व्रह्म जत्तिकै अपरम्पार र अपरिमित छ । ज्ञानको अपरिमित दुनियाँमा समयक्रमसँगै नयाँ–नयाँ ज्ञान थपिँदै गएका छन् । यो निरन्तर जारी छ । यसबाट ज्ञानको अथाह भण्डार झनै अथाह बन्दै गएको छ । हरपल नयाँ ज्ञान थपिँदै जाँदा कतिपय ज्ञान पुरानो बन्दै गएको छ । पुराना ज्ञान चल्तीको दुनियाँबाट ओझेल पर्दै गएका छन् ।

मूलधारको ज्ञानभन्दा पर रहेको र उपयोगको दृष्टिले ‘फेसन’ मा नरहेको पुरानो प्रकृतिको ज्ञानलाई सामान्यतयाः परम्परागत ज्ञान भन्ने गरिन्छ । परम्परागत ज्ञानलाई बुझाउन स्थानीय ज्ञान, सामुदायिक ज्ञान, स्वदेशी ज्ञान (नेटिभ नलेज), ‘इन्डिजिनियस नलेज’ आदि शब्दावली प्रयोग गरिएको पाइन्छ ।

यद्यपि, सन्दर्भ र प्रसंग अनुसार यी शब्दावलीले बेग्लाबेग्लै अर्थ दिन पनि सक्छन् । यस्ता शब्दावलीले परम्परागत ज्ञानलाई स्पष्ट रूपमा बुझाउँछ वा बुझाउँदैन भन्नेबारे पर्याप्त मतभिन्नता पाइन्छ । यसमा तर्क–वितर्क गर्नका लागि पर्याप्त ठाउँ छ ।

परम्परागत ज्ञानको शास्त्रीय र व्यावहारिक परिभाषा के हो ? यसबारे अनेकन् माथापिच्छी भएका छन् । यसबारे प्रसस्त जोड–घटाउ भएका छन् । परम्परागत परिवेश र सन्दर्भमा उपयोग भइआएका विधि, तरिका, अभ्यास आदिसँग जोडिएका यावत ज्ञान र सीपलाई परम्परागत ज्ञानको दायरामा राख्ने गरिएको पाइन्छ ।

विश्व बौद्धिक सम्पत्ति सङ्गठन (विपो) ले परम्परागत ज्ञानलाई यसरी परिभाषित गरेको छ, ‘ज्ञान, व्यावहारिक ज्ञान, सीप र अभ्यास नै परम्परागत ज्ञान हो, जुन समुदायभित्र विकसित–सम्वद्र्धित हुँदै एउटा पुस्ताबाट अर्को पुस्ता हस्तान्तरित हुँदै आएको छ । यसले मानिसको संस्कृति र आध्यात्मिक पहिचान पनि निर्माण गर्छ ।’

विपोले परम्परासँग जोडिएको साहित्य, कला, वैज्ञानिक आविष्कार, डिजाइन, चिह्न, नाम, प्रतीक तथा अज्ञान जानकारीसमेतलाई परम्परागत ज्ञानको दायरामा समेट्ने गरेको पाइन्छ । परम्परागत ज्ञान हजारौँ वर्ष पुरानो हुनसक्छ । तर, यो पुरानो हुनैपर्छ भन्ने पनि छैन । विपोका अनुसार परम्परागतको श्रृङ्खलाबद्ध प्रवाहमा हालसालै उत्पादित ज्ञानलाई पनि परम्परागत ज्ञान मान्न सकिन्छ ।

‘जैविक विविधतासम्बन्धी अभिसन्धि, १९९२’ को दफा ८ मा परम्परागत ज्ञानलाई यसरी अथ्र्याइएको छ, ‘ज्ञान, नमोन्मेष (नयाँ ज्ञान) तथा जैविक विविधताको दीगो उपयोग र संरक्षणका लागि आदिवासी तथा स्थानीय समुदायले अपनाएको परम्परागत जीवनशैली ।’

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का अनुसार विश्वभरका आदिवासी/जनजाति र स्थानीय समुदायले प्रयोगमा ल्याएका ज्ञान, नयाँ कार्य र व्यवहार नै परम्परागत ज्ञान हो । परम्परागत ज्ञान युगौँ लामो अनुभवबाट निर्मित हुन्छ, जससँग स्थानीय संस्कृति र परिवेशले गहिरो नाता गाँस्दै आएको छ । परम्परागत ज्ञान एउटा पुस्ताबाट अर्को पुस्तामा मूलतः मौखिक रूपमा हस्तान्तरण हुन्छ ।

कथा, गीत, लोकसाहित्य, उखान, सांस्कृतिक मान्यता, विश्वास प्रणाली, सामुदायिक कानुन, स्थानीय भाषा तथा कृषिसम्बन्धी अभ्यासहरू परम्परागत ज्ञानको दायरमा आउँछन् । यसमा बोट–विरुवा हुर्काउने विधि तथा पशुपालन तथा व्यवस्थापन पनि पर्छन् ।

परम्परागत ज्ञान व्यावहरपरक ज्ञान हो, जसमा खाद्यान्न संरक्षण, बीउबिजन भण्डारण, माछापालन, स्वास्थ्य, बगैचा, वन तथा वातावरण व्यवस्थापनलगायतका तमाम ज्ञान र सीपको श्रृङ्खला पर्छन् ।

संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युनेप) का अनुसार परम्परागत ज्ञान अनुभव र अवलोकनबाट प्राप्त हुन्छ । यो समाजको सामूहिक सम्पत्ति हो । समयक्रममा समाजका विभिन्न सदस्यले यसको विस्तार र परिमार्जनमा गर्न सहयोग गर्छ । यो एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुन्छ । यो व्यक्तिगत तथा सामूहिक पहलमा विकास र विस्तार हुन्छ ।

समग्रमा भन्दा परम्परागत ज्ञानको दायरा अथाह छ । यसमा सांस्कृतिक ज्ञान, कलासम्बन्धी ज्ञान, औषधि विज्ञानसम्बन्धी ज्ञान, जैविक विविधता तथा प्राकृतिक सम्पदासम्बन्धी ज्ञान, कृषिसम्बन्धी ज्ञान, खाद्य परिकारसम्बन्धी ज्ञान र आध्यात्मिक ज्ञान समेटिन्छन् । यसमा फेसन, नृत्य तथा सङ्गीत, हस्तकला, तन्त्रमन्त्र, पूजापाठलगायत यावत मानव सिर्जना पनि पर्छन् ।

हरेक ज्ञानको रचनागर्भ हुन्छ । परम्परागत ज्ञान कुनै औपचारिक संस्थाबाट उत्पादन हुँदैन । वनपात, खेतबारी, घर–गोठजस्ता अनौपचारिक र असङ्गठित क्षेत्रबाट परम्परागत ज्ञान उत्पादन र वितरण हुन्छ । अर्को शब्दमा भन्दा परम्परागत ज्ञानको रचनागर्भ मूलतः अनौपचारिक र असङ्गठित क्षेत्र हुन् । यसको प्रयोगशाला पनि यिनै क्षेत्र हुन् ।
[ग्राफिक्स: गुगल]

यसको विपरीत आधुनिक ज्ञान वा औपचारिक ज्ञानको उत्पादन र वितरण प्रक्रिया परम्परागत ज्ञानको भन्दा फरक छ । विद्यालय, कलेज, विश्वविद्यालयजस्ता औपचारिक संस्थाबाट औपचारिक ज्ञान उत्पादन र वितरण हुन्छ । आधुनिक ज्ञानले परम्परागत ज्ञानको महत्त्वलाई एकपछि अर्को गरी घटाउँदै लगेको देखिन्छ, जुन सिङ्गो चराचर र मानव सभ्यताका लागि नै शुभसङ्केत होइन ।

समयले परम्परागत ज्ञानलाई पछि पार्दै लगेको देखिए पनि यसको सान्दर्भिकता र औचित्य समाप्त भएको छैन । बरू, यसको महत्त्व दिनानु दिन बढ्दै गएको छ । जलवायु परिवर्तन, विषादिको प्रयोग, वर्णशङ्कर (हाइब्रिड) बीउबिजन आदिले निम्त्याएका असंख्य समस्याले परम्परागत ज्ञानको महत्त्व बढाएको छ ।

आधुनिक र सुखभोगी जीवनशैलीले निम्त्याएको वातावरणीय तथा स्वास्थ्यसम्बन्धी तमाम समस्यासँग जुध्नका लागि भरपर्दो अस्त्रको रूपमा पनि परम्परागत ज्ञानलाई नै लिन थालिएको छ । यसका अतिरिक्त यसलाई दीगो विकासको सूत्र मान्न थालिएको छ ।

परम्परागत ज्ञान सयौँ–हजारौँ वर्षको अनुभवबाट निर्मित र परीक्षित हुन्छ, जुन वातावरणमैत्री र किफायती हुन्छ । यसले जीवनशैली र संस्कृतिसँग गहिरो सम्बन्ध कायम गरेको हुन्छ । परम्परागत ज्ञानले भौतिक र आध्यात्मिक गरी दुवै दुनियाँलाई समेट्छ । यी विविध कारणले बुझक्कडहरूबीच परम्परागत ज्ञानको उच्च महत्त्व चुलिँदो छ ।

सिङ्गो विश्व समुदाय नै वातावरणीय तथा स्वास्थ्यसम्बन्धी समस्याबाट ग्रस्त भइरहेको घडीमा अनुभवको कसीमा खरो उत्रिएको परम्परागत ज्ञानलाई एकदमै उपयोगी अस्त्र मानिएको छ । अहिले दुनियाँको टाउको दुखाइको विषय बनेको डढेलो, महामारीजस्ता विकराल समस्याहरूको हल पनि परम्परागत ज्ञान मै छ भन्ने विश्वास गरिन्छ । उत्तर अमेरिकाका आदिवासी समुदायले परम्परागत ज्ञानलाई ज्ञानमात्र नठानेर ‘पवित्र ज्ञान’ मान्छन् ।

दुनियाँमा जति–जति आधुनिक ज्ञानद्वारा निर्मित प्रविधिको राइँदाइँ बढ्दै गएको छ, त्यति नै भयानक वातावरणीय तथा मानवीय समस्याले टाउको उठाउन थालेका छन् । प्राकृतिक स्रोत–साधनको दीगो उपयोग तथा व्यवस्थापन नगरेसम्म र हाम्रा आनीबानीमा आमुल सुधार नल्याएसम्म राक्षसले झैं  मुख खोलेका यस्ता समस्यासँग लड्न कठिन छ ।

यी गम्भीर समस्यासँग लड्ने सूत्र र मन्त्र आधुनिकतामा आधारित पश्चिमा विज्ञानभन्दा परम्परागत ज्ञानसँग जोडिएको ‘इथ्नोसाइन्स’ सँग छ भन्नेमा धेरै विज्ञ सहमत छन् । प्रकृतिसँग नजिकको सम्बन्ध राख्ने आदिवासी समुदाय परम्परागत ज्ञानका धनी मानिन्छन् । उनीहरू परम्परागत ज्ञानका अग्रणी मानिन्छन् ।
कृषि विकाससम्बन्धी अन्तर्राष्ट्रिय कोष (आइफाड) द्वारा प्रकाशित पुस्तक ‘द ट्रेडिसनल नलेज एडभान्टेज: इन्डिजिनियस पिपुल्स् नलेज इन क्लाइमेट चेञ्ज एडाप्टेसन एण्ड मिटिगेसन स्ट्राटेजिज्’ (२०१६) मा आदिवासी समुदायलाई वातावरण संरक्षणका अग्रदस्ताका सिपाहीको रूपमा चित्रण गरिएको छ ।

सन् १९९२ मा ब्राजिलमा सम्पन्न अन्तर्राष्ट्रय वातावरण सम्मेलन (पृथ्वी सम्मेलन) ले पनि वातावरण तथा जेनेटिक स्रोत–साधन जोगाउन आदिवासी समुदायमा विद्यमान ज्ञानले केन्द्रीय भूमिका खेलेको तथ्यलाई उच्च मूल्याङ्कन गरेको छ । यस्ता विषयमा उनीहरू विश्वगुरु बन्न सक्छन् ।
[ग्राफिक्स: गुगल]

अहिले हाइब्रिज बीउबिजनको आगमनले रैथाने बालीनाली तीव्र गतिमा लोप हुँदै गइरहेका छन् । रैथाने बालीनालीको विविधता जोगाउन आदिवासी समुदायले महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् । यससँगै मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदा संरक्षणमा पनि उनीहरूको योगदान वन्दनीय छ ।

एक आँकडा अनुसार अहिले विश्वमा ३७० मिलियन आदिवासी समुदाय छन् । ठूला विकास परियोजना र अन्य विविध किसिमका अतिक्रमणले आदिवासी समुदायको मौलिक थालथलो मासिँदै गएका छन् । यससँगै परम्परागत ज्ञानका पारखीहरूको झुण्ड तीव्र गतिमा सानो बन्दै गएको छ ।

परम्परागत ज्ञान सङ्कटग्रस्त ज्ञान हो । जीवनका जगतका लागि परम्परागत ज्ञान अतिशय महत्त्वपूर्ण हुँदाहँदै पनि समयको प्रवाहसँगै यसको दायरा दिनदिनै खुम्चिँदै गएको छ । पश्चिमा ज्ञानको बढ्दो प्रभावले ‘इथ्नोसाइन्स’ मर्दै जानु, परम्परागत ज्ञानका धनी मानिएका पाका पुस्ताबाट नयाँ पुस्तामा ज्ञान हस्तान्तरण नहुनु, आधुनिकताले मिच्दै जानुलगायतका अनेकन् कारणले परम्परागत ज्ञान लोप हुँदै गएको छ ।  यो एउटा गम्भीर चिन्ताको विषय हो । जीवनोपयोगी परम्परागत ज्ञानलाई जोगाउन सामूहिक प्रयत्न अत्यावश्यक छ ।

[युवामञ्च (संयुक्ताङ्क) ।   वैशाख, जेठ र असार, २०७७ साल । ]

Saturday, June 20, 2020

वैकल्पिक इतिहास

–यमबहादुर दुरा

अन्य लेखनको तुलनामा इतिहास लेखन सधैँजसो शुष्क विधा रहिआएको छ । वर्तमानमा उपलब्ध अभिलेख तथा प्रमाणहरूका आधारमा विगतको पुनःनिर्माण गर्नुपर्ने भएकाले इतिहास लेखन चुनौतीपूर्ण कार्य हो । दृश्यबाट हटिसकेका प्रसंगको यथार्थ विवरण पस्कनुपर्ने भएकाले इतिहास लेख्ने व्यक्तिका अगाडि सधैँ चुनौतीको पहाड नै खडा हुन्छ ।

त्यसमा पनि मूलधारको इतिहास लेखनलाई चुनौती दिने गरी वैकल्पिक इतिहास लेख्ने कार्य त झनै चुनौतीपूर्ण कार्य हो । स्थापित भाष्य (‘न्यारेटिभ’) भन्दा पृथक ऐतिहासिक तथ्य पस्कन तम्सनु कम साहसिक र चुनौतीपूर्ण कार्य होइन । लेखक तथा अनुसन्धाता राजकुमार दिक्पालले यही चुनौतीलाई शिरोधार्य गरेका छन् ।

दिक्पालले आफ्नो कृति ‘आदिवासी विद्रोहको इतिहास’ मार्फत  वैकल्पिक इतिहासको पेटारो फुकाउने प्रयत्न गरेका छन् । उनले मूलधारको इतिहासका अगाडि वैकल्पिक इतिहास पस्केका छन् । यस क्रममा उनले वैकल्पिक ऐतिहासिक तथ्यलाई स्थापित गर्न व्यापक शोध तथा परिशीलन गरेका छन् ।

जगजाहेर नै छ, नेपालको इतिहास शासनसत्ताद्वारा स्थापित भाष्यलाई परिपुष्टि गर्ने गरी लेखिँदै आएको छ । शासक वर्गको यश र कृतिलाई मात्र केन्द्रमा राखेर इतिहास लेख्दा त्यो अपूर्णमात्र होइन, एकाङ्की हुनपुग्छ । वैकल्पिक इतिहासले यस्ता अपूर्ण र एकाङ्की ऐतिहासिक तथ्यलाई परिपूरण गर्न सहयोग गर्छ ।

यद्यपि, यस्ता वैकल्पिक ऐतिहासिक तथ्यलाई हाम्रो समाजले खुला मनले ग्रहण गर्दैन । अझ युद्धबारे लेखिएका अधिकांश इतिहास विजेताको यशोगानमै केन्द्रित पाइन्छन् ।सत्ताप्राप्तिका क्रममा उनीहरूले अपनाएका अनुमाषिक क्रियाकलापको यथोचित लेखाजोखा गरिएको पाइँदैन, जुन कार्य सच्चा इतिहास लेखनमा हुनुपर्‍थ्यो  ।

वैकल्पिक इतिहासको कुरा गर्नु भनेको राष्ट्रहरूको योगदानलाई पूरै लत्याउने र उनीहरूप्रति नकारात्मक भावना विकास गर्नु हो  भन्ने  अर्थमा मात्र बुझिनु पनि हुँदैन । विगतको यथार्थ समीक्षा हुनुपर्छ भन्ने यसको आशय हो ।

वर्णाश्रम व्यवस्थामा आधारित हिन्दू समाज आफैंमा श्रेणीकृत समाज हो । सामाजिक श्रेणीमा तल्लो स्थानमा रहेका समुदायले अनेकन् भेदभाव र वहिष्करण भोग्नुपर्‍यो, जुन अहिले पनि जारी छ । उनीहरूको आवाज हत्तपत्त सुनिँदैन  पनि । राजकुमार दिक्पालले देशका जनजाति समुदाय (वर्णाश्रम व्यवस्था अनुसार मासिन्या जाति) ले स्थापित सत्ताविरुद्ध गरेको विद्रोह र राज्यप्राप्तिका क्रममा सत्ताले रचेका अनुमाषिक क्रियाकलापको नालीबेली केलाउने प्रयास गरेका छन् ।

दिक्पालले आफ्नो पुस्तकमा लिम्बू, तामाङ, माझकिरात, भोटे, मगर, गुरुङ र आठपहरिया राईले विभिन्न समयमा गरेको विद्रोहको फेहरिस्त अघि सारेका छन् । नेपाली इतिहासकारले कतैकतै एकाध चर्चा गरेका यस्ता प्रसंगलाई उनले सविस्तार चर्चा गरेका छन्  । लेखनलाई विश्वसनीय बनाउन अनेकन् सन्दर्भ सामग्रीहरू उद्धरण गरिएका छन् ।

पुस्तकमा मूलतः दुईटावटा शासनसत्ताविरुद्ध भएका विद्रोहको नालीबेली पाइन्छन् : १, पृथ्वीनारायण शाहले गोरखा राज्यको विस्तार गर्ने क्रममा जनजाति समुदायले गरेका अवज्ञा तथा विद्रोह । २, पृथ्वीनारायण शाहपछि भएका विद्रोह ।

पुस्तकमा पृथ्वीनारायण शाह र लिम्बुवानबीच वि.सं. १८३१ मा सम्पन्न सम्झौताको विरुद्धमा रहेका लिम्बू सुब्बाहरूले गरेको श्रृङ्खलाबद्ध विद्रोहको चर्चा गरिएको छ । १८४८ सालमा लिम्बूहरूले संखुवासभाको चैनपुरमा सिक्किम र लेप्चाहरूको साथ लिएर गोरखालीसँग गरेको विद्रोहको नालीबेली पनि यसमा समाविष्ट छ ।

त्यसैगरी, वि.सं. १८५० मा रणबहादुर शाहले तामाङको विद्रोहमाथि गरेको दमनको सन्दर्भ पनि पुस्तकमा समावेश छ । तत्कालीन सत्ताले तामाङ समुदायलाई ‘तामाङ’ लेख्नसमेत नदिएको अवस्थामा विद्रोह गरेको कुरा अघि सारिएको छ  । विद्रोहमा रणबहादुर शाहका सेनाले एक हजार तामाङको हत्या गरेको तथ्याङ्क छ ।

पुस्तकमा नेपालका प्रथम शहीद मानिएका लखन थापाले जङ्गबहादुर राणाको स्वेच्छाचारिता र निरंकुशताविरुद्ध गरेको विद्रोहको सविस्तार चर्चा गरिएको छ । जङ्गबहादुर राणाविरुद्ध धावा बोलेकै कारण वि.सं. १९३३ मा लखन थापालसहित सातजनालाई झुन्ड्याएर हत्या गरिएको इतिहास छ ।

उनीभन्दा पहिले पनि १८९७ सालतिरै तुले रोहनीले पनि  विद्रोह गरेका थिए, जसको इतिहास चर्चामा थिएन । पुस्तकले त्यो ऐतिहासिक तथ्यलाई पनि जनसमक्ष राखिदिएको छ । यसैगरी, जङ्गबहादुर राणाको शासनकालमा १९०७ सालमा अठार सय खोला क्षेत्रमा भोटेको स्वायत्त क्षेत्रमा भएको विद्रोहलाई पनि समावेश गरिएको छ ।

पुस्तकमा शासन–सत्ताले गरेको सांस्कृतिक हिंसाको पनि चर्चा गरिएको छ । अनिवार्य रूपमा दशैँ मान्नैपर्ने जङ्गबहादुर राणाकाको उर्दीविरुद्ध विद्रोह गर्ने धनकुटाका रामलिहाङ र रिदामा आठपहरिया राईको विद्रोहले पनि पुस्तकमा स्थान पाएको छ ।

लेखकले सांस्कृतिक रूपमै गोमांश ग्रहण गर्ने कतिपय आदिवासी जनजाति समुदायलाई गाईको मासु खान प्रतिबन्ध लगाइँदा उनीहरूको सांस्कृतिक कर्मकाण्डमा परेको असरबारे पनि चर्चा गरेका छन् । मुन्धुममा आधारित लिम्बू अनुष्ठानमा गाई वा गोरुको भोग अनिवार्य मानिन्छ ।

लिम्बू समुदायमा विवाह गरी जाने महिलाले घरबाट जाँदा मेफ्रमा वा देवाता लिएर जाने चलन छ । यस अनुष्ठानमा पनि गाईगोरुको मासु अनिवार्य मानिन्छ । रणबहादुर शाहले गोवधमा प्रतिबन्ध लगाए । त्यसपछि वि.सं. १८६६ मा गोवध गर्नेलाई ज्यान सजायको व्यवस्था गरियो ।

मूलधारको इतिहासमा हत्तपत्त नभेटिने यस्ता फेहरिस्तले हामी पढिरहेको इतिहास कतै एकाङ्की त छैन भन्ने जिज्ञासा पाठकको मनमा उठ्न सक्छ । ‘भविष्यलाई परिभाषित गर्न चाहन्छौ भने विगतको अध्ययन गर ।’ भन्ने चिनियाँ दार्शनिक कन्फ्युसियसको भनाइ यहाँनेर सान्दर्भिक हुन आउँछ ।यो भनाइलाई एउटा महत्त्वपूर्ण पक्षसँग जोडेर हेर्न सकिन्छ । त्यो हो, आलोचनात्मक चेतका साथ विगतको अध्ययन हुनुपर्छ । यसले विगतको पुनरावलोकन गरेर अघि बढ्न सघाउँछ ।

आलोचनात्मक चेतका साथ राजकुमार दिक्पालको कृति ‘आदिवासी विद्रोहको इतिहास’ पढ्दा पाठकको मनमा केही जिज्ञासा उठ्न सक्छन् । आदिवासी विद्रोह किन भएका थिए ? केहीको प्रष्ट कारण देखिए पनि कतिको कारण खोतलिएका छैनन् । पुस्तकमा ती विद्रोहको ऐतिहासिक आवश्यकता र औचित्यबारे कम चर्चा भएका छन् । यसबाट विद्रोहका उपादेयताबारे प्रश्न उठ्छ ।

अर्को कुरा, लेखाइलाई बढी विश्वसनीय बनाउन नै होला, लेखक बढी मात्रमा लिखित स्रोतमा भर परेका छन् । लिखित दस्ताबेजलाई मात्र इतिहासको आधार बनाउँदा इतिहास लेखनको दायरा सीमित हुनपुग्छ । हाम्रो इतिहास लेखनको एउटा कमजोरी यो पनि हो । लेख्य परम्परा समृद्ध नभएको त्यो समयमा इतिहासका धेरै अध्यायहरू मौखिक परम्परामा बाँचेका हुन सक्छन् ।

हाम्रो समाज मुखैमुख सर्दै आएको मौखिक इतिहासलाई लेखकले पनि लिपिबद्ध गर्नुपर्‍थ्यो । पुस्तक पढ्दा उनले यो सुन्दर मौकालाई धेरै हदसम्म चुकाएको प्रतीत हुन्छ । केही यी र यस्ता कमजोरी देखिए पनि एउटा गजबको वैकल्पिक इतिहास आएको छ । यसले  इतिहास–चिन्तनमा नयाँ आयाम थपेको छ ।

कतिपय दृष्टिले विवादास्पद ठहरिन सक्ने यो पुस्तकले बौद्धिक वृत्तमा वादविवाद पैदा गर्न सक्छ । यस प्रकारका वादप्रतिवादले इतिहासबारे हाम्रा चिन्तन, मनन र परिशीलतको दायरालाई थप फराकिलो बनाउँदै लान्छ, जुन आवश्यक पनि छ ।

अन्ततः यसले हाम्रो इतिहास–विमर्शमा योगदान दिन्छ । यस दृष्टिले इतिहासको अध्ययन, समीक्षा र पुनरावलोकन गर्ने दिशामा महत्त्वपूर्ण ‘आदिवासी विद्रोहको इतिहास’ एउटा महत्त्वपूर्ण खुराक हो भन्न सकिन्छ । पुस्तकले इतिहासमा लुकाइएको वा लुकाउन खोजिएको तथ्यलाई उत्खनन गरी नयाँ सिराबाट विश्लेषण गर्ने प्रयास गरेको छ । मञ्जरी पब्लिकेशनले २०७६ सालमा छापेको यो पुस्तकको मोल ३५० रूपैयाँ छ ।

[अन्नपूर्ण पोष्ट (फुर्सद) । २०७७ साल असार ६ गते । सामान्य परिमार्जनसहित ।]

Wednesday, June 10, 2020

अनलाइन मिडियाको विश्वसनीयता

–यमबहादुर दुरा

दुनियाँ गतिशील छ । त्यसमा पनि अहिले ‘इन्स्ट्यान्ट न्युज’ को अवधारणाले मूर्त रूप पाएको छ । यसले दुनियाँको गतिशीलता बढाइदिएको छ । आज मोबाइलको स्क्रिनमै ताजा समाचार तत्क्षण पढ्न पाइने अवसर उपलब्ध छ । यसले सामाजिक चेतना र व्यावहार व्यापक फेरबदल ल्याइएको छ ।

ताजा समाचार पढ्न बिहानको कुनै अखबारको ‘हार्ड कपी’ पर्खनुपर्ने बाध्यता छैन । इन्टरनेटको पहुँच भएको ठाउँमा नयाँ जानकारी पाउन रेडियो वा टेलिभिजनको आवधिक समाचार बुलेटिन पर्खनुपर्ने बाध्यता पनि विगत बनिसक्यो ।

अनलाइन न्युज पोर्टल, मोबाइल सञ्चार र सूचना प्रविधिको त्रिवेणीले तत्क्षण सूचना प्रवाह गर्ने परिपाटीलाई अभूतपूर्व बनाइदिएको छ । त्यसमा पनि सामाजिक सञ्जाल र सोसल मिडियाको दरिलो उपस्थितिले सूचनाको तीव्र प्रवाहलाई हदैसम्म सहजीकरण गरिरहेको छ ।

अहिले जतिबेला चाह्यो, त्यतिबेला नै ताजा समाचार पढ्न पाइने अवसर उपलब्ध छ । आधुनिक युगले दिएको एउटा सुन्दर उपहार हो, यो । यसले समाजलाई ‘इन्फरमेसन सुपर हाइवे’ को यात्री बनाइएको छ । जगजाहेर नै छ, सामयिक र सही सूचनाले समाजलाई प्रगतिपथमा अघि बढ्न अतुलनीय योगदान दिएको छ ।

हरेक उज्यालोको अँध्यारो पाटो पनि हुन्छ । अनलाइन मिडिया पनि यो शाश्वत नियमको अपवाद बन्ने कुरै भएन । धेरै पर नजाऔँ । दुनियाँ कोरोना महामारीको चपेटामा परिरहेको बेलामा सोसल मिडियालगायत कतिपय अनलाइन मिडियाले भ्रामक समाचार पस्किरहेका छन् । यस्ता भ्रामक जानकारीले कतिपयको जीवन समाज नराम्ररी कुसूचित हुन पुगेका छन् । धेरै अध्ययनहरूले यो तथ्यलाई औंल्याएका छन् ।

अनलाइन मिडियासँग जोडिएका समस्याका अनेक आयाम छन् । समस्याको एउटा आयाम हो, अनलाइन पत्रकारिता र अनलाइनमा हुने अन्य खालको सञ्चारलाई एउटै अर्थमा बुझिनु । वास्तवमा यी दुई फरक कुरा हुन् ।

पत्रकारिता पत्रकारले मात्र गर्छ । पत्रकारिता जहिले पनि समाचार कक्ष प्रक्रिया (न्युजरुम प्रसेस) भएर गुज्रनुपर्छ । यसको अर्थ हो, पत्रकारले पाएको कुनै पनि सूचना वा जानकारीको सहीपन पाठक–स्रोतामा पुग्नुअघि नै परीक्षण गर्नुपर्छ । त्यसो नगरी जानकारी प्रकाशन–प्रसारण गर्न मिल्दैन । अर्थात् पत्रकारितामा खास चरणहरू पार गरेरमात्रै सूचना प्रवाह गर्ने अवस्थामा पुग्छ ।

अन्य प्रकृतिको सञ्चार जोकोहीले पनि गर्न सक्छ, जुन हरेक नागरिकको नैसर्गिक अधिकार पनि हो । नेपालको संविधान, २०७२ को धारा १९ ले हरेक नागरिकलाई सञ्चारको हक दिएको छ । सञ्चारको हक प्रयोग गर्ने कुरा एउट हो, सही सूचना प्रवाह गर्ने कुरा अर्को हो । अभिव्यक्ति (सूचना प्रवाहको) स्वतन्त्रता र सूचनाको सहीपनलाई एउटै अर्थमा बुझिनुहुन्न ।

सोसल मिडियाको विष्फोटक उपस्थितिले सूचनाको हक उपभोगमा सहजता थपिएको छ । मूलधारका सञ्चार माध्यममा स्थान नपाएका कतिपय विषयले सोसल मिडियामा राम्रो स्थान पाएका छन् । सोसल मिडिया वैकल्पिक मिडियाको रूपमा पनि देखापर्दैछ । यसले व्यक्ति, समूह वा समाजका वास्तविक सरोकारलाई स्थान दिएका छन् । कतिपय व्यक्तिका लागि सोसल मिडिया प्रतिभा प्रदर्शन गर्ने डबली पनि बनेको छ ।

सोसल मिडियाका नकारात्मक पाटो पनि छ । यसमा सूचना प्रवाह गर्नुअघि पत्रकारले जस्तो परीक्षण गर्नुपर्ने बाध्यता पनि हँुदैन । सोसल मिडियामा प्रवाह गरिने सूचनाको सत्यता जाँच्ने कुरा सम्बन्धित व्यक्तिको नैतिकतामा निर्भर रहन्छ । कुनै कारणवश व्यक्तिबाट गलत जानकारी फुत्किएमा त्यो एकचोटि जनसागरमा पुग्छ । त्यसले गर्ने क्षतिको लेखाजोखा गर्न मुस्किल छ ।

जोकोहीले सूचना प्रवाह गर्नसक्ने अवस्थामा जस्तो पायो त्यस्तै सूचना सार्वजनिक हुने सम्भावना रहन्छ नै । यस किसिमको सञ्चार प्रणालीमा व्यक्तिले उपयोगी, अनुपयोगी, हानीकारक सबै प्रकृतिका जानकारी सम्प्रेषण गर्न सक्छन् । त्यस्तो कार्य जानेर नजानेर वा गलत आशयका साथ पनि हुन सक्छ ।

कतिपय अवस्थामा बद्नियत नभए पनि सम्प्रेषणकर्तामा ज्ञानको अभाव वा असावधानीले सूचना गलत सावित हुनपुग्छ । यसलाई गलत जानकारी (मिस्इन्फरमेसन) भनिन्छ । कसैले दिएको अहितकर जानकारीलाई उपयोगी ठानेर सेयर गर्नु पनि ‘मिस्इन्फरमेसन’ नै हो । अहिले सोसल मिडियामा ‘मिस्इन्फरमेसन’ एउटा रोगकै रूपमा देखापरेको छ ।

कतिपय जानकारी गलत आशयका साथ जानाजान सम्प्रेषण गरिन्छ । यसलाई दुष्प्रचार (डिस्इन्फरमेसन) भनिन्छ । यस्ता जानकारी आफ्नो निहित स्वार्थसिद्ध गर्न सम्प्रेषण गरिन्छ । यसरी सम्प्रेषण गरिएका जानकारी अर्धसत्य वा पूरापूर असत्य वा नितान्त भ्रामक हुन सक्छन् । कसैको फेसबुक स्ट््याटस, तस्बिर, ट्वीट आदि जे पनि यसमा पर्न सक्छन् । आकर्षक स्वरूपमा देखापर्ने यस्ता सामग्रीको भ्रमजालमा जो कोही पर्छन् ।

सोसल मिडियामा यो प्रकृतिका जानकारी भरमार भेटिन्छन् । ‘डिस्इन्फरमेसन’ का अनेक उद्देश्य हुन सक्छन् । आफ्नो वस्तु तथा सेवाको बढाइ–चढाइ प्रचार गर्न, आफ्नो साइट वा च्यानलको भिजिटर बढाउन, आफ्ना विरोधीहरूलाई अरूको नजरमा गिराउने वा घृणा फैल्याउनेजस्ता अनेकन् कुत्सित नियत पूरा गर्न ‘डिस्इन्फरमेसन’ को सहारा लिइएको पाइन्छ ।

आकर्षक शीर्षक, तस्बिर तथा भिडियोको गलत प्रयोग, बिकाउ नारा, ‘सेन्टिमेन्टल ब्ल्याक  मेलिङ’ आदिको सहारा लिएर ‘डिस्इन्फरमेसन’ गर्ने क्रम बढेको छ । हाम्रो सन्दर्भमा मूलतः युट्युब भिडियोहरूले यस्तो कार्यमा कुख्याति कमाएका छन् ।

राजनीतिक, कूटनीतिक तथा राष्ट्र–राष्ट्रका सन्दर्भमा पनि ‘डिस्इन्फरमेसन’ लाई अस्त्रको रूपमा प्रयोग गरिएको पाइन्छ । महाभारतलगायत आध्यात्मिक प्रसंगमा समेत ‘डिस्इन्फरमेसन’ को प्रयोग भएको छ ।
कुनै सामाजिक उत्तरदायित्य बिना नै अर्थोपार्जन गर्ने एकमात्र अभीष्टमा खुलेका कतिपय युट्युब च्यानलले व्यक्तिको निजी जीवनमा हमला गर्ने, सामान्य घटनालाई तिलको पहाड बनाउने, अश्लीलता पस्कनेजस्ता अनेकन् कुकृत्य रचेका बग्रेल्ती दृष्टान्त छन् ।

प्रेस काउन्सिल नेपालद्वारा जारी पत्रकार आचार संहिता, २०७३ (पहिलो संशोधन, २०७६) ले सत्य–तथ्य र सन्तुलित समाचार सामग्री सम्प्रेषण गर्नु पत्रकार तथा सञ्चारमाध्यमको कर्तव्य हो भनेको छ । तर, कतिपय अनलाइन मिडिया र सोसल मिडिया प्रयोगकर्ताले यसको पालना गरेको पाइँदैन ।

अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) द्वारा जारी पत्रकार आचार संहिताको दफा ५ मा छिटो समाचार दिने नाममा तथ्यको सहीपन परीक्षण नगरी समाचार दिन नपाइने प्रावधान छ । तर, कतिपय जिम्मेवार अनलाइन मिडिया र सोसल मिडिया प्रयोगकर्ताले यसको पालना गरेको पाइँदैन । अरूलाई उछिनेर छिटो समाचार दिने नाममा कतिपय अनलाइन मिडियाले भ्रामक समाचार पस्किरहेका छन् ।

आचार संहितालाई आत्मासात नगर्ने सोसल मिडियाका कतिपय  प्रयोगकर्ताले त सामाजिक मर्यादाको धज्जी उडाएका छन् । यसले नियमनकारी निकायलाई अनलाइन मिडियाप्रति अनुदार नियम ल्याउने बाटो खोलिएको छ, जसले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको स्वतन्त्र प्रवाहमा गम्भीर क्षति पुर्‍याउने सम्भावना छ  ।

सूचना प्रवाहमा देखापरेको यसप्रकारको आशंका र अनिष्टको बादल हटाउन आवश्यक छ । यसका लागि हरेक सोसल मिडिया प्रयोगकर्ता र अनलाइन सञ्चारकर्मीलाई कसैले नियमन गर्नुभन्दा पनि आफैं  जिम्मेवार, नैतिकवान् र विवेकशील हुनैपर्छ । यसको कुनै विकल्प छैन ।

[गोरखापत्र । २०७७ साल जेठ २८ गते ।]